काठमाडौं । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए । तर कुनै पनि कार्यकाल सफल भएको रेकर्ड छैन । अहिले त उनी अन्तिम पटक प्रधानमन्त्री भएका जस्तो लाग्दैछन् र पनि उनमा सफलता भन्ने शब्दले व्यक्तिगत रुपमा पछ्याएको भए पनि देशले सधै असफलता नै पाउन पुग्यो । अहिले देश झन् दलदलमा छ । उनको असफलता सरकारमा मात्र हैन नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको पार्टीमा पनि त्यही हाल छ । उनकै पार्टीका नेताहरु उनको असफलताको चर्चा गरिरहेका छन् ।
कांग्रेसको शेखर कोइराला समूहले देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल बनेको निष्कर्ष निकालेको हो । पार्टीको १४ औँ महाधिवेशनपछि पनि देउवाले पार्टीलाई विधानबमोजिम सञ्चालन गर्न नचाहेको र पार्टी सञ्चालनका क्रममा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई बेवास्ता गरेको कोइराला समूहले आरोप लगाएको छ । राजधानीमा दुई दिनसम्म चलेको बैठकमा नेताहरूले सभापति देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल बनेको र त्यही कारण आम नागरिक र कार्यकर्तामाझ नेतृत्वप्रति असन्तुष्टि बढेको आरोप लगाए । कोइराला समूहले देउवाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई न्याय गर्न नसकेको भन्दै पार्टीभित्र रचनात्मक विद्रोह गर्नेसमेत बताएको छ । महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी नेता शेखर कोइरालाले पार्टी संचालनमा देउवाले राम्रो काम गर्न नसकेपछि आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकमा शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, पूर्वकोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, सरिता प्रसाईं, प्रतिमा गौतम, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, गोविन्द पोखरेल, सञ्जय गौतम, नेताहरू चन्द्र भण्डारी, हृदयराम थानी, भुपेन्द्रजंग शाहीलगायत नेताहरु सहभागी थिए ।
देउवाले विधानको बाटो बिराएको, सरकार सञ्चालनको बहानामा पार्टीभन्दा गठबन्धनलाई बढी महत्व दिएको, नागरिकका जनजीविकाका मुद्दामा
सरकार संवेदनशील बन्न नसकेको, अर्थतन्त्र सुधार गर्न उदासीन देखिएको तथा आर्थिक सुशासनको खिल्ली उडाउँदै व्यापकरुपमा नीतिगत भ्रष्टाचार भएकोसमेत आरोप लगाएको छ । कोइरालाले देउवा आफ्नो गुटको घेराबन्दीमा पर्दा पार्टी विधिविधानअनुसार चल्न नसकेको बताए । ‘पार्टी विधानअनुसार चलेको छैन । सभापतिजी गुटको घेराबन्दीमा पर्नुभो, पार्टी र सरकारको पर्फरमेन्स राम्रो भएको छैन, पार्टी र सरकारका कामले कार्यकर्तामात्रै होइन, आमनागरिकमा पनि असन्तुष्ट बढेको छ ।’ उनको भनाइलाई उधृत गर्दै एक सहभागी नेताले भने । उनले देउवा कांग्रेसको सभापति बन्न नसकेको तर पाँच दलीय गठबन्धनको सभापति बन्ने प्रयासमा लागेको आरोप लगाए । उनले भने, ‘सभापतिजी पार्टीसँग टाढा, गठबन्धनसँग निकट हुनुहुन्छ; उहाँ गठबन्धनसँग यति निर्भर हुनुहुन्छ कि कम्युनिस्ट फुटेको अवस्थामा समेत कांग्रेसका लागि एउटा पनि निर्वाचन क्षेत्रमा सुरक्षित छैन भनेजस्तो अवस्था छ । सभापतिजी पार्टीभित्र तालमेल गर्ने विषय छाडेर कम्युनिस्टसँग तालमेल भन्दै हुनुहुन्छ तर नेपथ्यमा कम्युनिस्ट एकताको कुरा निकै अघि बढेको बुझिन्छ ।’ महामन्त्री थापालेसमेत सभापति देउवाको चर्को आलोचना गरे । सहमहामन्त्री परियारले पार्टी र सरकार सञ्चालनमा सभापति देउवाले चर्को गुटबन्दी गरेको भन्दै त्यसविरुद्ध देशभर रचनात्मक संघर्ष गर्ने निर्णय भएको बताए ।
बैठकले सरकार जनजीविकाका मुद्दामा गम्भीर बन्न नसकेको, विकास खर्च, लगानीको माहोल, अर्थतन्त्रका सूचकहरू, कृषि मल र पाठ्यपुस्तकको अभावजस्ता समस्याको सम्बोधन गर्न उदासी देखिएको निष्कर्ष निकालेको छ । त्यस्तै सत्ता गठबन्धन बन्दै गर्दाको राजनीतिक प्रतिबद्धता बमोजिम राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागजस्ता निकायहरू प्रधानमन्त्रीको मातहतबाट हटाउने पार्टीकै निर्णय कार्यान्वयन नगरेको भन्दै बैठकले सभापति देउवाप्रति प्रश्न उठाएको छ । अहिलेसम्म मन्त्रीहरुले सम्पत्ति विवरणसमेत बुझाएका छैनन् । देउवाको टिम कत्तिको इमानदार छ भन्ने यसले पनि देखाउँछ ।