काठमाडौं । जब सरकारको नीति नियतमा बदलिएर व्यक्ति हावी भएर अगाडि बढ्न थाल्छ तब नेतृत्व र नेता अवशानको बाटोतिर लाग्न थाल्छ भनेर बुझेहुन्छ । हुँदाखाँदाको गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु त कता हो नीति बदलेर केपी शर्मा ओलीले त्यसलाई आफ्नो निहीत स्वार्थको नियतमा ढालेपछि अब यो शक्तिको अर्थ छैन भन्ने स्पष्टै भइसकेको छ ।
आफैले लेखेको संविधानको अवमूल्यन गर्ने ओलीको नीतिकै कारण २०६२–६३ को आन्दोलनको समेत औचित्य सकिएको पुष्टि हुँदै गएको छ । हुनत १२ वर्षमा खोलो फर्कन्छ । संसदबाटै गणतन्त्रको घोषणा गरेको १२ वर्ष पुगेको छ । त्यही संसदलाई ओलीले हस्तक्षेप गरे । १२ वर्षमा खोलो पनि फर्किन्छ भन्छन् । ओलीको कूकार्यका कारण त्यो सम्भव भएको छ ।
भगवान् राम पनि १४ वर्षको वनवासपछि फर्केका थिए । विष्णु भगवान्कै अवतारका रुपमा पुजिने राजा पनि नेपालमा फर्किने सम्भावना छ यो १४ वर्षको अँध्यारो कालखण्डबाट । योसबै दलहरुले चालेको गलत कदम र कूबाटोको परिणामले सम्भव देखिँदैछ ।
कुनै दलको पिछलग्गू भएर भन्दा पनि स्वतन्त्र रुपले देशभक्तहरुले ‘राजा आउ देश बचाउ’ भनिरहेका छन् । उनीहरु स्वास्थ्य संकटको घडीमासमेत राजालाई पुकार्दै सडकमा उत्रिएका थिए । त्यो स्वतस्फूर्त रुपले सडकमा उत्रिएको भेल थियो । यो भेल निरन्तर अगाडि बढिराख्ने हो भने गलत प्रवृत्ति र स्वार्थ बोकेर आएका सयौं राजालाई फालेर एक सच्चा देशभक्त राजा राख्न काफी हुनेछ ।
नेता विदेश पलायन हुन सक्छ । भासिन सक्छ । राजा राजमुकुट रहोस् वा नरहोस् ऊ आफ्नै देशमा डटेर रहन्छ । हो, अहिले जताततै राजसंस्था खड्किएको छ । ठूला दलका कार्यकर्ता पनि नेताहरुको ‘भ्रष्ट प्रवृत्ति’ देखि वाक्क भएर राजा नै फर्किए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । उनीहरु त्यो युवाहरुको जमातमा मिसिन थालेका छन् ।
त्यसैगरी राजसंस्थाबाटै टिकेको र हुर्केको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ढिला गरी सडकमा उत्रिएको छ । उसले आफ्नो पहिचान भनेकै राजसंस्था भएको बुझेको छ र ऊ पनि सडकमै उत्रिएको छ । राप्रपाको भेलामा पनि सडकमा ती राजसंस्था चाहने सच्चा युवाहरुको जमात पनि देख्न सकिन्छ । अर्थात् जुनसुकै माध्यमबाट किन नहोस् नेपालमा राजसंस्था पुनःस्थापना हुनै पर्नेमा उनीहरुको जोड छ ।
साथमा जोडिएको छ हिन्दूराष्ट्र । विश्वको एकमात्र हिन्दूराष्ट्र रहेको गौरब पालेको नेपाललाई सीमित नेताहरुका सीमित स्वार्थका कारणले गर्दा धर्म निरपेक्ष बनाइदियो । त्यसकै परिणामले गर्दा अहिले धार्मिक असहिष्णु बढेको छ । यसलाई रोक्नका लागि पनि हिन्दूराष्ट्र पुनःस्थापना हुनु जरुरी भएको छ ।
राप्रपाले अहिले यी दुवै महत्वपूर्ण माग सडकमा लगेर आफ्नो अस्तित्व जोगाउने प्रयास गरेको छ । जुन ढिलै भए पनि सराहनीय देखिएको छ । उसले गत शुक्रबार राजधानीमा सशक्त प्रदर्शन ग¥यो । भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सहमतिका आधारमा सम्भव नभए सडकबाट हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने चेतावनी दिए ।
उनले अहिले देशले भोग्नु परिरहेको संकट, विकृति र विसंगतिको मूख्य कारण १४ वर्षअघि शुरु गरिएको बाटो र विचार नै गलत भएको बताए । बाटो र विचार गलत भएपछि ड्राइभर जतिसुकै राम्रो भए पनि गन्तव्यमा पुग्न सकिँदैन भन्दै अहिले देखिएको विकृतिको बीउ १४ वर्षअघि नै रोपिएको संकेत गरे ।
हुन पनि केही नेताको सनकका भरमा आएको गणतन्त्र कुनै गहन र गहिरो अनुसन्धानले निम्त्याएको थिएन । स्वार्थ निहीत सनकका कारणले गर्दा अहिले देश भड्खालोमा फकेको छ । यसको पहलु पत्ता लगाउन पुरानै स्थितिमा फर्कनुपर्ने हुन्छ । अर्थात् हिन्दूराष्ट्र र राजसंस्था । केही गलत कदम राष्ट्रसंस्थाबाट उठाइए होलान् । त्यो पनि नेताहरुकै स्वार्थका कारण थिए होला ।
अहिले सडकमा पनि स्वार्थी नेताहरु अगाडि लागेका होलान् । तर पछि लाग्ने र मताधिकारको प्रयोग गर्ने जनताको लहर भने नेताको स्वार्थले अवश्य पनि सडकमा आएका देखिँदैनन् । उनीहरु त यो १४ वर्षमा आएको विकृति बन्द गराउन आएका देखिन्छन् । बुलेटभन्दा ब्यालेट शक्तिशाली हुन्छ । तानाशाह सरकारभन्दा जनता शक्तिशाली हुन्छन् । हो, अब सडकबाटै हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने दिन आइसकेको राजनीतिक विश्लेषकहरुले पनि बताउन थालेका छन् ।