डा. केसीको अनसनप्रति बेवास्ता

Home Feature

काठमाण्डौं । प्रा.डा. गोविन्द केसी आठौं पटक चिकित्सा क्षेत्रका विकृति हटाउन आमरण अनसनमा बसेका छन् । तर सरकारले भने उनको अनसनलाई खासै गम्भीर तरिकाले लिएको छैन । सरकारी प्रतिनिधिले वार्ता थाले पनि त्यसले सार्थकता पाउन सकेको छैन । दुवै पक्षले पाएको म्यान्डेटमा जति सुकै प्रयास गरिए पनि कुनै निक्र्यौलमा पुग्न नसकिने निचोडमा वार्ताकारहरू नै पुगेका छन ।

सरकारी वार्ता टोली आवश्यक तयारी र म्यान्डेटका साथ प्रस्तुत हुन नसकेको केसी पक्षको आरोप छ । सरकारी टोलीले वार्तामा राजनीतिक समिति बनाएर समस्या समाधान गर्ने प्रस्ताव गरेर समस्या लम्ब्याउन खोजेको छ । वार्तामा सरकारी टोलीले समिति बनाएकै भरमा अनसन समाप्त गर्न अनुरोध गरेपछि सरकारको नियत यसपटक पनि झल्किएको छ ।

सरकारले दर्ता गरेको विधेयक सरकारले फिर्ता लिन सक्ने सर्वमान्य सिद्घान्त भए पनि वार्तामा सरकारी पक्षले मनमोहन प्रतिष्ठानको विधेयक संसदबाट फिर्ता लिन नै मिल्दैन भन्ने अडान राखेपछि सरकारको नियत छर्लङ्ग भएको हो । यसबाट स्पष्ट हुन्छ केसीको मागका वारेमा पनि सरकारले कुनै कुरा स्वीकार नगरीकन सहमतिको लागि आग्रह मात्र गरी राखेको स्थिति छ ।

चिकित्सा क्षेत्रका विकृति हटाएर एउटा प्रणाली बसाउन डा. केसीले माग राख्दै आएका छन् । उनले कसैको साथ खोजेका छैनन् । उनले कुनै दलसंग बार्गेनिङ गरेका छैनन् । उनी कुनै दलका कार्यकर्ता पनि हैनन् । तर समय समयमा उनका मागलाई आफ्ना माग बनाएर उनलाई बदनाम गर्नेहरु कम छैनन् । सात पटकको आमरण अनसनमा सुरुवातदेखि नै साथमा रहेको नेपाल चिकित्सक संघ भने यसपटक खासै अग्रसर भएर देखिएको छैन । डा.गोविन्द केसीको आमरण अनसनले दुई हप्ता नाघ्दासमेत चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ मौन देखिएको युवा डाक्टरहरुको आरोप छ । तीन वटा रेजिडेन्टहरुको संस्थाले संघलाई आन्दोलनमा सक्रिय सहभागिताको लागि लिखित आग्रहसमेत गरे पनि त्यसको कुनै प्रतिक्रिया आएको छैन ।
गत शनिबारको काठमाडौंको प्रदर्शनलाई हेर्ने हो भने नागरिकसमाज भने डा. केसीलाई बचाउन लागिपरेको छ । तर जिम्मेवार निकायले भने खासै चासो राखेको छैन । नयाँ सरकारको चक्करमा लागेरै होला संसदमा भएका दलहरुलाई डा. केसीको स्वास्थ्यबारे खासै चिन्ता देखिएको छैन । गत असार २६ गतेदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्यमा धेरै समस्या देखिएको छ । पहिले जस्तै घाँटीको समस्यासंगै टाउको, छाती दुखाइ, जिउ दुृखाइ र मांशपेशी बाउँडिने समस्या देखिएको छ । केसीको रक्तचाप अझै कम छ । यस्तै उनको मुटुको केही चालसमेत अनियमित देखिने क्रम जारी नै छ ।

निरन्तर अक्सिजन लिइरहेका डा.केसीको रगतमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता जीवन उपयोगी तत्वहरुको मात्रा कम नै छ । केसीलाई देखिएको फेरेन्जाइटिस अझै निको भएको छैन । मानिसका लागि सबैभन्दा ठूलो ज्यान हो । ज्यान नरहे अरु के काम लाग्ला र । त्यसैले डा. केसीको ज्यान बचाएर बाँकी समस्या समाधान गर्नुपर्छ । कमजोरी कसका हुँदैनन् र । केसी हठी स्वभावका छन् । तर उनको स्वार्थ के नै होला जसका अगाडि पछाडि परिवार नै छैन । उनी त आफ्ना विद्यार्थीका लागि लडिरहेका छन् । देश एउटा विधिको शासनमा अगाडि बढोस् भनेर लडिरहेका छन् । पहिले ज्यान बचाउँ अनि लगाउँला उनीविरुद्धका कथित मुद्धा ।