एमालेको ‘तेस्रो धार’ अन्यौलमा

समाचार

काठमाडौं । माधवकुमार नेपाल अन्ततः एमालेबाट बाहिरिएका छन् । निकै लामो संघर्षपछि पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै स्थान नदिएपछि वाध्य भएर १५ वर्षसम्म पार्टीको नेतृत्व सम्हालेका माधव घरबाहिर जान विवश भएका हुन् । नेपालसँग एमालेका जल्दाबल्दा नेताहरुको साथ भने अन्तिम समयमा आएर टुटेको छ । यद्यपि झलनाथ खनाल र बामदेव गौतमले भने नेपाललाई नै साथ दिएका छन् । तर नेपाल पक्षमा रहेर ओली पक्षमाथि धावा बोल्दै आए पनि अन्तिममा आएर तेस्रो धार पकड्दै नेपाललाई धोका दिने पाँच दर्जन नेताहरु पनि दोधारमा छन् । उनीहरुले पार्टी एकताका लागि चार दिने समयसीमा तोकेर दबाब सिर्जना गरेका छन् । १० बुँदे सहमति निर्माणमा संलग्न नेतासहित नेपालको साथ छाडेका ५७ जना केन्द्रीय सदस्य र सांसदले शुक्रबार भेलामार्फत ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुवैमाथि समयसीमा तोकेर दबाब दिएका हुन् ।
नेपालको प्रस्तावित पार्टीको हस्ताक्षर सनाखत हुने भदौ ९ गते अगावै १० बुँदे सहमति कार्यान्वयनका लागि प्रस्ताव गरिएको चरण र कार्यतालिका अक्षरसः लागू गर्ने गरी शुरु गर्न तथा माधव नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता गर्न उनीहरुले ओलीलाई अल्टिमेटम दिएका छन् । उनीहरुले यस अवधिमा नयाँ पार्टी दर्ता प्रक्रिया स्थगन गर्न माधव नेपाललाई समयसीमा दिएका छन् । ५७ मध्येका एक नेताले भदौ ९ भित्र नै सहमतिको कोसिस हुने बताएका छन् । उनले ओली र माधव नेपालसँग छलफल गर्ने पनि बताएका छन् । ओलीले १० बुँदे सहमति गर्दा गरिएको सहमति कार्यान्वयन गर्ने चरण र कार्यतालिकाको माइन्युटमा राखिएको गोप्य सहमति कार्यान्वयन गर्न उनीहरूको माग छ । यी नेताहरूले कार्यदल सदस्यसहित १० बुँदे सहमतिमा ओलीले हस्ताक्षर गर्नुपर्ने, त्यसपछि २ जेठको स्थायी कमिटी बैठक बस्नुपर्ने, त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर माओवादीबाट आएका नेताको नाम अनुमोदन गर्नुपर्ने र आवश्यकताअनुसार कार्यदल बनाउनुपर्ने ओलीसँग माग राखेका छन् ।
बैठकले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने, देश, जनता र नेपालको कम्युनिस्ट आन्दोलन, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको पक्षमा अपरिहार्य भएको निष्कर्ष निकाल्दै कार्यान्वयन गरेर एकताको वातावरण बनाउन अपिल गर्ने तथा देशभरका नेता–कार्यकर्तापंक्तिलाई गाली–गलौज, अपशब्द प्रयोग नगर्न र संयमताका साथ एकताको पक्षमा खडा हुन पनि अपिल गरेको छ । नयाँ पार्टी गठनमा नेपालको साथमा रहेका नेताहरू भने अहिलेसम्म ओलीले १० बुँदे सहमति कार्यान्वयनमा कुनै तत्परता नदेखाएकाले एकताको पक्षमा उभिने नाममा कतिपय नेतामा अन्तिम घडीमा अवसरवादी चरित्र देखिएको बुझाइमा छन् । तर नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट नयाँ पार्टीको औपचारिक मान्यता पाएलगत्तै राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।
आयोगले ९ भदौमा निवेदनमा भएको केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर सनाखतका लागि बोलाएकाले त्यो प्रक्रिया सकिएको बढीमा पाँच दिनभित्रै राष्ट्रिय भेला गर्ने नेपालको तयारी छ । राष्ट्रिय भेलामा पार्टीको राजनीतिक प्रतिवेदन, विधान र घोषणापत्र अनुमोदन गरी यसअघि गठित समानान्तर कमिटीलाई नै पार्टी र जनसंगठनको कमिटीका रूपमा मान्यता दिएर क्रियाशील बनाउने प्रस्तावित अध्यक्ष नेपालले तयारी गरेका छन् । यो परिस्थितिबीच एमालेमा एकता हुने सम्भावना न्यून छ । केपी ओली रहेसम्म एकता नहुने धेरैको बुझाई छ । भदौ ९ भित्र पनि कुनै सहमति नभए ५७ जना मिलेर के गर्छन् भन्ने खाका तयार छैन । केहीले त नयाँ पार्टी घोषणा गर्ने धम्की नै दिएका छन् । तर ओली कुनै हालतमा नेपाललाई राख्न तयार नभएकाले ५७ मध्ये धेरैजसोले माधव नेपालकै काँध थाप्न जाने पनि बुझिन्छ ।