नीति–सिद्धान्त नमिल्नेसँगको गठजोडले मतदाता निराश

Home Feature राजनीति

गठबन्धनविरुद्ध स्थानीय नेताहरु


काठमाडौं । निर्वाचन आयोगले गठबन्धन चिन्दैन । कुनै पनि दलको अर्को दलसँग तालमेल चिन्दैन । तर कुनै पनि दल छैनन् जसले एकल उम्मेदवारी दिएर देशैभर जित्ने हैसियत राखेको होस् । कहीँ न कहीँ तालमेल गरेकै छ । तर त्यो तालमेल र गठबन्धन केबल फाटेको जामाजस्तो देखिएको छ । सिद्धान्त एकातिर र मत हाल्नुपर्ने अर्कातिर भएपछि मतदाता पनि निराश छन् । कार्यकर्ताको कुरै छाडौं । साँच्चिकै फाटेको जामाजस्तो भएको छ सत्ताधारी पाँच दलीय गठबन्धनमा पनि । केन्द्रमा गरेको चुनावी गठबन्धनविरुद्ध स्थानीय नेताहरू विपक्षमा उभिएका छन् ।
जसले गर्दा केन्द्रलाई यता टाल्दा उता च्यातिने र उता टाल्दा अर्कोतिर च्यातिने भइरहेको छ । आखिर न सिद्धान्त मिल्छ न विचार मिल्छ । सीमित नेताहरुबीच मिलेको स्वार्थले धेरै दिन टिक्ने त प्रश्नै छैन । त्यसैले त भरतपुर, पोखरा र वीरगन्ज महानगर तथा हेटौंडा र जनकपुर उपमहानगर प्रमुखको उम्मेदवारी छाडेको भन्दै कांग्रेस कार्यकर्ताले बागी उठ्नेदेखि पार्टी छाड्नेसम्मको चेतावनी दिइरहेका छन् । भरतपुर महानगरपालिकाको प्रमुख माओवादीलाई दिएकामा असन्तुष्ट कांग्रेस नेता–कार्यकर्ताले चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला लगाएका छन् । यसअघि महानगरको प्रमुख कांग्रेसले लिनुपर्ने लबिङ गर्दै आएका खनाल केन्द्रको निर्णय कार्यान्वयनमा लागेपछि नेता–कार्यकर्ता आक्रोशित बनेका हुन् । भरतपुरको प्रमुखमा दोहोरिन माओवादीकी रेनु दाहालले बिहीबारै पदबाट राजीनामा दिइसकेकी छिन् । मधेसको एकमात्र महानगर वीरगन्जमा कुनै पनि दलसँगको गठबन्धन स्वीकार नहुने निर्णय यसअघि गरिसकेको कांग्रेस महानगर समितिले गठबन्धनको निर्णय सच्याउन माग गरेको छ । काठमाडौं पुगेर सभापति शेरबहादुर देउवालाई आग्रह गर्दा पनि महानगर प्रमुख जसपालाई दिने निर्णय भएको भन्दै स्थानीय नेता–कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।
जनकपुर उपमहानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि कांग्रेसका नगर सभापति मनोज साहले पार्टी परित्याग
गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरमा दोस्रो धेरै मत ल्याएका साह यसपालि आफूले टिकट पाउने विश्वासका साथ चुनावी तयारीमा थिए । तर केन्द्रमा भएको निर्णयले उनको चुनावी दौडधुप रोकिदियो । उनीसँगै नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा १५ का सभापतिलेसमेत राजीनामा गरेका छन् । गठबन्धन साझेदारहरूबीच सहमति जुट्न नसकेपछि मोरङमा चुनावी तालमेल नहुने सम्भावना देखिएको छर । अन्य दलहरूले सांगठनिक हैसियतभन्दा बढी भाग खोजेको आरोप कांग्रेसको छ भने अन्य दलले कांग्रेसको दम्भका कारण तालमेल सम्भव नभएको बताएका छन् । यो त भयो महानगरमा कांग्रेसको कुरा । अन्य दलहरु पनि त्यत्तिकै रुष्ट छन् । उनीहरु आफ्नो पकड भएको क्षेत्रमा आफू एक्लै उठ्ने दाबी गरिरहेका छन् । यसपालि स्वतन्त्र र बागी उम्मेदवार बढ्ने निश्चित छ ।
त्यतिमात्र हैन नयाँ दल नेकपा एकीकृत समाजवादीले त झन् २०७४ मा एमालेले जति सिट जितेको हो त्यो सबै आफूलाई चाहिने बताएको छ । सबै जिल्लामा हैसियत नपु¥याएको भए पनि अध्यक्ष माधवकुमार नेपालले भने सनकका भरमा त्यो अभिव्यक्ति दिएका हुन् । त्यो अभिव्यक्तिको कहीँ कतै पनि फाइदा छैन । एक्लाएक्लै चुनाव लड्ने हो भने नेकपा एसले मुस्किलले पाँच वटासम्म मात्रै पालिका जित्न सक्छ भनिन्छ । सबै भ्रष्टाचारमा लिप्त भएसँगै कसैले पनि राम्रो रुप देखाउन नसकेको दाबी गरिन्छ । एमालेले संविधान नै उल्लंघन ग¥यो, दुई पटकसम्म संसद विघटन ग¥यो, यस्तोलाई जिताएर के अर्थ भन्नेहरु पनि छन् ।
अर्कातिर गठबन्धनलाई गाली गर्ने एमालेले आफूलाई सय किलो र पाँच दललाई एक एक किलो बताउँदै आएको छ । तर दुर्भाग्य राप्रपा नेपाल र परिवार दलसँग सहकार्य गरेको छ । उसको हैसियत पनि स्पष्टै भयो । केबल स्वार्थ मिलेको छ । तर फाटेको जामा तुनिने सम्भावना कम छ ।