विवादित ‘एमसीसी’ संसदमा

Home Feature राजनीति

सत्तारूढ गठबन्धनभित्र दलहरुको दोहोरो भूमिका


काठमाडौं । अन्ततः प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको छ । निकै लामो रस्साकस्सीबीच एमसीसी टेबल भएको हो । तर सत्ताधारी गठबन्धनले सहजै एमसीसी टेबल भने गरेनन् । नेपाली कांग्रेसले पूर्णरुपले समर्थन गर्र्दै एमसीसी टेबल गरेकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने विभाजन भएरै टेबल गरेका हुन् । योसँगै आइतबारको संसद बैठक निकै असहज परिस्थितिबीच फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
आइतबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखे पनि कार्कीले एमसीसी प्रस्ताव पेश गरे । त्यसपछि एमसीसीको विरोधमा माओवादी केन्द्रका सांसद देव गुरुङ, एमालेका सांसद डा. भीम रावल, नेमकिपाका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल बोलेका थिए । तर आइतबारको संसदको दृष्य देख्दा माओवादी केन्द्र र नेकपा एस स्पष्ट रुपले विभाजित भएको देखियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जनाए पनि देव गुरुङदेखि नारायणकाजी श्रेष्ठले विरोध गरे ।
नारायणकाजीको विरोधको शैली देखेर आइतबार बिहान भएको सत्तागठबन्धनको बैठकमा बोलाइएकै थिएन । गुरुङले त संसदमै राष्ट्रहित विपरीतको एमसीसी टेबल नगर्न सभामुख सापकोटालाई आग्रह गरे । त्यसैगरी सरकारका तर्फबाट एमसीसी टेबल गर्ने विभागीय मन्त्री अर्थ मन्त्री जनार्दन शर्मा नै बैठकमा अनुपस्थित रहे । त्यस्तै प्रतिनिधिसभा बैठक अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिमा पनि माओवादी केन्द्रका प्रमुख सचेतक सहित तीन सांसदले एमसीसी टेबल गर्ने निर्णयमा असहमति पत्र नै दर्ज गरे । गुरुङसहित सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति पत्र राखेका हुन् । उनीहरुले एमसीसीमा राष्ट्रिय सहमति नभएको, संशोधनको ग्यारेन्टी नभएको, संसदमा अवरोध कायमै रहेकाले टेबल गर्न नहुने तर्क गरेका थिए ।
यद्यपि प्रचण्डको सहमतिका अगाडि माओवादीका नेताहरुको केही जोर चलेन । यहाँसम्मकी सभामुख
सापकोटा पनि प्रचण्डकै सहमतिअनुसार टेबल गर्न तयार भए । अझ रमाइलो त के भने प्रचण्डले सहमति जनाए पनि उनकी बुहारी बिना मगरले भने चिच्याइचिच्याइ एमसीसीको विरोध गरेकी थिइन् । पूर्वसभामुख कृष्णबहादुर महरासहित एक दर्जन बढी माओवादी सांसदहरुले पनि टेबल हुँदा नाराबाजी गरेका थिए । माओवादीमात्रै होइन एकीकृत समाजवादीमा पनि वरिष्ठ नेता झलनाथ खनालले एमसीसी टेबल नगर्न अडान लिएका थिए । तर उनको कुरा सुनुवाइ भएन । यही आक्रोशमा उनी संसदमै एमसीसी टेबल हुँदा हात उठाएर नाराबाजी गरिरहेका थिए । माओवादीले आइतबारमात्रै एमसीसी टेबल गर्न दिने निर्णय गरेको थियो भने नेकपा एसले भने शनिबारको बैठकमा टेबल गर्न दिने, छलफल हुन दिने तर संशोधन नभएसम्म पारित भने हुन नदिने बताएको थियो ।
यो विषयमा एमाले अझै चुप रह्यो । भीम रावलको विरोधको एमालेभित्र खासै तुक रहेको पाइँदैन । यसरी एमसीसी संसदमा टेबल त भयो तर यसले भोलिको राजनीतिक दिशा कता जाने हो अत्तो पत्तो छैन ।