काठमाडौं । सामान्यतया संसद बैठकमा कसैले सम्बोधन गरे मुस्किलले एक घण्टा गर्ने चलन छ । त्यो पनि विशेष कार्यक्रममा, विशेष व्यक्तित्वले । अर्थमन्त्रीलेसमेत बजेट भाषण गरेको छुट्टै भत्ता आउँछ । सबैभन्दा लामो हुने भनेकै त्यही बजेट भाषण हो । तर अचम्म बिमार केपी शर्मा ओली भने ‘ननस्टप’ तीन घण्टा संसदमा बोलेर सबैलाई हैरान पारेका छन् । गत जेठ १२ गते उनले अचम्मै गरे । हुनत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं एमाले संसदीय दलका नेता ओलीले १० महिनासम्म त संसद चल्न दिएनन् । सत्ताबाट बाहिरिएपछि उनले संसद ठप्प पारे । १० महिनासम्म संसदमा भएको कुनै पनि गतिविधिमा उनको पार्टी सहभागी भएन । जसले गर्दा कतिपय सन्दर्भमा संसदका कामकारबाहीसमेत प्रभावित बन्न पुगे । गत भदौमा एमालेबाट विभाजित भएर माधवकुमार नेपालले छुट्टै दल गठन गर्दा एमालेले कारबाही गरेका सांसदहरुलाई संसदमा राखेको विषयमा बखेडा निकालेको थियो । एमालेले राखेका ती मागहरु पूरा हुँदैनन् भन्ने थाहा हुँदाहुँदै पनि उसले १० महिना संसद अवरोध गरिरह्यो । यही क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भयो र निर्वाचनमा एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादी (एस) पनि सहभागी भयो । एस पार्टीको सहभागितापछि एमालेले ‘सरप्राइज’ दिँदै संसद अवरोध खोल्यो ।
बजेट अधिवेशनको सन्दर्भमा सरकारले बजेटसमेत आइतबार पेश गरिसकेको छ । त्यसको पूर्व सन्ध्यामा एमालेले सरकारको नीति तथा कार्यक्रममा सक्रियपूर्वक ओलीले करिब तीन घण्टा आफ्ना धारणा राखे । सो धारणा राख्दा ओलीमा
आफूले सत्ता छाड्नु पर्दाको पीडा पूरै भल्किएको थियो । चुनाव अघि दर्जनौँ स्थानमा सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनसँग एक्लै लड्ने दाबी गरेका थिए । ‘पाँच दल मिलेर आउन् वा एक्लाएक्लै, पहिला जति जितेका थियौं, त्योभन्दा बढी जित्छौं’, ओलीले भनेका थिए । उनले सत्तारुढ गठबन्धनमा आबद्ध दललाई किलो र एमालेलाई क्विन्टलसँग तुलना गर्ने गरेका थिए । तर एमाले २०७४ को अवस्थामा कायम नरहेपछि करिब दुई हप्ता मौन बसेका ओलीले संसदमा तीन घण्टा सम्बोधन गरेका थिए । अघिल्लो पटक तीन सय नजिक रहेर पालिकाको नेतृत्व जितेको एमाले यो पटक २०५ मा झरेपछि ओलीले आफ्नो स्वाभाव र धारणाहरु बदलिनु पर्छ भन्ने नसोची संसदमा तीन घण्टासम्म सत्ता र सत्ता गठबन्धनलाई गाली गर्न समय खर्चिएका थिए ।
संसदमा सम्बोधन गर्नुअघि एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीभित्र घात अन्तर्घात भएको टिप्पणी गरेका थिए । उनले पोखरा, काठमाडौं जस्ता एमालेले जित्ने स्थानमा घात अन्तर्घात हुनु निकै पीडादायी भएको बताएका थिए । संसदीय दलको बैठकमा अध्यक्ष ओली संसदले अन्तर्घातका कारण एमालेले धेरै ठाउँमा चुनाव हारेको दाबी गरेका थिए । तर बिहीबार संसदको रोष्टममा उभिएर ओलीले अन्तर्घातको कुरा गरेनन, बरु निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएर सत्तामाथि शंका गरे । कुनै निश्चित ठाउँको होइन, देशभरकै निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताए ।
ओलीले भने, ‘भोट पाउनका लागि रुकुममा मतदाताको हत्या भयो । हुम्लामा आक्रमण भयो, ताप्लेजुङमा हत्या भयो ,उदयपुरमा हत्या भयो प्रहरीकै गोलीबाट, विभिन्न ठाउँमा घाइते भए, अंगभंग भए, जो सार्वभौम सम्पन्न छन्, मतदानको माध्यमबाट आफ्नो प्रतिनिधि छान्ने अधिकार राख्दछन्, उसैलाई घेर्ने–थुन्ने–आक्रान्त गर्ने–कुटपिट गर्न काम भयो’ भन्दै आलोचना गरे । ओलीको अभिव्यक्तिको क्रममा बेलाबेलामा एमाले सांसदहरुले ताली लगाउँथे बाँकी समय उनीहरु सुनेर बिताएका थिए । एमाले सांसदहरुलाई बोल्ने कुनै विषय नै नराखी उनले समग्र नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । सबै विषयवस्तुमा प्रवेश गरेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको सभामा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै मतदातालाई धम्की दिएको बताएका थिए ।
ओलीले संसदमा गरेको सम्बोधन सुन्दा एमालेले चुनावी पराजयलाई सहजै स्वीकार गर्न नसकिरहेको र सरकारबाट बाहिरिनु परेको पीडालाई पोखिरहेको भान हुन्थ्यो । उनले समग्र चुनाव धाँधली भयो भन्दा आम मतदाता र स्थानीय तहमा निर्वाचित एमालेकै जनप्रतिनिधिकै अपमान महसुस हुनेगरी अभिव्यक्ति दिएका थिए । निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै ओलीले दिएको अभिव्यक्तिको दलहरुले संसदमै खण्डन गर्ने अवस्था बनेको थियो । धाँधली भयो भन्दै गर्दा एमाले ठूलो दल भएको र एमालेलाई लोकप्रिय मत आएको ओलीले आफैले बताएर आफ्नै भनाई खण्डित गरेका थिए । आखिर झुठ बोल्दा सत्य लुक्दैन भनेझैं भयो । जसरी बिमार छु भनेर उनले कुर्सीको प्रयोग गरे त्यसरी नै तीन घण्टासम्म ‘ननस्टप’ बोलेर आफ्नै स्वास्थ्यलाई खण्डित गरे । त्यसरी नै उनले तीन घण्टामा गठबन्धन दललाई गर्नुसम्म गाली गरे । नीति तथा कार्यक्रममाथि धज्जी उडाए । अनि अरुले सुनेर मात्र बसिरहे ।