प्रचण्डमा अझै ‘जनयुद्ध’को धङ्धङी
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उछिट्टिदै चितवनबाट गोरखातिर उकालो लागेका छन् । कुनैबेलाको उक्ति थियो–न्याय नपाए गोरखा जानू । अहिले प्रचण्ड अन्त कतैबाट न्याय पाउन नसक्ने देखेपछि गोरखा पुगेका छन् । प्रचण्डलाई ज्ञगोरखाले न्याय दिनुपर्ने भने कुनै आधार छैन । गोरखाले प्रचण्डलाई न्याय दिन नसक्ने कारणका बारेमा प्रचण्डका पूर्वसहयात्री डा. बाबुराम भट्टराईले नै उनका व्यक्तित्व र नैतिकताका बारेमा बारम्बार लगाएका आरोप र प्रमाण नै काफी छन् । शान्ति सम्झौता भएको १६ वर्ष बितिसक्दा गोरखालीका घाउ नदेख्ने र नसुन्ने प्रचण्डलाई ती शहीद र बेपत्ता परिवारका आँसुले तानेकै हो भनेर विश्वास गर्ने ठाँउ नै छैन । प्रचण्ड कसैले नपत्याएर गोरखालीले पत्याउँछन् कि भनेर गोरखातिर हान्निएका हुन् भन्नको लागि हिच्किचाउनै पर्दैन ।
बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले प्रचण्डलाई बोकेर ल्याए भन्दैमा गोरखालीले बोक्नै पर्छ भन्ने छैन । प्रचण्ड नेपाली राजनीतिलाई अत्यन्तै तरल अवस्थामा राखेर कहिले कुन पार्टीको टाउको र कहिले कुन पार्टीको पुच्छर बनिरहेका छन् । प्रचण्ड देशमा राजनीतिक अस्थिरता सिर्जना गरी सत्ताको साँचो आफ्नो हातमा राख्न खप्पिस छन् । आफूलाई नेपालको गणतन्त्रको नायक भन्न रुचाउने प्रचण्डले सत्ता प्राप्तिको लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन् । उनका पार्टीमा सिद्धान्त, विचार, वाद र नैतिकता भन्ने केही छैन । कुनै बेला आफ्नो टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवा र पहिलो दुस्मन पार्टी भन्ने नेपाली कांग्रेसलाई काखी च्यापेर हिडेका छन् । आज देउवा र प्रचण्ड एक अर्काका पर्यायवाची जस्ता बनेका छन् ।
आजको नेपाली राजनीतिक परिदृश्य हेर्दा नेपाली कांग्रेसको साँचो प्रचण्डको हातमा पुगेको छ । प्रचण्ड अत्यन्तै अवसरवादी हुन् भन्ने कुरा उनका विभिन्न क्रियाकलापबाट थाहा पाउन सकिन्छ । आफ्नो पार्टी त परै जाओस् अर्को पार्टीमा पनि हस्तक्षेप गरी आफूले भनेजस्तो भएन भने क्षणभरमा तालमेल वा गठबन्धनलाई लात हान्दिन्छन् । प्रचण्डमा जनयुद्धको धङधङी यथावत नै छ । पछिल्लो केही वर्षदेखि सत्ताको साँचो आफ्नो हातमा राख्न सफल प्रचण्ड जब चुनाव आउँछ अनि आफ्नो क्षेत्रलाई लात मारेर हुत्तिदै र उछिट्टिदै अर्को क्षेत्र रोज्न पुग्छन् । रोल्पा, सिराहा, काठमाडौं, चितवन यिनका पुराना क्षेत्र हुन् । त्यहाँका
जनताले पत्याउँदैनन् कि भनेर अहिले यिनी हुत्तिएर गोरखा पुगेका छन् । जनतालाई धोका दिँदै हिँड्ने यस्ता धोकेबाजलाई माओवादी जनयुद्धका बेला बेकारण थचारिएका र पछारिएका ती गोरखाली जनताले आफ्नो अमूल्य मत दिएर पुनः प्रचण्डलाई सत्तासीन गराउनुको कुनै औचित्य नै छैन । गोरखा एउटा ऐतिहासिक जिल्ला र किल्ला पनि हो । नेपालका बाईसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै विशाल नेपाल बनाउने काम गोरखाका राजा पृथ्वीनारायण शाहले गरेका थिए । नेपाल एकीकरणका नायक तिनै पृथ्वीनारायण शाहको शालिक फोर्ने पार्टीका कमान्डर हुन् प्रचण्ड । आज उनले आफूले होइन भनेर चोखिँदै छन् । आज तिनै प्रचण्ड आफ्नो त्यो नाङ्गो रुप लिएर त्यही म त जनयुद्धको कमान्डर हुँ भन्दै तिनै पृथ्वीनारायण शाहको प्रशंसा गर्दै आफ्ना कार्यकर्ताले ढालेको त्यही शालिकलाई पुज्दै ऐतिहासिक किल्ला गोरखामा पुगी भोट मागिरहेका छन् ।
