काठमाडौं । नेताहरुले नेपाललाई साँच्चिकै दुई ठूला ढुङ्गाहरुबीचको तरुल भनिरहेका छन् । दुई ढुङ्गाले नेपाललाई थिचिरहेको भन्दै छिमेकी देशको भक्तिगान गाउन लागिपर्छन् । तर कहिल्यै पनि ढुङ्गाहरुको बीचमा नेपाल हिरा भएको कहिल्यै अनुभव गरेनन् । कसैले दक्षिणलाई पुज्छन् । कसैले उत्तरलाई पुज्छन् । तर कहिल्यै सोचेनन् देश विकासका लागि दुवै देशबाट फाइदा लिनेबारे । अहिले त्यस्तै भइरहेको छ । लैनचौर चुप छ । उसले नेपाली राजनीतिको बारेमा कुनै वास्ता गरेको छैन । अर्थात् अहिले नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे चर्चा चलाइरहेको छ ।
यसमा भारतले कुनै वास्ता गरेको छैन । तर चीनले भने हस्तक्षेपकारी भूमिका खेलिरहेको छ । संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको छ । खासगरी कम्युनिष्ट पार्टीका नेताहरुलाई चिनियाँ पक्षले दबाब र प्रभावमा पारेपछि संसदबाट एमसीसी पास नगर्न दबाब दिने गरेको हो । भनिन्छ चीनकै दबाबका कारण प्रतिनिधिसभाको बैठक सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकारलाई प्रयोग गर्दा सरकार प्रमुखलाई पनि जानकारी दिनुपर्छ भन्ने बिर्से वा उनी कसैको डिजाइनमा यस्तो गर्दै थियो भन्ने बारेमा नेपाली कांग्रेसभित्र व्यापक छलफलसमेत भएको छ । स्रोतका अनुसार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र सभामुख सापकोटासँग चिनियाँ राजदूतावासबाट संसदमा एमसीसीको प्रस्ताव जान लागेको सूचना प्रवाह भयो । सो सूचनाअनुसार दुवैले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरे । अघिल्लो बेलुका अर्थात् शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र माधवकुमार नेपालसँग स्थानीय तहको निर्वाचन पनि गरौं संसदबाट एमसीसी पनि पास गरेर जाऔँ साथै निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई पनि कायमै राखौँ भन्ने प्रस्ताव गरेका थिए । त्यतिबेला उनीहरु चुपचाप फर्केका थिए ।
त्यतिन्जेलसम्म चिनियाँ अधिकारीहरुले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रयोग गरेर संसद स्थगित गराइसकेका थिए । स्रोतका अनुसार गत हप्ताको आइतबारको संसद बैठक स्थगित गराउने डिजाइन चिनियाँकै हो जुन विषयमा प्रधानमन्त्रीसमेत जानकार छैनन् । प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले एक घण्टा बढी कुराकानी गरेका थिए । सो कुराकानीको क्रममा एमसीसी तत्काल संसदमा पेश गर्नबाट टाढा सार्नुपर्ने आग्रह गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग एमसीसी पास गर्नुपर्ने भन्दै संसदमा लैजान सहयोग मागेका थिए । देउवाले संसदमा एमसीसी प्रस्ताव अनुमोदनका लागि लैजाने तर मत जसरी हाले पनि त्यसले सत्ता गठबन्धनमा केही फरक नपर्ने आश्वासन दिँदै त्यसका लागि आफूलाई सहयोग गर्न सत्ता गठबन्धन दलका नेताहरुसँग आग्रह गरेका थिए । तर प्रधानमन्त्रीसँग भएको यो कुराकानीलाई पनि बेवास्ता गर्दै सत्ता गठबन्धन दलभित्रकै माओवादी केन्द्रले प्रधानमन्त्रीलाई धोका दिएको कांग्रेसले महसुस गरेको छ । त्यतिमात्र हैन नेकपा एकीकृत
समाजवादी पनि धोका दिने योजनामा लागेको बताइन्छ । प्रचण्ड र माधवकुमार नेपाल मिलेर देउवालाई खेलाइरहेको स्पष्टै हुन्छ । दुवै नेताहरु चीनको आदेशको पालना गरिरहेको स्रोत बताउँछ । एक कांग्रेस केन्द्रीय सदस्यले भने, ‘दक्षिणबाट हावा लाग्यो भने पनि यिनीहरुलाई रुघा लाग्छ तर उत्तरबाट आँधी आयो भने पनि कपाल हल्लिँदैन ।’