निरन्तर षड्यन्त्र नगर्न पूर्वराजाको चेतावनी

Home Feature

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुुख फोड्यो कि कुकर्ममा पल्केका नेताहरुको ढयाङ्ग्रो ठोकिन्छ । किनकि बिना जग बनाएको घर र पातलो लोटा जुनसुकै बेला भत्किन र प्वाल पर्न सक्छ । त्यसैले त घर बनाउँदा जग बलियो बनाउनु भनिन्छ । अनि दैनिक प्रयोग गरिने लोटा बाक्लो हुनुपर्ने बूढापाकाको कथन छ । नभन्दै बिना जगको गणतन्त्र कतिबेला ढल्छ पत्तो छैन । अनि त्यसका सिकर्मी शीर्ष नेताहरुको सातो गइरहन्छ । पूर्वराजाको सानो मात्र आवाजले पनि उनीहरु अताल्लिन थाल्छन् । त्यसैले त पूर्वराजाले सात मिनेट बोल्दा नेताहरुको राजनीतिक करियरमा सात रेक्टर स्केलको भूकम्प गइहाल्छ ।
यही परिस्थितिबीच गत बिहीबार पूर्वराजाबाट नेताहरुलाई अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिइएको छ । भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा पूर्वराजाबाट शीर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिइएको हो । अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको भनी पूर्वराजाबाट सचेत पारिएको छ । पूर्वराजा शाहबाट देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताइएको छ । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभुति भएको पनि बताइएको छ ।
पूर्वराजाबाट सम्बोधनका क्रममा भनिएको छ, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूति गरेका छन् । हामी झनै परनिर्भर, परावबलम्वी बन्दै गइरहेका छाँै ।’
सम्बोधनका क्रममा पूर्वराजाबाट अगाडि भनिएको छ, ‘सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छाँै । हामी अब एकै ठाउँमा उभौँ । घृणाले घृणाको आगोलाई कतै जलाइदिऔँ । पहिले यो आगोलाई मिलेर निभाइदिऔँ । भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिऔँ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? अब अन्याय, अत्याचार मुक्त गरिदिऔँ । अनुहार फेरि फेरि षड्यन्त्र नगर । त्यस्ताको चालबाट चालबाट आफूलाई बचाऔँ ।’
पूर्वराजा शाहबाट सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताइएको छ । पूर्वराजा शाह पुस ८ गते भैरहवा गएपछि लुम्बिनीका विभिन्न जिल्लामा निरन्तर नागरिक अभिनन्दनको सम्मान भइरहेको छ । पूर्वराजाबाट दलका नेताहरुलाई ‘आफू जहाँ जहाँ गयो राजा आउ देश बचाउ भनेर किन भनिरहेका छन् ?’ भनी प्रश्नसमेत गरिएको छ । हुन पनि कुनै नेता कुनै कार्यक्रममा गयो भने कहिँ कतै सम्मान हुँदैन । तर पूर्वराजा जहाँ गए पनि ‘राजा आउ देश बचाउ’ भनेर नारा घन्किने गर्छ । यो भनेको पातलो लोटाको पिँध चुहिने हुनु नै हो । कमजोर जगमा बनेको गणतन्त्रको आयु सकिने अवस्थामा पुग्नु हो । दलका नेताहरु गणतन्त्रलाई सुधार गर्नका लागि सुशासनमा रहेर भ्रष्टाचार शून्य बनाइ विकास नै गर्नुपर्ने हो । तर प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मले कहाँबाट दुई पैसा लुट्न सकिन्छ भनेर लागेकै कारण आज मुलुक यो अवस्थामा आइपुगेको हो । पूर्वराजा एक महिने उपत्यका बाहिर बसाइका क्रममा वीरगञ्ज पनि पुग्ने कार्यक्रम रहेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।