विदालाई विदा दिए हुन्न ?

Home Feature

केही समय यता नेपाल सरकारले दिने विदालाई लिएर अनेक चर्चा परिचर्चा हुँदै आएको छ । यस्तो चर्चा फागुन १ गते अकस्मात आइपरेको जनयुद्ध दिवस नामको विदाले सतहमा ल्याएको हो । त्यसो त पुस २७ गते पनि सार्वजनिक विदा घोषणा गरिएको थियो । तर यो विदा विगत १५ वर्ष अगाडि पनि आम नेपालीले पाउँदै आएकाले त्यसतर्फ कसैले कुनै किसिमको टिकाटिप्पणी गरेनन् । गर्ने कुरो पनि थिएन । समय काल परिस्थितिले हराएको विदा फेरि फेला परेको थियो । कुरो त्यति मात्रै थियो । तर जनयुद्ध दिवसले भने आम नागरिकलाई एकचोटि सोच्न बाध्य बनाएको छ, हामीलाई राज्यले जुन विदा दिँदैछ, के त्यो सही र सार्थक छ ? यदि छैन भने त्यसमा पुनर्विचार गरिनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन । विद्याथीहरुलाई दुई चार दिन विदा थपिँदा त रमाइलै होला, तर त्यो विदाले व्यापार व्यवसायमा कतिको असर पार्न सक्छ, राज्यले वा सरकारले त्यसतर्फ कहिले पनि सोचेको देखिएन । सार्वजनिक विदा वर्षमा सामान्यता ५२ दिन शनिबार धान्ने गर्छ । त्यसबाहेक नयाँ वर्ष, अनेक चाडवाड, अनेक दिवस र जयन्ती विदाले अर्को ३५÷४० खाने गरेको छ । यसरी ३६५ दिनको सालमा ९० दिनभन्दा बढि सार्वजनिक विदा दिइँदा त्यसले अर्थतन्त्रमा त नकारात्मक असर पार्छ नै, सामान्य मानिसलाई पनि थप अल्छी र काम नगर्ने पात्रका रुपमा खडा गरिदिन्छ । वास्तवमा यसको ठाडो असर सधैँ काम गर्ने, कमाउने र खानुपर्ने वर्गमा बढि पर्ने देखिन्छ । राज्यले आम नागरिकको स्वार्थलाई विशेष ध्यान दिनुपर्ने हो । तर विदाको तौरतरिका हेर्दा नागरिकको भन्दा पनि कर्मचारीलाई सुविधा दिने हिसाबले मात्रै धेरै हेरिएको देखिन्छ ।
कुनै पनि विदा बढ्दा कर्मचारीहरुलाई धेरै राहत हुन्छ । तर मारमा परिरहेका हुन्छन्, दैनिक हाड घोट्नुपर्ने तप्काका मानिस र व्यावसायी । हरेक महिना विदा माथि विदा थप्दा मात्रै पनि त्यो समस्याको समाधान हुँदैन । समस्याको समाधान भनेको सरकारले दिने दुई चार विदा बाहेक अरु सबै विदा कर्मचारीहरुलाई दिइने भैपरी आउने विदा र पर्व विदामा गाभ्ने । यस्को सही व्यवस्थापन गर्न सकेको अवस्थामा कतिपय पर्वका बखत पनि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, अड्डा अदालतहरु आंशिक रुपमा खुल्न सक्ने अवस्था रहन्छ । त्यस्तो समयमा कसैले दसैँमा आफूले पाउने विदा खर्च गरेर लामो विदा लेलान्, कसैले तिहारमा, कसैले इदमा, कसैले क्रिसमसमा, कसैले लोसारमा, कसैले कृष्णाष्टमी वा इन्द्रजात्रा वा फागू पूर्णिमामा । बाँकी विदा नलन पर्नेहरुले अफिसमा गएर काम गर्न सक्छन् । के यस किसिमले यस्ता सार्वजनिक विदाहरुलाई विदा दिन सकिँदैन ? यतातिर पनि त सोच्न सकिन्थ्यो ।