रविलाई पक्रिन केको समस्या ?

Home Feature

काठमाडौँ । सहकारी प्रकरणमा मुद्दा दर्ता भए पनि अहिलेसम्म पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने आँट गर्न सकेको छैन । देशका ठूला सहकारी ठगी प्रकरणमा अत्यधिक चर्चा कमाएका र सहकारी ठगी प्रकरण सम्बन्धी गठित संसदीय विशेष छानबिन समितिबाट सहकारी ठगीमा दोषी देखाइ कारबााहीको सिफारिसमा परेका रविलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको हो । लामिछाने अरुलाई दोष लगाउन र आफू जोगिन निकै खप्पिस देखिन्छन् । उनी आफू उपर कारबाहीको सिफारिस हुँदासमेत मलाई छानबिन समितिले क्लिन चिट दियो, न्याय ग¥यो भन्दै उफ्रिरहेका बेला प्रहरीले उनलाई पक्राउ गर्न खोजेपछि पार्टी कार्यालयमा आफ्ना भक्तजनहरूलाई अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गर्दै प्रहरीसँग मुठभेड गर्न खोजिरहेका छन् ।
यतिमात्रै होइन लामिछानेले नेपाली कांग्रेसका सभापति तथा महामन्त्रीले राजनीतिक प्रतिशोध साँध्नकै लागि आफूलाई फसाउन खोजेको आरोपसमेत लगाइरहेका छन् भने आफू उम्कन प्रधानमन्त्री लक्षित टिप्पणीमा अमेरिकाबाट आँखा नसन्काउनु, म कोठा मिलाउँछु, नेपालमा आएर कुरा गरौँ भन्नसमेत बाँकी राखेका छैनन् । यदि उनी आफूमाथि लागेका सबै आरोपमा निर्दोष छन् भने यस्ता कुकृत्य गरिरहनु जरुरी देखिँदैन । पछिल्लो घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले लामिछानेलाई तत्काल प्रहरीलाई बुझाइदिन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन् कि ‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो, तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो, हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, किनकि कानून भन्दा माथि कोही हुनुहुँदैन भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्, अहिले विधिको शासन स्थापना गर्ने बेला हो, ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो, कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन । यो तर्क लामिछानेको हकमा मात्रै नभई दोषी देखिएका सबैलाई लागू हुनुपर्दछ ।’
रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि यस विषयमा प्रश्न गरेकै कारण ढकाल महामन्त्रीबाट निलम्बित भएका थिए । लामिछानेमाथि सहकारीको अर्बौं रकम अपचलन गरेको आरोप छ ।
गृहमन्त्रीको निर्देशन लगत्तै सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन
सञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । अब उस्तै प्रकरणमा जोडिएका लामिछाने राजनीतिक आवरणमा उम्कने र अन्य व्यक्तिहरू कठघरामा उभिनुपर्ने गरी अन्यायपूर्ण व्यवहार गरिनु हुँदैन । लामिछानेसमेत मुछिएको सहकारी ठगी मुद्दामा केही व्यक्तिहरू एक वर्ष अगाडिदेखि कारागारमा कैदी जीवन बिताइरहेका छन् । साधारण मानिएका ती व्यक्तिहरू कहिले र कसरी जेलमुक्त हुन्छन् ? यस विषयमा गम्भीर अनुसन्धान हुनु जरुरी छ । आफूलाई प्रहरीले पक्राउ गर्ने आशंकामा लामिछानेले काठमाडौ उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरूलाई गत साताको आइतबार पार्टी कार्यालयमा बोलाएर रातको ११ बजेसम्म भीड लगाए । शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पनि रविले चितवन जिल्ला अदालत परिसरमा ठूलो भीड लगाएरै अदालतलाई प्रभावित बनाएका थिए र अहिले पनि उनी त्यही बाटोमा छन् । लामिछानेले आफूलाई पक्राउ गर्ने विषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयारी नभएको जानकारी पाए पनि सरकारको कुनै भरोसा नभएकाले सतर्क अवस्थामा बस्न कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । के एउटा व्यक्ति बचाउनका लागि समग्र पार्टी, विधि तथा पद्धती नै सती जानुपर्ने हो ?
