ओलीको नक्कली राष्ट्रवादलाई खुइलाउँदै प्रचण्ड–माधव–झलनाथ–वामदेव

Home Feature राजनीति समाचार

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छीको सक्रियतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोमा तत्काल पूर्णविराम लागेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सी पनि नछाड्ने र पार्टीको नेतृत्व पनि नछाड्ने भएपछि एकाएक बाँकी शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम एकजुट भएका छन् ।

ओलीले बोल्नै नहुने वाक्य बोलेपछि उनले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेका हुन् । ओलीले आफूमात्र राष्ट्रवादी भएको र बाँकी नेकपाका नेताहरु भारतीय दलाल भएको आरोप लगाएपछि बाँकी चार नेताको एक सूत्रिय माग भनेकै ओलीको राजीनामा हो ।

ओलीले भूकम्पका बेलाको भारतको नाकाबन्दी एक्लैले सामना गरेको बताएका थिए । प्रचण्डले त्यो सामना सबैले गरेको भनी जवाफ फर्काएका छन् । राष्ट्रवादी र राष्ट्रघाती भनेको के हो भन्दै ओलीलाई सोधेका छन् ।

लीले तर्साएरै भए पनि प्रधानमन्त्री र नेकपा अध्यक्षको कुर्ची बचाइराखेका छन् । आफूले सोचेको जसरी पूरा गर्ने हठी स्वभावका ओलीलाई नेकपाको स्थायी कमिटी बैठकबाट सरकार र पार्टीको नेतृत्वबाट हटाउन शीर्ष नेताहरुसहित झण्डै दुई तिहाई स्थायी कमिटी सदस्यहरु लागे पनि ओलीले तर्साएरै भए पनि दुवै पद तत्कालका लागि सुरक्षित गरेका छन् ।

ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने सम्मको रणनीति ल्याएपछि नेकपाका हितैषी एवं पार्टी फुटेपछि जनता सामू जान पनि लाज लाग्ने स्थिति देखेका नेताहरु आत्तिएर ओलीलाई त्यसो नगरी मिलेर अगाडि बढ्न आग्रह गरेपछि ओलीलाई तर्साएर पद जोगाएको अनुभूति भएको छ ।

उनले पार्टी फुटाएर पुरानै नेकपा एमाले ब्यूँताउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत पनि दिएर निर्वाचन आयोगमा दर्ता गर्न लगाएका थिए । अहिलेसम्म चिनियाँ राजदूत यान्छीका कारण केही मत्थर भएको छ । त्यसमाथि देशमा बाढीपहिरोको विपत्ति आएको बहानामा स्थायी कमिटी बैठक साउन २ सम्म सरेको छ ।

उनले मर्यादा नाघेरै नेताहरुको घरघरमा गएर भेटेर पार्टी फुटबाट बचाउन राम्रो भूमिका खेलिन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालकोमा पुगेर उनले एकता बनाइराख्न आग्रह गरिन् । उनले नेकपा एकता भएपछि दोस्रो पटक पार्टी फुट्नबाट जोगाउन भूमिका खेलेकी हुन् ।

पछि नहट्ने नेताहरुको अडान
चीनले नेकपा रहिरहोस् र अमेरिकी सहयोग एमसीसी पनि पारित नहोस् भन्ने नीति अपनाइरहेको छ । तर यो नीति उत्तानो पर्न सक्ने दावी हुँदै आएको छ ।

ओली चाहन्छन् पार्टी फुटाएर काँग्रेससंग मिलेर संसदबाट एमसीसी पारित गर्ने । तर नेकपाका बाँकी नेताहरु चीनले भनेको पनि नमान्ने र ओलीको पछि पनि नकुँद्ने मनस्थिति बनाइरहेका छन् ।

साउन २ सम्म बैठक स्थगित भए पनि नेताहरु रणनीति बनाउन लागेका छन् । बैठक एक हप्ता सर्दा नेपाल र प्रचण्ड गलेको विश्लेषण गरिएको थियो । झलनाथ र वामदेव भने ओलीलाई फाल्नमै तयार छन् ।

तर विश्वस्त सूत्रका अनुसार प्रचण्ड र माधव नेपाल पनि अब ओलीलाई राख्नुहुन्न भन्ने पक्षमा छन् । सूत्र भन्छ –नेताहरु एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्ने रणनीतिमा छन् ।

प्रचण्डले सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाउन बन्द गर्न ओलीलाई आग्रह गरे पनि ओलीले नमानेपछि अब प्रचण्ड र माधव नेपालसमेत कुनै हालतमा पछाडि नफर्कने अडानमा छन् ।

ओलीका केही आफ्ना र दानापानी खाएकाले उनलाई राष्ट्रवादी देखे पनि उनीहरुले ओलीले महाकाली नदी भारतलाई बेचेको नदेखेको चर्चा भइरहेको छ । ओलीले फेरि कसलाई के बचेर राष्ट्रवादी बन्न लागेका हुन् त्यो भन्न नसकिने पनि बताइन्छ ।

त्यसैगरी भ्रष्टाचार गर्दिन भन्नेले अहिलेसम्मकै बढी भ्रष्टाचार गरेको र बेथिति बढाएको तथा पार्टीमा एक्लै हालीमुहाली गरेको भन्दै नेताहरु असन्तुष्ट छन् । त्यही असन्तुष्ट फाल्न स्थायी कमिटी बैठक काफी छ ।

बाढीपहिरोका बेलामा समेत स्रोतसाधनको चरम दूरुपयोग गरेको आरोप ओलीमाथि लागेको छ । जसरी कोरोना भाइरसका नाममा अर्बौंको भ्रष्टाचार भएको छ त्यसरी नै बाढीपहिरोको नाममा समेत विपद् व्यवस्थापनको सट्टा आर्थिक व्यवस्थापन गरेको आरोप लागेको छ ।

अब यति धेरै आरोप लागेपछि कुर्सीमा धेरै समय बसिरहन पनि नैतिकताले पनि नदिने हो नि भनी नेकपाका नेताहरु नै भनिरहेका छन् । आखिर बहुदलीय प्रणालीमा दल बलियो हुन्छ । जब दल नै ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा रहने अनुमति दिइरहेको छैन भने उनले छाड्नु नै उत्तम हुने सुुझाव पनि दिइएको छ ।

आखिर प्रचण्डसंग सहमति गर्दा आधा–आधा कार्यकाल खाने भन्ने नै थियो क्यार । ओलीले धोका नदिएको भए आज यो दिन त आउने थिएन नि !