नयाँ नक्सा अद्यावधिकसंगै संविधान संशोधन विधेयक संसदमा पेश

Home Feature राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न सो विधेयक पेश भएको हो । आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरिन् ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो । प्रस्ताव पेश गर्नुअघि कानूनमन्त्री डा तुम्बाहाङ्फेले सो विधेयक प्रस्तुत गर्न अनुमति मागेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरुबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले थप प्रस्ताव पनि लैजाने बताएको छ । जनता सद्भावना पार्टीले भने विपक्षमा मतदान गर्ने बताएको छ । डा बाबुराम भट्टराई पक्षले मतदान गर्नुपर्ने बताइरहेको छ भने मधेशवादी नेताहरु मत नहाल्ने पक्षमा छन् ।

यसबाटै कतै पार्टी फेरि फुट्ने त हैन ?