लामिछाने प्रबन्ध निर्देशक रहेकै समयमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रूपैयाँ गैरकानूनी रूपले गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । यतिमात्रै नभइ उनले कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने, कसैको राजनीति बचाइदिनका लागि मैले प्रतिशोधको सामना गर्नुपर्ने जस्ता सवाल जवाफ गरिरहेका छन् । के उनी कानून भन्दा माथि छन् वा हुनुपर्दछ ? छानबिन समितिको प्रतिवेदन र सरकार लामिछाने दोषी देखिए भन्छ । तर उनी प्रतिवेदनले ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नदेखाएको भन्दै आफू निर्दोष रहेको बताउँछन् । सहकारी ठगीका प्रमुख मानिएका फरार व्यक्ति जीबी राईको नेतृत्वमा सहकारी डुब्नुमा रवि लामिछाने मुख्य जिम्मेवार रहेको भनी यसै प्रकरणमा कास्की कारागारमा थुनामा रहेका कुमार रम्तेलले छानबिन समितिमा बयान दिएका छन् । यस सन्दर्भमा रूपन्देही जिल्ला अदालतमा दायर भएको बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगपत्रमा रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कमा करोडौँ रूपैयाँ गएको स्पष्ट उल्लेख गरिएको छ ।
खासमा अहिले लामिछानेलाई समितिको प्रतिवेदन कार्यान्वयन तथा उनीविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजिएको हो । लामिछाने फरार हुनसक्ने शंकाका कारण प्रहरीले उनलाई विशेष निगरानीमा राखेकाले उनी जुनसुकै बेला पक्राउ पर्न सक्छन् । किनकि यतिधेरै प्रमाणहरू सार्वजनिक भइसकेपछि पनि उनले उन्मुक्ति पाउने हो भने मुलुकमा विधिको शासन नभएको स्पष्ट हुन्छ । खासमा रवि लामिछाने निर्वाचनमा उम्मेदवार नै बन्न नपाउने व्यक्ति थिए । तर पुराना दलहरूको लाचारीपनले उनी दुई पटकसम्म गृहमन्त्री हुन भ्याए । यसैको कारण यतिधेरै विवाद आइसकेपछि पनि लामिछानेको विवादास्पद व्यक्तित्वलाई शिरमा पहिरिएर अगाडि बढिरहेको रास्वपा पंक्तिले राजनीतिक भविष्य जोखिममा पार्यो । अनेकौँ विवादमा फसेका लामिछानेलाई शक्तिको बागडोरमा बसेर आफू विरुद्धका आरोपलाई किनारा लगाउन सकिन्छ भन्ने लागेरै सत्तारोहण प्राथमिक विषय बन्यो । फलस्वरूप छोटो समयमै लामिछानेले सत्ताप्रति देखाएको अधिक मोहले आमजनताको आशा र भरोसालाई मात्रै होइन उनलाईसमेत कमजोर बनायो । त्यसो त रवि संकटको मुख्य कारक आफैँ हुन् । उनी प्रारम्भदेखि नै सामाजिक, नैतिक, राजनीतिक र कानूनी रूपमा प्रश्नहरूको घेराबन्दीमा परेका विवादित पात्र हुन् । एकैपटक दुई देशको राहदानी प्रयोग गरेका कारण फौजदारी आरोप खेपिरहेका छन् । त्यसमा आफ्नै सहकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन त छँदैछ । दुई ओटा राहदानी तथा नागरिकता, पछिल्लो आमनिर्वाचन तथा उपनिर्वाचन गरी दुईपटक निर्वाचित र दुईपटक नै गृहमन्त्री हुँदै पदीय दुरुपयोग पनि जोडिन्छ । अब यिनलाई कानून थाहा छैन भनेर हैन कि अपराध गरेर बच्नका लागि राजनीति गरेको आरोप लगाउँदा केही फरक नपर्ला । यति हुँदा पनि प्रहरी भने रविलाई पक्रन किन समस्या देखिरहेको छ भन्ने चासो ब्याप्त छ ।