कुर्सीको लडाइँले पार्टी एकता सकसपूर्ण, ओली मस्तः प्रचण्डलाई छट्पटी

Home Feature राजनीति समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो दुवै पद मजबुद बनाउँदैमा समय बिताइरहेका छन् । उनी मुलुकको प्रधानमन्त्री वा पार्टीको अध्यक्ष हुन् भन्नेमा कुनै शंका छैन । तर उनले खेलिरहेको भूमिका भने शंकास्पद भएको उनकै पार्टीका नेताहरुले भनिरहेका छन् । उनी इतरका सबै नेताहरु उनी प्रधानमन्त्री र पार्टीको अध्यक्षबाट लायक नभएकाले राजीनामा दिन भनिरहेका छन् ।


जब आफ्नै पार्टीका नेताहरु नै उनलाई राजीनामाको दवाव दिइरहेका छन् भने उनी देशका प्रधानमन्त्री भइरहन लायक छन् भन्ने कुनै आधार बाँकी छैन । किनभने संसदीय व्यवस्थामा व्यक्ति भन्दा दल ठूलो हुन्छ । नेकपा दलभन्दा ठूलो केपी ओली हैनन् । तर उनी कसैलाई मान्न तयार छैनन् । यस्तो लाग्छ कि ओलीको भजन गाउनेलाई ऐन कानुनको मतलव छैन । इतर पक्षका नेताहरु व्यक्ति भन्दा पार्टी ठूलो हुन्छ भनेर पार्टीमा छलफल गर्न मनाउन सकिरहेका छैनन् । के ओलीले चाहुन्जेल सत्ता सम्हाल्छन् ?


नेकपाको केन्द्रीय समितिदेखिका नेता तथा कार्यकर्तालाई त यसले केही फरक पारेकै छैन । तर माथिका नेताहरुलाई भने कुर्सीको अहम्ले गर्दा पार्टी एकता पनि निकै सकसपूर्ण लाग्दै गएको छ । ओलीलाई कुर्सीमात्र प्यारो लाग्ने र कुर्सी नभए मर्छु कि जस्तो गर्न थालेपछि स्वभावैले अरु नेताहरुलाई छटपटी भइरहेको छ ।


उनले प्रधानमन्त्री हुँदा कुनै स्मरणयोग्य काम गरेका छैनन् । त्यो भन्दा बढी त उनले देशलाई नै भड्खालोमा हाल्ने गरी अभिव्यक्ति दिने र पार्टी अध्यक्ष हुँदा आफू बाहेक कोही पनि राष्ट्रवादी नभएको र बाँकी सबै नेता भारतीय दलाल हुन् भनेर खुलेआम भनेपछि उनलाई नै बोली निल्नु न ओकल्नु भएको छ । उनले पदीय मर्यादा उल्लंघन गरेर यस्तो बोलेको आरोप छ ।


ओलीलाई जसले जे भनेपछि फरक परेको छैन । उनलाई शीर्ष नेतादेखि स्थायी समितिका अधिकांश नेताले राजीनामा दिन दवाव दिएका छन् । तर उनी भने जेसक्छौ गर कुनै पनि हालतमा राजीनामा दिन्न भनी लागिरहेका छन् । ओली कुर्सीको आयु बढाउने खेलमा लागेका छन् । कहिले सचिवालय बैठक, कहिले स्थायी समिति बैठक र कहिले केन्द्रीय समिति भन्दै आयु बढाइरहेका छन् । पछिल्लो फन्डा भनेको महाधिवेशन हो । उनले आफूलाई महाधिवेशन बोलाएर हटाउन चेतावनी दिएका छन् ।


अब देशको दयनीय अवस्था रहेका बेलामा पनि उनलाई त्यता सोच्ने फुर्सद भएन । कोरोना भाइरसको महामारी फैलदा बोल्न हुने र नहुने सबै बोलेका ओलीले अहिले बाढीपहिरोको विपदका बेलामा बैठक बस्नु उपयुक्त हुन्न भनेर बैठक पटक पटक सारेका छन् । उनी जसरी पनि आयु लम्ब्याउने खेलमा लागेका छन् । इतर पक्ष यसलाई हेरिमात्र रहेको छ । निरीह पात्रहरु बनेर ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने यसले निकै पनि बेचैन बनाएको छ । राजीनामा नदिने तर दिइहाल्छन् कि भन्दै कुरेर बसेका प्रचण्डलाई बेचैन हुनु स्वभाविकै हो । तत्कालीन एमालेसंग पार्टी एकता गर्दा माओवादी केन्द्रका अध्यक्षको हैसियतले ओलीसंग सत्ता साझेदारी आधा आधा समय गर्ने भनेर सहमति गरेका थिए । ओलीले धोका दिए । प्रचण्ड टाउको समाइरहेका छन् ।


त्यहाँसम्म त ठिकै थियो । प्रचण्डलाई अर्को परिवन्धमा पारियो सितल निवास गएपछि । ओलीले प्रचण्डलाई राष्ट्रपति कार्यालय लगे । प्रचण्ड लुरुलुरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नलाई पुगे । त्यो पनि कुनै महाअभियोग लगाउँदैनौं भन्नका लागि । प्रचण्ड परे फसाद्मा । तर यति कमजोर होलान् भन्ने लागेको थिएन ।


राष्ट्रपतिले आफ्नो मर्यादा बिर्सदा पनि कसैले केही बोल्न सकिरहेको छैन । योभन्दा ठूलो दुर्भाग्य के होला । राष्ट्र प्रमुखको गरिमामय पदमा बसेकी उनले नेकपाको विवाद देख्ने तर कांग्रेसको आन्तरिक किचलो समाधान गरिदिन नखोज्ने, मधेशी दलका समस्या नदेख्ने पनि हुन्छ र ? अनि तिनै राष्ट्रपतिको कुकर्मलाई बचाउन प्रधानमन्त्री ओली र प्रचण्ड साक्षी भए । के उनीहरु संविधानभन्दा माथि हुन् ?