काठमाडौं । नेपालमा आपद् विपद् पर्दा काम लाग्ने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेको छ । त्यो प्राधिकरणको काम चौबीसैघण्टा कहाँ विपद् पर्छ त्यहाँ उद्दार, राहत र व्यवस्थापनमा जुट्नु हो । हरेक वर्ष करोडौं रुपैयाँ तिनै कामका लागि खर्च भएको देखाइन्छ । तर यथोचित व्यवस्थापन अहिलेसम्म भएको पाइएको छैन ।
मनसुनमा नेपालमा ठूलो विपद् हुन्छ भन्ने सबैलाई थाहा छ । सबैभन्दा बढी जानकारी त्यही प्राधिकरणलाई छ । तर प्राधिकरण केवल मृतकको लास गर्ने अभियानमा मात्र सक्रिय छ । अझ भनौं बेपत्ता भएकाहरुको लिष्ट गन्दा त्यो त्यही लास गन्न पनि असफल भएको छ सरकार ।
पहिरोले यसपटक निकै नै दुःख दिएको छ । मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिरोका कारण अकल्पनीय क्षति भएको छ । प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ । ५३ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन् । विपदमा परेर कूल दुई सय ४९ घाइते छन् । यो तथ्याङ्क साउन १ गतेसम्मको मात्र हो ।
मुख्यगरी चट्याङ, बाढी र पहिरोमा यसरी मानवीय क्षति भएको हो । धेरै मानवीय क्षति पहिरोले पु¥याएको छ । पहिरोमा परेर एक सय दुई जनाको ज्यान गएको तथा ४६ जना हराइरहेका छन् । ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर छ जनाले ज्यान गुमाएको, छ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको पोखरेलले जानकारी दिए ।
सबैभन्दा बढी पहिरो गत जेठ ३१ पछि खसेको छ । सोही दिनदेखि मनसुन सक्रिय भएको थियो । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाको अवधिमा मात्रै कूल एक सय २० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा एक सय २८ जना घाइते भएको तथ्याङ्क छ । उक्त अवधिमा पहिरोमा परेर मात्रै सय जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर तीन र चट्याङबाट १७ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ ।
यसपटक नसोचेको क्षेत्रमा पहिरो खस्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । जथाभावी सडक खन्ने, पानीको स्रोत व्यवस्थापन नहुने तथा एकै ठाउँमा धेरै पानी परेकाले पनि बाढीपहिरोका घटना बढेको तथा भूकम्पले असर गरेकाले पहिरो खसेको भूगर्भविद् शिवकुमार बाँस्कोटाले बताए । यस वर्ष अहिलेसम्म कूल ६० जिल्लामा मनसुनजन्य विपद्को घटना भएको छ । त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म दुई सय ५० बढी विपद्का घटना भएको विवरणमा उल्लेख छ । जेठ ३१ गते पर्वतको दुर्लुङमा पहिरो खसेको थियो । त्यसमा परेर नौ जनाले अकालमै ज्यान गुमाए । असार ८ गते पाल्पाको सम्बोबारीमा पहिरो खस्दा चार जनाको मृत्यु भयो । त्यस्तै बझाङको केदारस्युँलगायत स्थानमा पहिरो जाँदा सात जनाको मृत्यु भएको थियो ।
असार अन्तिम साता मुलुकका विभिन्न जिल्लामा भारी वर्षा हुँदा धेरैले ज्यान गुमाए भने अझै धेरै बेपत्ता छन् । सिन्धुपाल्चोकका बाह्रबीसे र भोटेकोशीमा बाढी पहिरामा परेर दुई जनाको मृत्यु भयो भने अझै २० जना हराइरहेका छन् । म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकामा बाढीपहिरो जाँदा २७ जनाको मृत्यु भयो भने चार जना अझै बेपत्ता छन् । यस्तै कास्की, जाजरकोट, लमजुङलगायत जिल्लामा पनि बाढी र पहिराले धनजनको क्षति पु¥याएको प्राधिकरणले जनाएको छ ।
अझै खतरनाक दिन आउन बाँकी
जल तथा मौसम विज्ञान विभागले अझै खतरनाक दिन आउन बाँकी रहेको जनाएको छ । यसपटक पहिलेभन्दा अधिक पानी परिसकेको छ । अझ झन् बढी पानी पार्ने दावी भइरहेको छ । विभागले आइतबारदेखि पुनःन्यूनचापीय रेखा नेपाल नजीक आउँदा मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरेको छ ।
अतिभारी वर्षाले फेरि अझै ठूलो विपद् आउन सक्ने दावी गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ । उक्त मनसुन झण्डै चार दिन कायम रहने विभागको दावी छ ।
विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुप¥यो । विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै विभागले पुनः अतिभारी वर्षाको अनुमान प्रक्षेपण गर्नुको मतलब अझ खतरनाक दिनहरु आउन बाँकी नै छन् । यसका लागि कुनै तयारी गरेको भने पाइँदैन । शहरलाई प्लटिङ र पहाडलाई सडक मार्गको नाममा चिराचिरा पार्दा यसले झन् ठूलो विपद् निम्त्याएको छ । भू–माफियाको चपेटामा पर्दा हरेक वर्ष सयौं नेपालीले ज्यान गुमाउँदा पनि सरकार त्यही गतिविधिलाई सघाउँदै जनताको लासमात्र गनिरहेछ ।