५७ जनामा कोरोना, ५७ हजारको परीक्षण

समाचार

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५७ पुगेको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बुधबार नयाँ तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएसंगै संक्रमितको संख्या ५७ पुगेको हो ।

पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ जना उपचाररत रहेका छन् । १६ जना भने उपचार पछि घर फर्केका छन् ।

अहिलेसम्म ५७ हजार १८९ जनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट ११ हजार ५२४ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट ४५ हजार ६६५ मा परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश नं १ मा चार हजार ८४१, प्रदेश नं २ मा पाँच हजार २९८, वाग्मती प्रदेशमा आठ हजार २१७, गण्डकी प्रदेशमा पाँच हजार ३४३, प्रदेश नं ५ मा तीन हजार ६७१, कर्णाली प्रदेशमा पाँच हजार २६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९८६ को परीक्षण गरिएको छ ।

यसैगरी २२ हजार ९०१ जना क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश नं १ मा दुई हजार ४७८, प्रदेश नं २ मा एक हजार ४०४, वाग्मती प्रदेशमा ६११, गण्डकी प्रदेशमा ६९४, प्रदेश नं ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा तीन हजार ९६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

८७ जना आइसोलेशनमा रहेका छन् भने स्वपरीक्षण गर्दा बुधबार एक जना गरी अहिलेसम्म ३१० जना ‘रेड जोन’मा रहेका छन् ।