एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल तीव्र

Home Feature

ओली–प्रचण्ड गठबन्धनको गृहकार्य


काठमाडौं । आगामी सरकार कसको नेतृत्वमा बन्छ भन्नेबारेमा अहिले तीव्र बहस भइरहेको छ । नेताहरु आफ्नो पक्षमा लबिङ गर्दै हिँडिरहेका छन् । मौकामा चौका हान्नका लागि सधै अन्य पार्टीको बुई चढेर हिँड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कान ठाडा पारेका छन् । खुट्टा उचालेका छन् । सशस्त्र द्वन्द्वलाई निष्कर्षमा पु¥याउनका लागि भन्दै १७ हजारको ज्यान लिएर पनि कुनै हिनताबोध नगरेका प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नका लागि निकै नै दौडधुप गरिरहेका छन् । पहिलेको असफल गठबन्धनलाई फेरि सफल बनाउन भन्दै उनका नेताहरु दौडिरहेका छन् ।
प्रसङ्ग हो माओवादी र एमालेको अपवित्र गठबन्धन । सरकार निर्माणको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका नेताहरुबीच औपचारिक अनौपचारिक भेटघाट र छलफल तीव्र भएको छ । छलफलको क्रममा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमासमेत छलफल गर्न तयार भएको छ । ‘सरकार गठनको विषयमा विभिन्न विकल्पहरुबारे छलफल गर्न एमाले तयार छ’, एमालेका एक उच्च नेताले भने । विगत पाँच दिनदेखि ललितपुरमा रहेको एक होटलमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच गोप्य भेटघाट हुने गरेको स्रोतको दाबी छ । ‘केही दिनदेखि ललितपुरस्थित एक होटलमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच नियमित भेटघाट भैरहेको छ’, एमालेका ती नेताको दाबी छ ।
उनीहरुबीच छलफल चलेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । ओली र गुरुङबीच आगामी सरकार निर्माण वामपन्थीहरुबीच सहयोग र सहकार्य जस्ता विषयमा छलफल भएको थियो । उनले माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग भेटघाट गर्न चाहेको सन्देश पनि दिएका थिए । कहिले र कहाँ कसरी भन्ने बारेमा समय तालिका पछि तय गर्ने गरी गुरुङ बालकोटबाट छुटेका थिए । उनीहरुको भेटघाट सकिएपछि प्रचण्डले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको नेतृत्वमा पुग्न लागेको बताएका थिए । कास्कीस्थित अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्सव कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका थिए ।
‘म मेरो जन्मथलोमा आइपुग्दाको हर्ष शब्दमा व्यक्त गर्न सक्दिनँ । मसँग अब धेरै वर्ष छैन । तपाईंहरुको आशीर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, उनले भने, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मलाई तपाईंहरुले छिट्टै देशको नेतृत्व लिएको देख्नु हुनेछ ।’
उनले आफ्नो पहिलो कार्यकाल विधि र प्रक्रिया सिक्दैमा बितेको पनि बताएका थिए । ‘मेरो पहिलो कार्यकाल राम्रोसँग काम गर्न नसक्दै बित्यो । विधि प्रक्रिया पनि राम्ररी बुझ्नै पाइनँ, दोस्रो कार्यकाल मैले देशका लागि केही महत्वपूर्ण काम गरेँ भन्ने लागेको छ ।’ उनले त्यसो भन्दै गर्दा यता ललितपुरस्थित होटलमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच बुधबार पनि छलफल भएको थियो । अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा मधेश, पहाड र हिमाललाई एकढिक्का बनाएको बताएका थिए । ‘त्यसबेला देशमा के होला भन्ने थियो । तर मैले सिंगै देशलाई लोकतान्त्रिक प्रक्रियामा लैजाने भूमिका खेल्न पाएँ’, उनले भने, ‘आर्थिक विकासलाई गति दिने काम गरेँ । दोस्रो कार्यकालमा देशलाई एउटा बाटोमा लैजान सफल भएँ र अबको कार्यकालमा देश विकासको नेतृत्व गर्ने छु ।’ माओवादी अध्यक्षको दूतको रुपमा बालकोट पुगेका गुरुङलाई एमालेका शीर्ष नेताहरुले एमालेलाई देखाएर कांग्रेससँग बार्गेनिङ गर्न खोजेको आशंका गरेका छन् ।
उनीहरुले माओवादी अध्यक्षले कांग्रेससँग आधा आधा कार्यकालको सरकार बनाउने र शुरुकै अवस्थामा आफू प्रधानमन्त्री बन्नका लागि एमालेसँग पनि सहकार्य हुनसक्छ भनेर कांग्रेसलाई देखाउन चाहेको आशंका गरेका हुन् । तर नेकपा विघठन भएपछि एमाले र माओवादीका नेताहरुबीच यसरी भेटघाट नभएको अवस्थामा गुरुङको बालकोट प्रवेशलाई भने सकारात्मक मानेका छन् । एमाले अध्यक्ष ओलीले निर्वाचन परिणाम आएपछि पहिलो पटक प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । यसपछि माओवादी नेताहरु एमालेका नेताहरुसँग अनौपचारिक संवादमा रहेका थिए । उनीहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षलाई भेट गराउने कोसिस गरिरहेका छन् । संसदमा गैर वामपन्थीहरुकोसमेत बहुमत पुग्ने अवस्था रहेकाले माओवादीले पनि एमालेसँगको सहकार्यलाई सहज रुपमा लिने र त्यसको प्रचारबाजी गर्न चाहिरहेको छ । निर्वाचनपछि बसेको माओवादी बैठकले एमालेसँग सरकारमा सहकार्य गर्न सक्ने गरी निर्णय गरेर कांग्रेसलाई तर्साउने खोजिरहेको छ । ‘कांग्रेसभित्रको आन्तरिक समस्यासँग माओवादी जानकार रहेको र त्यसलाई मत्थर बनाउँदै धेरै भन्दा धेरै सिट लिएर सरकारमा जाने र पहिलो कार्यकाल आफ्नै नेतृत्वमा सरकार बनाउने योजना माओवादी अध्यक्षको योजना रहेको छ’, माओवादीकै एक नेताले भने ।
पछिल्लो पटक एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराईलगायत नेताहरुले माओवादीका नेताहरुसँग छलफल गरिरहेको स्रोतको दाबी छ । प्रचण्ड निर्वाचित भए लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताले समेत फोन गरेर शुभेच्छा प्रकट गर्दै संवादको वातावरण तयार गरेका थिए । निर्वाचनको स्पष्ट नतिजा आएपछि एमालेका रघुवीर महासेठ लगायतका नेताहरु खुमलटार पुगेर प्रचण्डसँग वाम गठबन्धन र सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । अहिले त्यसकै बलमा प्रचण्डको चुरीफुरी बढेको छ । वाम गठबन्धन कि सत्ता गठबन्धन भन्नेमा प्रचण्ड अलमलमा छन् । जसले आफूलाई प्रधानमन्त्री बनाउँछ त्यतै जाने दाउमा प्रचण्ड छन् । तर प्रचण्डको स्वार्थलाई तहसनहस पार्न कतै कांग्रेस र एमाले मिले भने सबै कुरा तमाम हुनेतर्फ भने कसैको ध्यान गएको छैन ।