गठबन्धनको विरोधमा झलनाथ

राजनीति

काठमाडौं । पदअनुसार आफ्नो गरिमा राख्न सकेको भए हाम्रा नेताहरुले देश बनाइसक्थे । पछिल्लो राजनीतिक उतारचढाव पनि त्यस्तै देखिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले त्यही स्वार्थीपन देखाएका छन् । उनले पाँच दलीय गठबन्धनलाई शुरुआतदेखि नै धोका दिँदै आएका छन् । उनले स्थानीय तहको निर्वाचनमा आफू टुक्रिएको दल एमालेसँग सहकार्य गरेका थिए । आफ्नो गृह जिल्ला इलाममा खनालले एमालेसँगको सहकार्यमै जिल्ला समन्वय समिति बनाएका थिए । उनले आफ्नो गृह जिल्लाको सूर्योदय नगरपालिका लगायतका केही गाउँपालिकामा पनि एमालेसँगै सहकार्य गरेका थिए ।
इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङवीच सहकार्य भएको हल्ला पनि खुवै चलेको थियो । आगामी निर्वाचनमा दुवै नेताहरुले चुनाव जित्नुपर्ने बाध्यता रहेका कारण स्थानीय तहको निर्वाचनमा सहकार्य गरेको आशंका सबैतिर छ । यद्यपि उनीहरुबीच सार्वजनिक कार्यक्रममा भने सधै आरोप प्रत्यारोप हुने गरेको छ । बिहीबार पनि दुवैबीच आरोपप्रत्यारोप चल्यो । तर पनि एमालेलाई खनालले त्यतिधेरै गाली गरेनन् । उनले संसद अवरोधका कारण प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानून बनाउन नपाएको गुनासो गरिरहँदा एमाले उपाध्यक्ष नेम्वाङ सुनेर बसेका थिए ।
संसद् भंग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि नेम्वाङले जवाफ फर्काउदै विगतमा के के भएको थियो भनेर सम्झिनु पर्ने बताएका थिए । नेम्वाङले भने, ‘संसद् अवरोध अहिलेको कुरा गर्नुभयो । विगतमा पनि अवरोध भएको थियो । को–को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’ के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रममा एकले अर्कालाई आरोप लगाए पनि उनीहरुको भित्री सम्बन्ध कायम रहेको अनुमान गरिएको छ । खनालको इलामको चुनावी क्षेत्र सूर्योदय नगरपालिकामा गठबन्धन टुटेको थियो । जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि नेकपा एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको थियो । खनालले यसअघि गठबन्धनबाट आफूलाई धोका भएको बताउँदै आएका छन् ।
खनालले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा एसलाई धोका दिएको र माओवादीलाई बोकेको बताएका थिए । एस पार्टीको सचिवालय बैठक, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सबै बैठकमा खनालले गठबन्धनबाट धोका भएकाले कांग्रेससँगको सहकार्यमा भर नपर्न आग्रह गर्दे आएका छन् । अमेरिकी सहयो एमसीसी संसदबाट अनुमोदन भएदेखि नै उनी कांग्रेससँग चिढिएका थिए । उनले एमसीसी अनुमोदन गर्न नहुने भन्दै लविङ गरेका भए पनि असफल भएका थिए । एमसीसी अनुमोदन भएपछि पनि त्यसको चर्को विरोध गर्दै आएका खनाल अहिले गठबन्धनको विरोधमा उत्रेका छन् ।
इलाममा एमालेको सहयोग बिना निर्वाचन नजित्ने भएका कारण पनि खनालले गठबन्धनको विरोध गरेका हुन् । आगामी निर्वाचनमा इलामभित्र एमाले र एस पार्टीको सहकार्यका लागि भित्रभित्रै पहल भैरहेको छ । ‘खनाल–नेम्वाङबीच सहकार्य हुने अवस्था छ दुवै नेताहरु यसमा सकारात्मक छन्’, एमालेका एक नेताले भने ।