अर्थहीन परिवर्तनले जनता शान्त र सन्तुष्ट छैनन् ः पूर्वराजा ज्ञानेन्द्र

Home Feature समाचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभएको छ । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी गर्नुभएको हो । वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने उहाँको तर्क छ । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने पूर्वराजाले धारण व्यक्त गर्नुभएको छ । नेपालीको घर–घरमा बढ्दो महंगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको उहाँले जनाउनुभएको छ ।
‘हाम्रो अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुःखेसो छ । नेपाली सबैको भलो होस्, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । यसका साथै उहाँले देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो
हुनुपर्ने बताउनु भएको छ ।

यस्तो छ सन्देशको पूर्णपाठ


नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,
बिक्रम सम्वत् २०७८ लाई अतीत र इतिहासको पानामा पल्टाउँदै हामी नयाँ बर्ष २०७९ को बर्तमानमा आइपुगेका छौँ । नयाँ वर्षको प्रारम्भमा हामी हाम्रा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहे बसेका सबै नेपालीहरुलाई सम्झेर सुख, शान्ति तथा समुन्नतिको कामना गर्दछौँ ।
वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो । प्यारो मातृभूमि नेपाल ‘त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण’ को रुपमा रहेतापनि, आफ्नै भू–बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रही आएको छ ।
सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस् र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ । यही भावनालाई आत्मसाथ गर्दै, नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौँ । तर आज नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ । हाम्रा अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ । नेपाली सबैको भलो होस्, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयाश उपलब्धिमा परिणत होस्, यही हाम्रो अभिलासा हो ।
श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरुन् । २०७९ साल बैशाख १ गते