केन्द्रीय समितिको बरीयता निर्धारणमा कांग्रेसभित्र असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जति नरम देखिन्छन् उनी त्यत्तिकै कठोर पनि छन् । उनको कठोरपनले कसैको अपमान हुँदा के हुन्छ ? अहिले त्यस्तै भएको छ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई । उनले शेखरलाई पार्टीको दोस्रो वरियतामा राख्नुपर्नेमा शेखरलाई तल झारेका हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका निकटतम प्रत्यासी बनेका शेखर केन्द्रीय समितिको वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तल परेका छन् । १४ औँ महाधिवेशनपछि शनिबार बसेको पहिलो बैठकले शेखरको वरियता तल झारेको हो ।
कोइराला विधानको व्यवस्था बमोजिम स्वतः केन्द्रीय सदस्य हुन् । तर अरु नेताहरूलाई भने सभापति देउवाले मनोनीत गरेपछि मात्रै उनीहरू केन्द्रीय समितिमा रहन्छन् । विधानअनुसार स्वतः केन्द्रीय सदस्य भए पनि शनिबारको बैठकमा कोइराला उपस्थित भएनन् । देउवाले कोइरालाको अनुपस्थितिकै बीच पार्टी वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारी भन्दा तल राखेका हुन् । विगतमा सभापतिको निकटतम प्रत्याशीलाई नै दोस्रो वरीयतामा राख्ने अभ्यास थियो । त्यसआधारमा कोइराला देउवापछि दोस्रो वरीयतामा हुनुपर्ने हो । तर, देउवाले एक पटक पनि पदाधिकारी नभई सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालालाई पूर्व पदाधिकारीभन्दा तल राखेका हुन् । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र निधीलाई यसअघि नै केन्द्रीय सदस्य मनोनीत गर्ने सोचेका थिए ।
तर निर्वाचन समितिबाट प्रमाण पत्र नलिएसम्म मनोनीत गर्नु अवैध हुने भएपछि उनले मनोनीत गरेका थिएनन् । निर्वाचन समितिबाट प्रमाणपत्र लिएलगत्तै बसेको केन्द्रीय समितिमा बैठकमा देउवाले केन्द्रीय समितिको वरियता क्रम निर्धारण गरेका छन् । १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएपछि देउवाले सभापतिका प्रत्यासी पौडेललाई दोस्रो वरीयतामा राखेर पदाधिकारीलाई राखेका थिए । पदाधिकारी पछि पूर्वमहामन्त्री प्रकाशमान सिंह र त्यसपछि मात्रै सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलालाई राखेका थिए । यसपटक भने कोइरालालाई केन्द्रीय
सदस्यहरूको शीर्षस्थानमा राखिएको छ । यसअघि १३ औं महाधिवेशनमा सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्य जितेका कोइराला वरीयतामा ३५ नम्बरमा थिए । कांग्रेसले यसपटक १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचनमार्फत चयन गरेको छ । विधानअनुसार सभापतिका प्रत्यासी कोइराला स्वतः सदस्य भएका छन् भने देउवाले अब समानुपातिक समावेशी सिद्धान्तका आधारमा अरु ३३ जना केन्द्रीय सदस्यहरू मनोनीत गर्न पाउँछन् । हुन त नेताहरुले कोइरालालाई विधानअनुसार नै वरीयता दिन खोजेको बताएका छन् । तर यसरी हेपाहा प्रवृत्ति हावी हुँदै गयो भने देउवाका पतनका दिन शुरु भएको विश्लेषण भइरहेको छ ।