गणतन्त्रमा फस्टाएको गुण्डाराज

Home Feature

काठमाडौँ । सरकारमा गुण्डाराज भए के होला ? सरकार पनि गुण्डाजस्तै हुन्छ र सोझासाझा जनतालाई पिर्नुसम्म पिर्छ । दक्षिण भारतीय चलचित्रमा यस्तै गुण्डाहरु सरकारमा जान्छन् र जनतालाई मुला काटेजस्तै काटेको देखाइन्छ । अनि हिरोको प्रवेश हुन्छ र उसले सबै तह लगाएर देशलाई रामराज्य बनाउँछ । हाम्रो देशमा त चलचित्रको पर्दाजस्तै गुण्डाहरुकै हालीमुहाली चल्ने निश्चित प्रायः छ । गणतन्त्रको उपहार स्वरुप आएको प्रदेश संरचनाले देश कंगाल भइरहँदा तिनै प्रदेशमा अहिले गुण्डाराज चलिरहेको छ । उनीहरुको विगत पृष्ठभूमि गुणडको जस्तो भएर अहिले सच्चिएको भए त ठीकै हुन्थ्यो नि तर अहिले नै गुण्डाराज र मर्यादाको हद पार भएसँगै यसले देखाएको दुर्गतीलाई भने नरोके बरबाद हुने निश्चित छ । गण्डकी प्रदेशमा दीपक मनाङे भनिने राजीव गुरुङ, लुम्बिनीमा बादशाह कुर्मी र रोज राणा भनिने सरोज थापा तथा बागमतीमा मीनकृष्ण महर्जन मन्त्री बनेर । उनीहरूले हत्या, अपहरण, फिरौती असुली, ज्यान मार्ने धम्की, मानव बेचबिखन र हातहतियार खरखजाना जस्ता अपराधमा मुद्दा खेपिसकेका छन् ।
गण्डकीका भौतिक पूर्वाधारमन्त्री मनाङेले आफ्नो संस्कार देखाइदिएका छन् । उनी गन्जी लगाएर कुर्सीमा बसेको तस्बिर शनिबार सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । तस्बिरमा उनले रातो सर्ट फुकालेर छेउमा टाँगेको देखिन्छ । उक्त तस्बिर साउन पहिलो साताको होर । कार्यालय समयपछि आफ्ना हितैषीसँग भेट भएका बेला उनले सर्ट खोलेका थिएर । राति ११ बजेसम्म मन्त्रालयमै बसेर मनाङेको समूहले मदिरा सेवन गरेको एक कर्मचारी बताउँछन् । मनाङ १ (२) बाट दुई पटक स्वतन्त्र रूपमा प्रदेश सांसदमा निर्वाचित मनाङे गण्डकी प्रदेशसभाको पहिलो र दोस्रो
कार्यकालमा तीन–तीनपल्ट मन्त्री भएर । आपराधिक आरोपमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका उनी राजनीतिमा प्रवेश गरेपछि ढुक्क भएका छन् । यद्यपि ज्यान मार्ने उद्योगको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । विवादास्पद र आपराधिक छविका बादशाह कुर्मी र सरोज थापा (रोज राणा) लाई मन्त्री बनाइएपछि लुम्बिनीमा मन्त्रालय बाँडफाँट नै रोकिएको छ । बाँके ३ (२) बाट निर्वाचित कुर्मी र प्यूठान १ (२) का थापासहित आठ मन्त्री बिनाविभागीय छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार नै जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेका थिए तर मन्त्री सिफारिसलाई लिएर कांग्रेसभित्रै विवाद भएपछि सहमति बन्न सकेको छैन ।
नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक तथा हत्या र उनको सम्पत्ति हडपेको कसुरमा बादशाहविरुद्ध ०७७ चैत २० मा बाँके प्रहरीमा जाहेरी परेको थियो । ०७५ माघ २५ गते राति निर्मलालाई बादशाह कुर्मीसहितको समूहले अपहरण गरी उनका नामको सम्पत्ति जबर्जस्ती हक हस्तान्तरण गर्न लगाएर पछि हत्या गरिएको भन्दै उजुरी परेको थियो । प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । लुम्बिनीमै बिनाविभागीय मन्त्री बनेका थापाले दोस्रो पटक यो अवसर पाएका हुन् । विवादकै बीच उनी पहिलो पटक ०८० पुस ७ मा उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । आवरणमा चलचित्र निर्माता र निर्देशकका रूपमा चिनिए पनि उनी मूलतः गुन्डागर्दीमा सामेल थिए । उनी विभिन्न कसुरमा ५ पटकसम्म पक्राउ पर्दै छुटेका व्यक्ति हुन् ।
वागमती प्रदेश सरकारका खेलकुदमन्त्री मीनकृष्ण महर्जन ०५६ पछि कांग्रेस राजनीतिमा सक्रिय भएका हुन् । सितेरियो करातेका खेलाडी उनलाई कांग्रेसमा भित्र्याएर सिधै तरुण दलको केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । ०७० माघमा महर्जनमाथि सुजन पौडेलको समूहले धापाखेलमा गोली प्रहार गरी घाइते बनाएको थियो । त्यति बेला उनी कांग्रेस महासमिति सदस्य थिए । आपराधिक लेनदेन र साँठगाँठ भत्किएकै कारण उनीमाथि गोली हानिएको खुलेको थियो । ललितपुरका विभिन्न स्थानका ढुंगाखानीमा अवैध दोहनदेखि असुली र गुन्डागर्दी गरी सार्वजनिक ठेक्का हत्याउनेसम्मका गतिविधिमा उनी संलग्न रहँदै आएका थिए । उनी ०७९ को निर्वाचनमा ललितपुर १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । ,यसै त प्रदेशमा विवाद छ । त्यसपछि यो किसिमको चरित्र हावी हुँदा मुलुक सुखमय बन्छ भन्ने आधार छैन । जब कुनै गुन्डा मन्त्री बन्छ उसले आफ्नो पृष्ठभूमि त भुलेको हुँदैन । त्यस्तो व्यक्तिले आफ्नो रुप देखायो भने के होला ? फेरि उसलाई थर्काइ थर्काइ खाने बानी परेको हुन्छ । उसलाई नियन्त्रणमा कसले लिने ?