एक झ्याल बराबर एउटा मन्त्रालय

समाचार


काठमाडौँ । बागमती प्रदेश सरकार ८ देखि १४ मन्त्रालय बनाइएको छ । सरकार टिकाउन मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो सरकार टिकाउनका लागि मन्त्रालय फुटाएका हुन् । त्यसै क्रममा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् । यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे नियुक्त भएका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई गत शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइयो ।