विद्युतीय गाडीमा चौधरीको लुटधन्दा

समाचार

काठमाडौं । दरबार हत्याकाण्डपछि खर्बपति बनेका उद्योगी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले विद्युतीय सवारी साधनको व्यापारमा पनि हात हालेका छन् । चौधरी ग्रुपले पछिल्लो समय चीनबाट विद्युतीय सवारी साधन नेपाल ल्याएर बिक्री गर्न थालेको छ । उनका भाइ अरुण चौधरीले भारतीय मोटर कम्पनी मारुती सुजुकीको व्यापार गर्दै आएकोमा दाइले भने विद्युतीय सवारी साधनमा हात हालेका हुन् । जसअनुसार गत असारमा विद्युतीय सवारी ‘नेता भी’ पहिलो पटक नेपाली बजारमा बिक्री गरिँदा चौधरीले त्यसको मूल्य ३७ लाख ९० हजार तोकेका थिए ।
तर चीनको बजारमा नेपाली मूल्यअनुसार १३ लाख पर्ने उक्त सवारी साधनलाई नेपालमा ल्याउँदा २५ लाख रुपैयाँ थप मूल्य पर्नुको कारणबारे धेरैले अचम्म मानेका छन् । सरकारले विद्युतीय सवारी साधन आयातमा न्यूनतम भन्सार शुल्क तोकेको छ । जसअनुसार कूल १८ प्रतिशत कर तिरे पुग्छ । नेपालको प्रचलित कानुनअनुसार सवारी साधनमा शुरुको मूल्यमा बढीमा १० प्रतिशत मात्रै नाफा जोड्न पाइन्छ । ग्वाङ्झौस्थित व्यापारीहरुका अनुसार चीनबाट जतिसुकै महँगोमा सवारी साधन ल्याउँदा पनि भाडा १ लाख २० हजार रुपैयाँभन्दा बढी तिर्नु पर्दैन ।
यो हिसाबले नेपालको भन्सार बिन्दुमा आइपुग्दा चौधरीले बेच्ने गरेको ‘नेता भी’ गाडीको मूल्य १४ लाखसम्म पर्न आउँछ । त्यसमा ५ प्रतिशत कर जोड्दा ७० हजार र १३ प्रतिशतले हुन आउने भ्याट १ लाख ९० हजार हुन्छ । त्यो सबै जोड्दा उक्त सवारी साधनको मूल्य भन्सारसम्म १६ लाख ८४ हजार हुन आउँछ । अब सोही मूल्यमा व्यापारीले बैंकको ब्याज ५० हजार, नाफा १० प्रतिशतले हुन आउने १ लाख ६८ हजार, विविध खर्च ५० हजारसहित कूल २० लाख रुपैयाँमा बेच्नुपर्ने सवारी साधनलाई १८ लाख बढी लिएर ३८ लाखमा बेचिँदा सरकार रमाएकै देखिन्छ ।