देउवाको तानाशाही शैली !

राजनीति


काठमाडौं । नेपाली कांग्रेसमा दोस्रोपटक सभापति भएका शेरबहादुर देउवाले १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमिति सदस्यहरुको वरीयता तोकेका छन् । सर्वेसर्वा भएका देउवाले एक सय ३५ जनाको वरीयता तोक्ने बेलामा मनलाग्दी नीति अपनाएका छन् । दोस्रो कार्यकाललाई स्वर्णिम बनाउने भन्दै मतदातासँग भोट मागेका देउवाले जब जित निकाले, त्यसपछि भने सबै मर्यादा पार गर्न थालिसकेका छन् । यसअघि सभापतिमा पराजित हुनेलाई दोस्रो वरीयता दिँदै आएकामा देउवाले डा. शेखर कोइरालालाई भने २० औं वरीयता दिएका छन् ।
उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा रहँदा अर्का उपसभापति धनराज गुरुङले तेस्रो वरीयता पाएका छन् । महामन्त्री गगनकुमार थापाले चौथो वरीयता पाउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पाँचौं वरीयता पाएका छन् । त्यस्तै सहमहामन्त्रीहरुमा फरमुलाह मन्सुर छैटौं, उमाकान्त चौधरी सातौं, महालक्ष्मी उपाध्याय डिना आठौं, भीष्मराज आङ्दम्वे नवौं, महेन्द्र यादव दशौं, किशोरसिंह राठौर ११ औं, बद्री पाण्डे १२ औं तथा जीवन परियार १३ औं नम्बरमा रहेका छन् । सदस्यहरुमा गोपालमान श्रेष्ठले सबैभन्दा उच्च वरीयता पाएका छन् । उनी समग्रमा १४ औं,
डा. शशांक कोइराला १५ औं, चित्रलेखा यादव १६ औं, डा. रामशरण महत १७ औं, अर्जुननरसिंह केसी १८ औं तथा राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापा १९ औं वरीयतामा छन् । वरीयतामै मनलाग्दी गरेका देउवाले अब कस्तो मार्ग अपनाउँछन् भन्ने लगभग देख्न थालिसकिएको छ । किनकि देउवा पछाडि फर्कने अवस्थामा देखिँदै छैनन् । उनले तानाशाही शैली अपनाउन थालेको स्वयं उनी निकटकै नेताहरुले भन्न थालिसकेका छन् । देउवाले महाधिवेशनको उद्घाटनको दिन आफूलाई पुनः पार्टी सभापतिमा जिताएमा तीन वटै तहका आगामी निर्वाचनमा एकमना सरकार बनाउने दाबी गरेका थिए । तर त्यो दाबी त्यतिबेला पूरा हुन्छ जतिबेला कांग्रेस एकढिक्का हुन्छ र जनताका काम गर्छ । महाधिवेशन सकिएपछि उनको यो कसम पनि सकिएको त पक्कै हैन होला । तर महाधिवेशनले भने थुप्रै प्रश्न छाडेर गएको छ ।
चुनावका क्रममा देउवाको नेतृत्वमाथि प्रश्न गर्दै आलोचनामा उत्रिएका सभापतिका उम्मेदवारहरु रातारात सभापति देउवाकै पक्षमा जाँदा नेपाली राजनीतिलाई कतातिर लग्यो त ? परिणामअनुसार देउवालाई दोस्रो पटक अझ बढी मतका साथ नेतृत्वमा पुग्न र कार्यसमितिमा ८२ प्रतिशत पकड जमाउन योगदान पु¥यायो । तर यसले कांग्रेस सशक्त बन्यो कि कांग्रेस राजनीति एक ध्रुवीय हुन पुग्यो ? प्रश्न पेचिलो बनेको छ ।
संस्थापन इतर पक्षको संख्यात्मक रुपले कमजोर उपस्थितिले कांग्रेस राजनीति कता जाला त ? बलियो देखिएको नेतृत्व कतैबाट नियन्त्रणमा नरहेको स्पष्ट छ । यस्तो नेतृत्व भोलिका दिनमा कसरी अगाडि बढ्छ त ? उत्साह, एकता र रुपान्तरणको पार्टीको नारालाई यो परिणामले कतै न कतैबाट पछाडि धकेल्ने पो हो कि ? यो नतिजाको मतलब के निस्कियो त ? सभापतिमा पराजित भएका डा शेखर कोइरालाको भूमिका के होला ? उनी अब के गर्लान् ? रुपान्तरणको प्रसङ्ग चलिरहँदा अहिलेको अभिमतले नयाँ र पुरानो पुस्ता पनि मिलेर जान सकिन्छ त ? युवा पुस्ताको अग्रणी मोर्चामा रहेका धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र बद्री पाण्डेहरुको भूमिका के होला ?
आगामी निर्वाचनमा जसरी पनि आफ्नो पार्टीलाई सबैभन्दा ठूलो र बलियो पार्टी बनाउने अवसर देउवामा छ । राजनीतिको उत्तरार्धमा उनले पार्टी हस्तान्तरण गर्दा बलियो हुने संकेत पनि देखिन्छ । तर उनले अरुका कुरा नसुन्ने हो भने त्यसको नकारात्मक प्रभाव पर्न जाने नै छ । देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन चाहन्छन्, सत्ता संचालनलाई दरिलो बनाउन चाहन्छन् भने चित्त सानो हैन ठूलो बनाउन जरुरी छ । पार्टीभित्रका प्रतिस्पर्धी डा शेखरलाई भूमिका नदिने हो भने र उनलाई बाहिर राख्ने हो भने आगामी निर्वाचनमा पार्टीलाई घाटा लाग्न सक्छ । किनकि डा शेखरको पक्षमा रहेको नेता कार्यकर्ताको पंक्ति पनि ठूलो छ । यो मतलाई सम्वोधन नगर्ने हो भने निर्वाचनमा विचलन आउन सक्छ ।