काठमाडौं । राष्ट्रिय सभामा १९ पद रिक्त हुँदैछ । त्यसकै लागि निर्वाचन प्रक्रियाबाट १९ जना छानिदैछ । पदपूर्तिको लागि निर्वाचन प्रक्रिया शनिबारबाट शुरु भइसकेको छ । निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । हुनत आयोगमा १०३ दल दर्तारत छन् । तर मात्र १२ दलले दर्ता गरेका छन् । ती दलहरुको प्रक्रियासमेत छानबिन भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया शुरु भएको र भोलिदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने र आचारसंहिता लागू हुनेछ । मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था भइसकेको आयोगले यसअघि नै जनाएको छ । निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहनेछन् ।
आयोगले चुवान चिह्न पनि निर्धारण गरिसकेको छ । मतपत्रको शुरुमा नेकपा एमालेको सूर्य चिह्न रहने आयोगको भनाइ छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता निर्धारण भइसकेको छ । पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोकतान्त्रिक समाजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदूर किसान पार्टी, १० औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११ नम्बरमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार
दलका चुनाव चिह्न रहने आयोगले जनाएको छ । यसपालिको चुनावबाट सबैभन्दा बढी बेफाइदा एमालेलाई हुने देखिएको छ । उसको बहुमत नभएकाले सत्ता गठबन्धन मजबुद देखिएको छ । समीकरणअनुसार भोट क्रस नहुने हो भने एमालेले एक सिट पनि ल्याउने छैन । सबै १९ सिट सत्ता गठबन्धनको आउने छ । सत्ता गठबन्धनको सहकार्य आगामी तीनैतहका निर्वाचनसम्म हुनुपर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भए पनि नेपाली कांग्रेसले भने कम्तीमा राष्ट्रिय सभा निर्वाचनसम्म हुनुपर्ने बताएको छ । यदि यो गठबन्धन राष्ट्रिय सभाको निर्वाचनमा एक ढिक्का भयो भने एमालेलाई नोक्सानी हुनेछ । १९ सिट सजिलै बाँडेर लिने देखिन्छ ।
तर राजनीतिमा यसै भन्न सकिन्न । एमाले सकभर गठबन्धन फुटेको हेर्न चाहन्छ । कांग्रेससँग नजिक हुन खोजिरहेको छ । एमालेले एमसीसी पारित गर्ने नाममा कांग्रेससँग मिलेर गठबन्धन टुक्राउन खोजिरहेको छ । एमसीसीको विरोध गर्नेहरु एमालेमा कम छन् । भीम रावल बाहेकका बोली सुनिन छाडेका छन् । केपी शर्मा ओलीको मनसाय मान्ने हो भने आफ्नो निर्णयको विरोध गर्नेहरुको एमालेमा स्थान छैन । तर गठबन्धन टुक्रिने सर्तमा ओली जस्तोसुकै सहमति गर्न तयार हुने देखिएको छ । राष्ट्रिय सभाको चुनावको परिणाम भने रोमाञ्चक हुने अपेक्षा छ ।