काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रहरीको हिरासतमा बसेका छन् । उनलाई फरक नागरिकता नम्बर प्रयोग गरेको आरोपमा थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो । प्रहरीले काठमाडौँमा पक्राउ गरी धनुषा प्रहरीलाई बुझाइ अनुसन्धान थालिएको हो । प्रहरीले पटक–पटक समय थप गरी अनुसन्धानलाई जारी राखेको छ । गत मंगलबार नागरिकताका बारेमा अनुसन्धान गर्न उनलाई पक्राउ आदेश जारी भएको थियो । उनी काठमाडौँमा भएकाले धनुषा प्रहरीले काठमाडौँमा सम्पर्क ग¥यो ।
एसएसपी सानुराम भट्टराईको नेतृत्वमा कैलाशलाई प्रहरीले नियन्त्रणमा लिएर मंगलबार साँझ धनुषा लगेको थियो । कैलाशलाई प्रहरीले कान्तिपुरको कार्यालयबाटै नियन्त्रणमा लिएको हो । यसको विरोध भने राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मै भएको छ । विश्वमै प्रेसभित्र छिरेर कसैलाई पनि प्रहरीले पक्राउ गर्दैन । तर यो हुनुमा सिरोहियाको घटनामा प्रहरी दोषी पनि हैन । प्रहरीले बाहिरबाट हेर्दा गल्ती गरेको भए पनि अन्य प्रावधान बिर्सेर प्रहरीले त सिरोहियालाई नै सहयोग गरेको हो । कारण के भने एसएसपी भट्टराईले फोनमा सम्पर्क गरेर नियन्त्रणमा लिनु पर्ने भयो कहाँ आउँ भनेर सोध्दा म कान्तिपुरमै हुन्छु आउनुस् न भनेर कैलाशले भने । कैलाशको यही भनाइलाई शिरोपर गर्दा अहिले प्रहरी आलोचित भएको छ । भलै प्रहरीलाई पक्राउ गर्न निर्देशन दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आज्ञा कुर्ने गृहमन्त्री रवि लामिछाने र सल्लाह दिने एमाले अध्यक्ष केपी शर्मा ओली खराब होलान् भएकामा दुई मत छैन । तर प्रहरीलाई यो घटनामा मुछ्नु १६ आना गलत छ ।
किनकि जोसुकैको विषयमा रिट परेपछि उसमाथि अनुसन्धान गर्ने र अनुसन्धानपछि थप पुष्टिका लागि निश्चित समयका लागि पक्राउ गर्ने अधिकार प्रहरीलाई छ । प्रहरीले अदालतकै आदेश पालना गरेको छ । अर्कातिर आफ्नो फाइदाका लागि जस्तोसुकै कदम चाल्ने र फेक समाचार प्रकाशन गर्ने मामलामा कैलाश सिरोहियालाई कसैले भेट्न सक्दैन । उनको यो कदम उनले कान्तिपुर खोलेदेखिकै भएको दाबी उनी निकटकाहरु बताउने गर्छन् । किनकि कैलाशले मिडिया खोल्नुअघि व्यापारै गर्दथे । व्यापारी फाइदा हेर्छ । उनले मिडिया खोलेर सेवा हैन व्यापार नै गरेका हुन् ।
उनको चरित्रका बारेमा एक गम्भीर आरोप पनि छ । २०५८ सालमा जब दरबार हत्याकाण्ड भयो तब त्यतिबेला सिरोहिया र कान्तिपुरका तत्कालीन प्रधान सम्पादक युवराज घिमिरेले नराम्रो र घृणित अवस्था सिर्जना गरेका थिए । भूमिगत अवस्थामा रहेको विद्रोही माओवादीका नेता डा. बाबुराम भट्टराईलाई सिरोहिया र घिमिरे मिलेर प्रयोग गरेका थिए । त्यतिबेला सिरोहिया र घिमिरेले डा. भट्टराई सामु गएर उनलाई दरबार हत्याकाण्ड ज्ञानेन्द्र शाहले गराएको हो भनेर विज्ञप्ति निकाल्नुप¥यो र लेख पनि लेख्नुप¥यो भनेर आग्रह गरेका थिए । सोअनुसार भट्टराईले एउटा लेख नै लेखेका थिए । उनले जनभावनासँगको अन्तर्वार्तामा यो कुरा खोलेका थिए ।
यसरी हुँदै नभएका कुराहरुलाई नयाँ मोड दिएर स्वार्थ लुट्नमा कान्तिपुर पहिलेदेखि नै माहिर रहेको छ । कैलाशलाई पक्राउ गर्नका लागि प्रहरी कान्तिपुरमा गत मंगलबार छिर्नासाथ तिनै पूर्व प्रधानसम्पादक घिमिरे कान्तिपुरको कार्यालयमा हान्निएर पुगेका थिए । अनि उनले यो सरकार पतनको बाटोमा लागिसकेको उद्घोष गरेका थिए । हो, फेरि पनि प्रक्रिया ठीक भएन होला । रवि लामिछानेको सहकारी प्रकरणको दाग कुनै पनि हालतमा छोप्न सकिँदैन । उनी आफैँका दुई नागरिकता
र दुई पासपोर्टको आरोपमा हिरासतमा बस्न बाँकी होला । त्यो तपशिलको कुरा भयो । तर कैलाशलाई प्रहरीले समाउनै नहुने भन्ने होइन । उनको बदमासीले उनलाई हिरासतमा लगेको हो । रविले रिस साँधे होलान् । रविको समाचार त अरुले पनि लेखेका छन् । अरु त सुरक्षित छन् । त्यसको कारण हो अरुका कुनै कैलाशका जस्ता फण्डा भेटिएका छैनन् । कैलाशको हिरासतलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा लगेर जोड्न थालियो भने त्यो दुर्भाग्य हो । उनी निर्दोष भए आजैदेखि पुनः इज्जतिलो भएर अगाडि आउन सकिहाल्छन् । तर उनको हर्कत भने समाप्त हुनुपर्छ । नत्र पत्रकारिता अझ बढी बदनाम हुन जान्छ । इमानदारीका साथ पत्रकारिता गर्नेहरूलाई बेइमानीको ट्याग लाग्नु हुँदैन ।