ट्राफिक समस्याको समाधान के ?

Home Feature समाचार

काठमाडौं उपत्यकाको सडकमा आजभोलि रमिता देखिन्छ । रमिता हेर्न कतै जानै पर्दैन, थापाथली, महाराजगंज, चावहिल, गौशाला, कालिमाटी, कलंकी, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायतका थुप्रै ठाउँहरुमा पुगे काफी हुन्छ । त्यहाँ तीस मिनेट बस्दा बीसौंचोटि गाडि रोकिएको पाइन्छ । लाग्दछ गाडी गुडिरहेको छैन । कसैले पछाडिबाट धकेलेर गाडी चलाइरहेको छ । सडकमा गाडीको यो ठूलो रासले सरकारले राजस्व उठाउनलाई मात्रै मुलुकमा गाडी भित्र्याउने गरेको, तर त्यसको व्यवस्थापन गर्न नचाहेको देखिन्छ । काठमाडौंको सडकले देखाएको यो खराब रुपतिर सरकार र सरोकारवालाले ध्यान दिएका त छैनन् नै, ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरीलाई पनि धौधौ परेको छ ।
उता सडकपेटीमा गरिने पार्किङको समस्याले ट्राफिकसँगै महानगरपालिकालाई पनि समस्यामा पारेको छ । तर सडकपेटीमा मोटरसाइकल पार्किङ गर्नेहरुले त्यसतर्फ अलिकति पनि विचार पु¥याएको देखिँदैन । मानिसलाई चेतनशील प्राणि भनिन्छ । तर सडकको पेटीमा मोटरसाइकल, कारको पार्किङ गरिएको देख्दा हामी कति चेतनशील रहेछौँ भन्ने सवाल खडा गरिदिन्छ ।
काठमाडौंमा पसल थाप्नेहरुको कमी छैन । जहाँ जस्तो सटर पायो त्यसमा पसल थाप्नेहरु थुप्रै छन् । अझ कतिपय ठाउँमा त पेटी पनि छैन । भए पनि नामलाई मात्र छ, जहाँबाट दुई जना मानिसलाई हिँडन गाह्रो पर्छ । त्यस्ता पेटीमा पसल अघिल्तिर पसल साहुले आफ्नो मोटरसाइकल पार्किङ गरेको पाइन्छ भने कतिपय ग्राहकहरुले पनि त्यही पसलअगाडि गाडी वा मोटरसाइकल पार्किङ गरेको देखिन्छ ।
के यसरी सडक छेउमा पसल थाप्दा पसलेले पार्किङ स्पेसका लागि पेटी पनि आफ्नो मागमा पारेका हुन्छन् ? अहिले यो प्रश्न कतिपय ठाउँमा उठ्न थालेको छ । यसरी प्रश्नहरु उठदै गए पनि यो समस्याको समाधानका लागि कुनै काम हुनसकेको छैन । आज पनि कोटेश्वर महाराजगंजलगायतका कतिपय क्षेत्रमा पेटीमै कार पार्किङ गरेर राखिएको पाइन्छ । मोटरसाइकल त कति कति । धेरै टाढा जानै पर्दैन, सिंहदरबारको पूर्वी गेट अगाडिका पसलहरुको अघिल्तिर पनि तेर्सो पारेर मोटरसाइकल पार्किङ गरेर राखिएको देख्न सकिन्छ । यसको समाधानका लागि पक्कै पनि काठमाडौंका मेयर बालेन शाहले केही गर्न सक्छन् भन्ने धेरैको अनुमान छ । सडकमा पार्किङ गरिएका मोटरसाइकल आज हटायो तर केही दिनपछि फेरि त्यहाँ मोटरसाइकल राखिनै हाल्छन् । त्यसैले त्यस्ता पसल वा रेस्टुरेन्टको अनुमति पत्र दिँदा वा त्यसको नविकरण गर्दा मात्रै पनि महानगरले ‘पार्किङ गर्ने ठाउँ छ कि छैन ? कुन ठाउँमा पार्किङलाई ठाउँ खोजेका छौ ?’ त्यसको व्यवस्थापन नगरेर अनुमतिपत्र नविकरण नगर्ने र दर्ता नगर्ने गरिदिए एक हदसम्म धेरै समस्या समाधान हुन सक्ने थियो ।
गाडी खरिद गर्नेहरुलाई पनि महानगरपालिकाहरुले गाडी पार्किङ गर्ने ठाउँ घरमा बनाएको छ कि छैन ? त्यो हेरेर मात्रै गाडी किन्न सक्ने सुविधा मिल्ने व्यवस्था गरिदिए काठमाडौंको ट्राफिक समस्यामा अलिकति भए पनि राहतको बाटो खुल्थ्यो कि ? सडकमा उर्लिएको ट्राफिक समस्याको समाधान आम नागरिकको सचेतना नै हो । एम्बुलेन्स र दमकल जस्तो सबैभन्दा अगाडि आफू हिँडनुपर्छ भन्ने मानसिकताले ट्राफिक समस्यालाई अति बढाएको छ । अलिकति यता पनि मोटरसाइकल र गाडी हाँक्नेले सोचिदिने हो कि ?