नयाँ सरकार गठनमा सकस्

Home Feature

काठमाण्डौ । संस्कारविहीन नेपाली राजनीतिले दिनानुदिन दुःखमात्र दिइरहेको छ । बहुदल आएपछि विकासले बाटो लिन्छ भन्ने विश्वास धेरैले गरे । दलहरू खिचडी राजनीतिमा लागे । त्यसपछि शाही कू को विरोध गर्नेहरूले ठाने अब मुलुकमा गणतन्त्र आएपछि नेपालको विकास गतिले स्वीट्जरल्याण्डलाई माथ गर्नेछ । अनि संविधानसभाबाट संविधान लेखिएपछि त नेपालको गतिले अझ ठूलो फड्को मार्ने आँकलन धेरैले गरे । तर भयो के ? विगत २६ वर्षमा २२ सरकार परिवर्तन भइसकेका छन् । विकासले कुनै गति लिने छाँट छैन । दलहरू अहिलेसम्म सरकार बनाउने र गिराउने चलखेलमामात्र छन् । गत वर्षको असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेपछि त्यसको कार्यान्वयनको पक्षमा लाग्नुपर्नेमा १० महिना भइसक्यो कार्यान्वयन पक्ष निकै टाढिएको छ । दलहरूको सत्तालिप्साले अब संविधान कार्यान्वयन हुनेमा शंका बढेको छ ।

जसरी सत्ताको पछिल्लो समीकरण बनेको छ त्यसले अब शीर्ष तीन दल एउटै बाटोमा हिंड्नेमा शंका देखिएको हो । किनकि अहिले काँग्रेस र माओवादी केन्द्रबीच गाँठो कसिएको छ, जुन विगत हेर्दा पनि राम्रो गाँठो कसिने सम्भावना नै रहँदैन । त्यस्तै एमालेभित्र पनि ठूलो गुट देखिएको छ । एमाले अध्यक्ष केपी ओली एकलौटी ढङ्गले चलेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष असन्ुतुष्ट छ । सक्ने भए यिनीहरूले पार्टी नै टुक्र्याइदिने अवस्था बनेको छ । आपसी समझदारी नभएकैले पनि गणतन्त्र संस्थागत हुन सकेको छैन ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भए पनि अबको बाटो उत्तिकै कठिन छ । किनकि केवल सत्ताका लागिमात्र मेल देखिएको छ । काँग्रेस र माओवादीको बाटो निकै फरक छ । काँग्रेसले गत बैशाखमै धोका खाइसकेको छ । त्यतिबेला पनि माओवादीको लहलहैमा काँग्रेसले केपी ओली सरकारलाई ढाल्न साथ दिएको थियो । तर माओवादी आफैले एमालेसंग भद्र सहमति गर्दै काँग्रेसलाई धोका दिएको थियो ।

यसपटक काँग्रेससंगको भद्र सहमति पनि त्यस्तै तोड्ने खालको छ । राजनीतिमा असम्भव केही हुँदैन भन्नेहरू यो गठबन्धनलाई अपवित्रकै संज्ञा दिएकाले जतिबेला पनि तोडिन सक्ने बताउँछन् ।

नेकपा एमालेको निहुँ
अविश्वासको प्रस्तावमा असफल भए पनि केपी ओली भने सजिला देखिएका छैनन् । किनकि संविधानको अलमल र नेपालका संविधानविद्हरू ग्राहक जस्तो उत्तर चाहन्छ त्यस्तै जवाफ तयार गरेर राख्ने खालका भएकाले पनि अलमल झन् बढाउने काम गरेका छन् । केपी ओली कम्पनीले संविधानमा कहीं कतै अहिलेको सरकारलाई फाल्ने व्यवस्था नभएकाले ०७४ माघसम्म कसैले छुन नसक्ने तर्क गर्दै आएको छ । विश्वासको मत प्राप्त नगरे पनि खासै फरक नपार्ने उसको तर्क हो । त्यसो त केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच गठिलो साँठगाँठ भएकैले पनि मुलुकमा जे पनि हुनसक्छ भन्ने तर्क गर्नेहरू धेरै छन् । ओलीले राजीनामा दिएपछि पनि राष्ट्रपतिले कामचलाउका रूपमा पुनः ओलीलाई नै सरकारको जिम्मा दिनेछिन् । यसले ओलीलाई राहत दिनेछ भन्ने आँकलन गरिएको छ ।  राष्ट्रिय सहमतिमा न कहिल्यै सरकार बन्यो न त बन्ने नै छ । तर त्यही सिद्धान्तमा टेकेर राष्ट्रपतिले सरकार लम्ब्याउने चलखेल गरेको पनि हुनसक्ने आँकलन गरिन्छ । तर एमालेभित्रैको किचलोले पनि यसलाई सफल हुन दिने सम्भावना छैन ।

अन्तिममा किन छाडे राप्रपा र फोरमले
केपी ओली सरकारको अवस्था दयनीय बन्दै गएपछि राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले शनिबार सरकारबाट फिर्ता आउने निर्णय गरे । राप्रपाका १२ र फोरम लोकतान्त्रिकका
१४ सांसद छन् । यिनीहरूले छाड्नु पछाडि नयाँ सरकारमा आफ्नो ठाउँ बनाउनु नै हो ।

जतिसुकै नैतिकताको कुरा गरे पनि अन्तिम समयमा साथ छाड्ने स्वार्थी नै हुन्छ । राप्रपाले भने माओवादीले छाडेलगत्तै नै सरकार छाड्नु पर्ने आन्तरिक तयारी गरेको थियो । राप्रपा सबैभन्दा ढिलागरी केपी ओली नेतृत्वको सरकारमा गएको थियो ।  तर फोरम भने केपी ओलीले नैतिकताका आधारमा राजीनामा नदिएपछि वाध्य भएर छाडेको तर्क गर्छ । उसले नयाँ सरकारमा जानका लागि नभइ सहजीकरणका लागि बाटो खोलिदिएको तर्क गरेको छ । नयाँ सरकारका लागि कुनै पहलसमेत नभएको फोरमको भनाइ छ । तर सरकारमा गए त्यो आश्चर्य भने नहुने प्रमुख सचेतक एकिन्द्र चौधरीको भनाइ छ । राजनीतिमा जे पनि जायज हुने उनको भनाइ छ । चौधरीले एमाले र काँग्रेस सबैभन्दा बढी सत्तामा जाने दल भए पनि किन हामीलाई यस्तो आरोप लाग्छ भन्दै आश्चर्यसमेत व्यक्त गरेका छन् । यसको मतलव नयाँ सरकारमा फोरम लोकतान्त्रिकले हरियो झण्डा देखाइकेको छ । यो समीकरण बन्दै जाँदा एमाले र राप्रपा नेपाल प्रतिपक्षमा बस्ने सम्भावना समेत बलियो बन्दै गएको छ । तर नेपालको राजनीतिका स्पष्ट आँखा छैनन् भनेझैं अन्धो राजनीतिले जता पनि पाइला टेक्न सक्छ । यस्तो अवस्थामा समीकरण जे पनि बन्नसक्छ । राजनीतिक दलहरू असफल हुँदै जाँदा जनतामा निराशा पैदा भएको छ । यसकै कारणले गर्दा राजा आउ देश बचाउ भनेर लाग्ने गरेका नारा सही सावित त हुने हैनन् ? आश्चर्य नमान्ने कि !