जनयुद्धको उद्गम र पीडित जिल्ला गोरखा हो । आजसम्म पनि जनयुद्धबाट थचारिएका ती गोरखालीहरू उठ्न सकेका छैनन् । युद्धका घाउहरू अझै पाकिरहेकै छन् । कतिपय कांग्रेसप्रति आस्था राखेकै कारण अङ्गभङ्ग भएका र आफन्त गुमाएकाका आँसुहरू अझै सुकेका छैनन् । आज तिनै द्वन्द्व पीडितका अगाडि कांग्रेस र माओवादी एकाकार भएर भोट माग्न गएका छन् । यस्ता विचारविहीन, धोकेबाज र राजनीतिलाई व्यवसाय बनाएर सत्ताको रजाइँ गर्न पल्केका तथाकथित पार्टीका प्रतिनिधिलाई भोट दिने आधार नै छैन ।
प्रचण्डले आफू दुई दुई पटक प्रधानमन्त्री हुँदा र त्यसपछि पनि कहिँ नै कतै सत्ताको साँचो आफ्नो हातमा रहँदासमेत हिजो जनयुद्धताका बोलिएका र भनिएका कुनै पनि वाचा पूरा गर्न सकेका छैनन् । जनयुद्धमा बाँडिएका सपना कहाँ गए ? माओवादी आन्दोलनमा सत्र हजार नेपाली मारिए भने हजारौं अङ्गभङ्ग र बेपत्ता भए । देशको आर्थिक अवस्था चौपट भयो । के त्यही एक थान संविधान बनाउनको लागि मात्र मान्छे मरेका र मारिएका हुन् र ? नेपालको कानूनअनुसार प्रतिनिधि बन्नका लागि नेपालको जुनसुकै जिल्लाको नागरिक भए पनि हुने बताइएको छ । व्यवहारिक रुपमा जनताको मर्म र संवेदना बुझ्न स्थानीय नागरिक नै हुनुपर्छ । प्रचण्ड माओवादीका लागि अध्यक्ष होलान् तर अहिले गोरखाली जनताको लागि पर्यटक उम्मेदवार नै हुन् जहाँ उनले आफैंलाई मतदान गर्न पाउँदैनन् ।
कुनै पनि उम्मेदवार निर्वाचनमा जाँदा कुनै पार्टीको भए पनि निर्वाचन पछि अन्ततः सम्पूर्ण जनताको प्रतिनिधि बन्न सक्नुपर्छ र मात्र जनताको माया र साथ पाइन्छ । जनताले यो हाम्रो जनप्रतिनिधि हो भनेर गर्व गर्न लायक हुनुपर्छ । एउटा चुनावमा एक ठाउँमा उठेको छ, अर्को चुनावमा अर्कै ठाउँ उठ्न पुग्नेलाई जनताले विश्वास गर्नुपर्ने आधार नै छैन । प्रचण्डले गोरखामा कुनैबेला आफू शिक्षक भएको र जनयुद्धको उद्गम थलो भनेर नातो जोड्न खोजे पनि उनको अस्थिर स्वभावले गर्दा उनको जित हुँदा पनि गोरखाली जनताले न्याय पाउँदैनन् । प्रचण्डलाई रोल्पा, सिराहा, काठमाडौंबाट जिताउँदा त्यहाँका जनताले नयाँ, नौलो र भिन्न केही चमत्कार पाएका छैनन् । प्रचण्डप्रति जनताको विश्वास छैन वा प्रचण्डले जनताको विश्वास गर्न सकेका छैनन् भन्ने कुरा उनको उम्मेदवारीको स्थायित्व नभएको कुराले देखाउँछ । उनी कहिले रोल्पा, कहिले सिराहा, कहिले चितवन, कहिले काठमाडौं हुँदै अहिले आफू सिफारिस नै नपरेको क्षेत्र गोरखा २ मा पुगेका छन् । माओवादी पार्टी, अध्यक्ष प्रचण्ड र उनका कार्यकर्ताले जतिसुकै प्रचण्डको भजन गाए तापनि प्रचण्ड एकपटक प्रतिनिधि बनेका जिल्लाहरू दोस्रोपटक उनका लागि सुरक्षित हुन सकेका छैनन् । यसबाट स्पष्ट हुन्छ कि प्रचण्डले जनताको विश्वास जित्न सकेका छैनन् नै । वास्तवमा उनी राज्य सञ्चालनका लागि परीक्षणबाट असफल पात्र हुन् भन्ने कुरा छर्लङ्गै रहेको छ ।