कमल थापाको दलीय हैसियत एमालेकै

समाचार

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अर्को दलको निर्वाचन चिह्न लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने बताएका छन् । उनले शनिबार पत्रकार सम्मेलनमा निर्वाचित भएपछि पनि सोही दलको पदाधिकारी हुने बताएका हुन् । उनले कानूनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने बताउँदै जुन दलको चुनाव चिन्हबाट उठेको छ उसको हैसियत त्यही हुने बताए । अहिले गठबन्धन र तालमेल शब्द खुवै लोकप्रिय भएकातर्फ स्पष्ट पार्दै थपलियाले कानूनले यसलाई नचिन्ने बताएका हुन् ।
उनले भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र आयोगमा पठाए कानूनअनुसार हुने पनि बताएका छन् । अर्थात् जुन दलको चुनाव चिन्हबाट उठिन्छ ऊ विजेता भए कार्यकाल अवधिभर त्यही पार्टीको हुनुपर्नेछ । उनले पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जवाफ दिँदै भने, ‘हाम्रो निर्वाचन कानूनमा गठबन्धन भन्ने शब्द छैन । हुँदै नभएको कुरो आयोगले जान्ने कुरा पनि भएन । यसकारण हामी के बुझ्दछौं भने यदि कुनै पनि राजनीतिक दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रका आधारमा उम्मेदवारी दर्ता हुन्छ । उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन कहिले प्रवेश गरेको हो, उसको पार्टीमा के हैसियत छ भन्ने विषय आयोगको होइन ।’ थपलियाले अगाडि भने, ‘त्यसकारण जुन चिन्ह
बाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ त्यही दलको हो भन्ने निधो हुन्छ । यदि कोही स्वतन्त्र रूपमा उम्मेदवार हुन्छ र स्वतन्त्र चिन्हबाट निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट उम्मेदवारी दर्ता गरेर चुनाव जितेर त्यो दल त्याग गरेको अर्को दलमा गएमा वा त्यो दलदले गर्नुपर्ने कामभन्दा विपरीत काम गरेको भनेर त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाइदिनुप¥यो भनेर आयो भने आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।’ पछिल्लो समय साना दलहरूले ठूला दलको चुनाव चिन्ह लिएर उम्मेदवार बनिरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्तको यस्तो अभिव्यक्ति आएको हो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेकपा एमालेको सूर्य चिन्ह लिएर स्थानीय तहमा सहभागी हुने भएको छ । यस्तोमा राप्रपा नेपालका कुनै उम्मेदवारले चुनाव जितेमा उसको दलीय हैसियत नेकपा एमालेकै हुनेछ ।
अर्थात् कमल थापा सूर्य चिन्हधारी हुन् । उनी राप्रपा नेपालका अध्यक्ष भए पनि उनको हैसियत एक एमालेका नेताको बराबर नै हुनेछ । त्यतिमात्र हैन राप्रपा नेपालबाट कसैले सूर्य चिन्हबाट चुनाव जित्छ भने ऊ एमाले नै हो । उसले पाँच वर्षसम्म एमालेकै नेता कार्यकर्ताकै हैसियतमा काम गर्नुपर्ने हुन्छ । उसले म एमाले हैन राप्रपा नेपाल हुँ भन्छ भने उसले राजीनामा दिनुपर्छ । राप्रपा नेपालका एक नेताले जनभावनासँग भने, ‘राजाले फालिहाले । धन्य ओलीले साथ दिए । अब राजसंस्थाको एजेन्डा फालेपछि सधैका लागि एमाले हुँदा पो के फरक भयो र ।’ अर्का एक राजावादी नेता भन्छन्, ‘केपी ओलीसँग पहिलेदेखि नै कमलको राम्रो थियो । ओलीले नै पहिले पहिले सँगसँगै हिँडाल्थे । अब त झन् आधिकारिक रुपमै हिँडाल्ने भए राम्रै भयो कमललाई । कमलको एक्लै हिँड्ने हैसियत सकियो नि अब त ।’