राष्ट्रियतामा गम्भीर कुठाराघात
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सुझाव दिँदै फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट हुबहु पारित भएको छ । राष्ट्रपति भण्डारीले दिएको सुझावलाई बेवास्ता गर्दै संसदको दुवै सदनबाट पारित विधेयक अब फेरि प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भारतको भ्रमण गरेर फर्किएपछि अचानक अगाडि बढाइएको नागरिकता विधेयक प्रमाणिकारण नगर्न राष्ट्रपति भण्डारीमाथि चौतर्फी दबाव छ । संविधानअनुसार अब फेरि प्रमाणिकरणका लागि पठाउँदा राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।
तर राष्ट्रपति भण्डारीमाथि विधेयक पारित नगर्न ठूलो दबाव छ । नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले विहे पछि चाहेको बखत नागरिकता पाउने प्रावधान नयाँ विधेयकमा छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने संकेत पाएका सत्ता गठबन्धनले अहिले राष्ट्रपतिले राजीनामा दिने हल्ला चलाएर राष्ट्रपति माथि दबाव सृजना गर्न खोजिरहेका छन् । तर राष्ट्रपति भण्डारीले आफूले पदबाट राजीनामा दिनेबारे नसोचेको बताउने गरेकी छिन् । राष्ट्रपति राजीनामा दिने मुडमा रहेको भन्दै सत्तारुढ दलहरुभित्र व्यापक हल्ला भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित झण्डै ७० जना सैनिक अधिकारीसामु राष्ट्रपति भण्डारीले राजीनामा नदिने प्रष्ट पारेकी थिइन् ।
सेनापति शर्मासहित वर्तमान र भूतपूर्व सैनिक अधिकारीहरुसँग लामो कुराकानीका क्रममा भदौ ८ गते बुधबार राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा र समसामयिक राजनीतिक अवस्थाले त्यसमा पार्ने असरबारे परामर्श गरेकी थिइन् । सेनापतिसहित अधिकांश जर्नेलहरुले विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने सुझाव दिएका थिए । उनले यो प्रक्रियाका लागि लाग्ने दुई महिनाको समय कुरेर हेर्न आग्रह गर्दै सैनिक अधिकारीहरुले अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरणका लागि ल्याए आफूले प्रमाणीकरण नगर्ने संकेत गरेकी थिइन् । राष्ट्रपति राजीनामा दिने मुडमा रहेको भन्दै सत्तारुढ दलहरुभित्र व्यापक हल्ला भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित ६७ जना सैनिक अधिकारीसामु राष्ट्रपति भण्डारीले राजीनामा नदिने प्रष्ट पारेकी थिइन् । अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाइए त्यसलाई प्रमाणीकरण नगरी समय लम्ब्याउने, तन्काउने र देशवासीका नाममा संबोधन गर्दै यथार्थ कुरा जनतासामु राख्नुपर्ने सुझाव पूर्वसैनिक अधिकारीहरुले दिएका थिए । यस्तो विधेयक प्रमाणीकरण नगरेर अडान राखे राष्ट्रपतिलाई इतिहासले उच्च मूल्यांकन गर्ने र सो अडानलाई नेपाली सेनाले पूर्णरुपमा सहयोग गर्नेबारे राष्ट्रपतिलाई आश्वस्त पार्ने प्रयास गरिएको थियो ।
सैनिक जनरलहरुसँगको कुराकानीमा कतिपयले सर्बोच्च अदालततिर पठाइदिने विकल्प हुनसक्छ कि भन्ने सुझाव दिएका थिए भने कतिपयले अहिलेको अवस्थामा सर्बोच्च अदालतले पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण विषय नागरिकतबारे अडान राख्न नसक्ने खतरा भएकाले सर्बोच्चको राय लिनेतिर लाग्नु हानिकारक हुने सुझाव पनि राष्ट्रपति भण्डारीलाई दिएका थिए । नागरिकता विधेयक पारित गर्न वर्तमान सरकार र गठबन्धनका नेतामाथि भारतीय दबाव ठूलो छ । नेपालमा आफू सत्ता र शक्तिमा रहिरहनका लागि भारतले भनेको मान्न तयार हुने नेपाली नेताका कारण नेपाली अल्पमतमा पर्ने गरी बेला बेला नागरिकताको विषयलाई उठाइन्छ र गैर नेपालीलाई नागरिकता दिइन्छ । आज राष्ट्रको राष्ट्रियता कहिले अमेरिकाको पोल्टोमा, कहिले भारतको पोल्टोमा त कहिले चीनको पोल्टोमा पालै पालो परिरहेकोले यसबाट उम्किन सारा तीन करोड नेपाली उठ्न पर्ने बेला आएको छ, अन्यथा राष्ट्रको नागरिकता हराउन अब धेरै समय छैन । आज राष्ट्र रोइरहेको छ । राष्ट्रियताको लागि भौंताएर हिँडिरहेको छ । यहाँ राष्ट्रियता ध्वस्त गर्ने नाममा भ्रष्टाचारी नेता सबै लागेका छन् । देशको नक्शा बढाइएको छ भने जमीन खुम्चिँदै गएको छ । जंगे पिलर बिस्तारै सारिएको छ । आफ्नै जमिनमा बिबाद बढेको छ । यहाँ राजनीतिले राष्ट्रियताको नागरिकता च्यातिदिएको छ । बिकाशको नाममा उद्योग कलकारखानाहरु बेचिएको छ । अर्थतन्त्रमा आगो लागेको छ । धर्ममा इशाई पसेको छ । देशको राष्ट्रिय पोशाक फेरिएको छ । टाइ सुट पेन्टमा भादगाउँले टोपी जोडिएको छ । भाषा हराएको छ ।
नेपालीमा अंग्रेजी मिसाई बोलिने गरिएको छ । देशको राष्ट्रियता झल्काउने पर्यटन ब्यबसाय ठप्प छ । नेपाल बायु सेवा निगम अलपत्र छ । हिजो विश्व घुम्ने हवाई जाहाज आज नेपाल भित्र उडिरहेको छ । यसरी नै सबै कुरामा देशको राष्ट्रियता हराइरहेको छ । राजनीतिको अदूरदर्शी महत्वाकांक्षाले सम्पूर्ण सेवाका कर्महरु ओझेलमा परेको छ । सम्पूर्ण ठूला पदहरुमा पैसाको मूल्य तोकिएको छ । यहाँ राष्ट्रपति गलेकी छिन् । प्रधानमन्त्री अकर्मण्य छन् । मन्त्रीहरु जोर बिजोर खेलमा मस्त छन् । सांसदहरु धारे हात लगाई आफू आफैं मिलेर खान मस्त छन् । नेताहरु अझै लुट्नमा मस्त छन् । समस्टिगत रुपमा देशको राष्ट्रियतामा ठूलो तुषारापात भएको छ । राष्ट्रियताको परिचय नागरिकताको प्रमाणपत्र हरेक चुनाबको पहलुमा बेचिन्छ । खै हाम्रो राष्ट्रियता, विकाश र समृद्धि ? खै चौतर्फी विकास ? खोइ जनताको विकाश र पहिचान ? सबै बृद्ध भई सकेका छन् । के अब आजका देशका लुटेराहरुले बचाउन सक्छन् ? खै हाम्रा राष्ट्रियता जोगाउने महेन्द्र, वीरेन्द्र, बिपी, किशुनजी र मदन भण्डारी ? आज यी नेताहरुको अभावमा राष्ट्रियतामा कुठाराघात भइरहेको छ ।