ओली–देउवा मिलन किन ?
काठमाडौँ । नेपाली राजनीतिमा विपक्षी दलका नेताहरुको दोस्ती सबैभन्दा मजबुत शेरबहादुर देउवा र केपी शर्मा ओलीको रहेको छ । मुख्य दुई दलका प्रमुख रहेपनि आपसमा भने एकले अर्कालाई हिलो छ्याप्ने काम गर्दैनन् । धेरेको अनुमान छ कि महाकाली नदीमा भएको षड्यन्त्रमा देउवा र ओली मिलेका थिए । त्यही कारण नै एकले अर्कालाई कहिल्यै हिलो छ्याप्ने काम नगरेको दाबी गरिएको हो । त्यसो त नेपाली राजनीति पछिल्लो डेढ वर्षमा निकै अस्थिर छ । यो अवधिमा केन्द्रविन्दुमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दुई ठूला पार्टीहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई पटक–पटक धोका दिएका छन् ।
धेरै नै धोका खाएपछि अहिले भने धोका पाएकाहरूले ‘सर्जिकल स्ट्राइक’ गरेसँगै प्रचण्ड रनभुल्लमा परेका छन् । कांग्रेस र एमालेले संविधान संशोधनलाई प्रमुख मुद्दा बनाएर सत्ता सञ्चालनका लागि सहमति गरेका छन् । गत फागुनमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सुटुक्क मिल्न पुगेका प्रचण्डले कांग्रेस–एमाले दुवैलाई पटक–पटक धोका दिएका छन् । २०७९ को गठबन्धनमा कांग्रेससँग मिलेर चुनाव लडेका प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि २०७९ को पुस १० गते कांग्रेससँग टाढिएर एमालेसँग मिलेका थिए । त्यसपछि राष्ट्रपति निर्वाचनमा एमालेलाई छाडेर कांग्रेससँग मिल्ने पुगे ।
त्यहाँ एमालेलाई गम्भीर धोका भएको थियो । यसरी कांग्र्रेससँग मिल्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्रीको भागबण्डा गरिएको थियो । तर एक वर्ष पुग्दा नपुग्दै २०८० फागुन २१ मा एमालेसँग समीकरण गर्न आइपुगेका प्रचण्डले कांग्रेसलाई दोस्रो पटक धोका दिएका थिए । २०८० फागुन २४ मा कांग्रेस सांसद रमेश लेखकले संसदमा बोल्ने क्रममा भनेका थिए, ‘प्रधानमन्त्रीबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने प्रधानमन्त्रीको हालत के होला ?’ उनले त्यतिबेला प्रचण्ड कसकसलाई धोका दिएको विषय नेकपा एमालेले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेको पढेर सुनाएका थिए ।
‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरूको इच्छापूर्ति गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । यो मेरो कुरा हैन दस्ताबेजबाट लिएको । गठबन्धन
भत्कँदा लेखिएको रहेछ, ‘माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामीमाथि पटक पटक धोका भएको छ ।’ भनेर लेखेको छ । यसलाई कसरी लिनुहुन्छ । पार्टीहरूले आफ्नो दस्ताबेजमा त लेख्दो रहेछ त,’ उनले भनेका थिए ।
उनले त्यतिबेला प्रधानमन्त्रीले धोका दिन कुनै दल बाँकी नभएकोसमेत उल्लेख गरेका थिए । ‘अब म के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेनन् । तर एकचोटी सोच्नु, यी धोका पाएकाहरू तपाईँको विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, ख्याल गर्नुहोला,’ लेखकले भनेका थिए । त्यसैगरी प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिप्रति लक्षित गर्दै कुरा पनि नचल्ने भनेर व्यंग्य गरेका थिए । त्यही विषयलाई लिएर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कुरा चल्न शुरु भयो भने यात्रा कहाँ पुग्ला ? भनेर प्रश्न गरेका थिए । ‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले । तलबाट हाम्रा सभापतिले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न शुरु भयो भने यहाँको यात्राचाहिँ कतातिर चल्छ होलार ? सम्माननीय प्रधानमन्त्रीज्यू’, महामन्त्री शर्माले भनेका थिए । कांग्रेस, यी र यस्तै भनाइले एमालेलाई सम्झाइरहेको थियो । अन्ततः केही समयपछि कांग्रेसका पहिलो र दोस्रो तहका नेताहरू एमालेका पहिलो र दोस्रो तहका नेताहरूसँग निरन्तर छलफलमा रहे । अन्नतः उनीहरूले संविधान संशोधनसहितको मुद्धामा शीर्ष नेताहरूलाई एक ठाउँमा उभ्याए ।
प्रतिनिधि सभामा उपस्थितिका हिसाबले पहिलो कांग्रेस र दोस्रो एमालेलाई धोका दिएर सत्ता लम्ब्याउँदै आएका प्रचण्डले केही दिनअघि आफ्नो पार्टीको जादूमयी नम्बर रहेकाले कोही कसैले पनि सत्ताबाहिर राख्न नसक्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको त्यही अभिव्यक्तिपछि पछिल्लो पटक एमाले र माओवादीको सहकार्य भएको चार महिना नपुग्दै प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिन तयार भएका भए । ठूला दुई दलबीच भएको यो सहमतिबाट प्रधानमन्त्री प्रचण्डलाई अघिल्लो पटक आफूले धोका दिएको स्मरण मात्र गराएको छैन, धोका दिँदाको परिणाम ठूला दलको सहकार्यले साना दल मिचाहामा पर्नसक्ने शंकाको सुविधासमेत दिएको छ । प्रचण्ड एमालेसँग नमिल्दा कांग्रेससँग टाँसिने र कांग्रेससँग बार्गेनिङ गर्न परे एमालेसँग जोडिँदै आएका थिएर । उनले प्रतिनिधि सभामा माओवादीको ३२ सिटलाई ‘आफ्नो नम्बरको जादू’ बताउँदै कोही कसैले पनि हल्लाउन नसक्ने बताउँदै आएका थिए । योसँगै कहिले कता र कहिले कता ढल्केर पाँच वर्ष सरकारमा रहिरहने प्रचण्ड नीतिमा ब्रेक लागेको छ ।
उनले २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । तर पछारिने निश्चित छ । पहिलो पटक प्रचण्डले संसदमा विश्वासको मत लिँदा लगभग शतप्रतिशत मत परेको थियो । २०७९ पुस २६ गते प्रचण्डले प्रतिनिधि सभाबाट करिब शतप्रतिशत विश्वासको मत पाएपछि हौसिएर एमालेलाई धोका दिइ कांग्रेससँग टाँसिन पुगेका थिए । कांग्रेससँग रहँदा सधैँ एमालेलाई देखाएर कांग्रेसलाई दबाबमा राखिरहेका थिए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउने कसरत थालेको भन्दै कांग्रेसँग टाँसिन पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएको र नयाँ राष्ट्रपति चयन गर्नुपर्ने अवस्थामा प्रचण्डले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेर निर्वाचित गराउन सफल भए । आफूलाई प्रधानमन्त्री पनि नदिने र राष्ट्रपति पनि नदिने अडान लिएको कांग्रेसको धोका बिर्सिएर प्रचण्डले कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपति प्रस्तावदेखि निर्वाचितसम्म गर्न सघाएपछि एमालेले सत्ता छाडिदियो ।
यसको एक वर्ष प्रचण्डले कांग्रेसलाई एमाले देखाएर निरन्तर तर्साउने र दबाब सिर्जना गर्न थाले । एक वर्षपछि फेरि एमालेसँग लहसिन पुगेपछि दोस्रो पटक पनि धोका पाएको कांगे्रसले शेरबहादुर देउवा समक्ष प्रधानमन्त्रीको प्रस्तावसहित पुगेका प्रचण्डलाई देउवाले विश्वास गर्ने आधार देखेनन् । त्यसकै परिणाम एमाले र कांग्रेस सहकार्य गर्ने दिशामा उन्मुख भए ।