फेरि पूर्वराजाको नाम लिएर राजनीति गर्न खोज्दै प्रचण्ड

Home Feature Uncategorized

किन मौन छन् प्रम ओली ?


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा अवसरवादी नेता भएकोमा दुई मत छैन । उनले अहिलेसम्मका साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएर आफूलाई राजनीतिका सबैभन्दा ठूला खेलाडी बनेका छन् । उनले १० वर्ष सशस्त्र द्वन्द्व गरेर १७ हजार नेपाली मारिएपछि सत्ता सम्हाले । अध्यक्ष प्रचण्डले कुनै समय निकै नै संदिग्ध रुपले आफूलाई राजसंस्थाले सघाउ पु¥याएको भनेर आफूलाई ठूलो बनाउँथे । दलहरुसँग बार्गेनिङ पावर बढाउन पनि उनले राजसंस्थासँग आफू नजिक भएको बताउने गर्दथे । दलहरुसँग कुरा नमिल्दा साथ उनले जहिले पनि राजसंस्थालाई अगाडि देखाउने गर्दथे ।
राजसंस्था नै हटाउन भूमिका खेल्ने तिनै प्रचण्ड अहिले फेरि पूर्वराजाको नाम लिएर राजनीति गर्न खोजिरहेका छन् । उनले माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई आइतबार सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने चर्चा हल्लामात्र भएको बताए । उनले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।
उनले भने, ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’ पूर्वराजालाई भेट्नै नहुने त्यस्तो के छ ? जुन किसिमले प्रचण्डको माओवादीसहितका गणतन्त्र रोजेका दलहरु असफल भइसकेका छन् त्यसको न्यायनिसाफ गर्नका लागि कोही त पक्कै आउनै पर्छ । दलहरुको अक्षम्य गतिविधि बढिरहँदा उनीहरुलाई नै निरन्तरता होला र ? त्यसैले प्रचण्डले आफूलाई एक कदम अगाडि बढाउँदै पूर्वराजाको भेटलाई कोट्याएका छन् ।
यद्यपि यस विषयमा अहिलेसम्म सरकारमा भएका कुनै पनि दलका नेताले टिप्पणी गरेका छैनन् । खासगरी चुप बस्ने बानी नभएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पनि बोलेका छैनन् । जबकि तिनै ओलीसँगको संगतले आफू बरबाद भइसकेको र अब सुध्रिने अवसर आएको बताएका छन् । उनले जाली फटाहासँग मिल्दा बिग्रिएको र अब सच्चिन चाहेको बताएका छन् । तर सहकारी गठ, सम्पत्ति शुद्धीकरण, संगठित अपराधदेखि दोहोरो पासपोर्टसम्ममा मुछिएका रास्वपाका
सभापति रवि लामिछाने र उनको पार्टीसँगको संगतले सच्चिने भनाइ भने नर्कमा रहेर स्वर्गको कल्पना गरेजस्तै हो ।
प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारी र अपराधी पक्राउ गरेको तर अहिलेको सरकारले रक्षा गरेको बताएका छन् । तर उनले भुले उनकै पालामा उनको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेर कारबाही नै नगरी कानूनले पनि दयामाया हेर्ने भनेर छोडेको हो । त्यसको भने उनलाई कुनै ग्लानि भएन ? उनकै पार्टीका नेता एवं पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा सहकारी प्रकरणमा मुछिएर पनि छाडिनु पर्ने ? जब सत्ता बाहिर आइन्छ अनि बुरुक्क उफ्रिदैमा हुन्छ ?
प्रचण्डको छद्मरुप त धेरैले देखेकै छन् अब उनीमाथि पनि अनुसन्धान भइदिने हो भने बल्ल न्यायनिसाफ हुन्थ्यो होला । सम्पत्तिको नाममा केही पनि छैन भन्ने अनि सयौँ कार्यकर्ता कसरी पाल्न सकिन्छ ? जहाजमा ओहोर दोहोर कसरी गर्न सकिन्छ ? उनी प्रधानमन्त्री भएका बेलामा उनकी छोरी स्वकिय भएर काम गर्ने अनि सचिवहरुलाई नोकरको जस्तो व्यवहार गरेर फाइल अल्झाउने र सहमति भएपछि फाइल अगाडि बढाएर कमाएको अकूत सम्पत्तिको छानबिन हुने कि नहुने ?