काठमाडौं । हुनत नेपाल कम्युनिष्ट पार्टीको रोग हो आरोप प्रत्यारोप गर्ने । त्यही रोग जारी रहँदा नेकपा एमाले नै फुट्यो । पुष्पलाल श्रेष्ठले ठूलो चुनौती झेलेर गठन गरेको कम्युनिष्ट पार्टी स्थापनाको ७२ वर्षमा उक्त पार्टी ७२ पटक नै फुटिसकेको छ । जसले सघाउँदैन र आफूलाई अगाडि बढ्नबाट अवरोध भएको ठान्छ उसले लालगद्दारको पगरी झुण्डाइदिन्छ र उसको करियर नै तहसनहस पार्छ । जस्तो कि संस्थापक नेता पुष्पलाल नै पहिलो पीडित बनेका थिए । त्यसपछि अहिलेसम्म त्यो यात्रा जारी छ । पछिल्लो पटक त्यसको चपेटामा माधवकुमार नेपाल परे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमारलाई लालगद्दार बताएसँगै अब सँगसँगै बसेर राजनीति गर्नु उपयुक्त छैन भन्दै माधव नेपालले नयाँ पार्टी खोले । एमालेबाट छुट्टिएर खोलिएको उक्त पार्टी र एमालेका नेताहरुबीच अहिले तल्ला स्तरका गालीहरु बर्सिरहेका छन् । यस्तो लाग्छ कि उनीहरुका गालीले कुलकै बेइज्जत भइरहेको छ । हुन पनि जेलनेल मात्र हैन दशकौं एउटै भाँडाका भात खाएका नेताहरुको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ । एमालेबाट विभाजित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच अबका दिन कस्तो सम्बन्ध रहला भन्ने आमजिज्ञासा रहेका बेला नेताहरुले एक अर्काप्रति गरेका क्षुद्र टिप्पणी निम्न कोटीका छन् ।
एमाले विभाजित भएको दोष न एमालेले लिन चाहन्छ न एकीकृत समाजवादी पार्टीले नै । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रतिशोधपूर्ण आगोले सिंगो पार्टीलाई विभाजित गरेपछि त्यसको बाछिटा तल्लो तहसम्म पुग्ने देखिएको छ । एमालेले माक्र्सवादीको मूल्य मान्यतालाई तिलाञ्जली दिएको एक पक्षको आरोप छ भने अर्को पक्ष भन्छ( नेता नेपालकै कारण कम्युनिष्ट आन्दोलनको जग खरानी भयो । आफ्नो समूहमा रहेका दोस्रो तहका नेता उचालेर अध्यक्ष ओलीले आफूहरुलाई कमजोर बनाउन खोजेको आक्षेप नेपालको छ । ओलीपक्ष भने कांग्रेस र माओवादीसँग सौदाबाजी गरेर एमालेको शक्तिशाली सरकार ढाल्ने यदुवंशी खेल नेपाल पक्षले गरेको भन्दै त्यसको हिसाबकिताब गर्ने पक्षमा देखिन्छ । एमाले प्रवक्ता प्रदीप ज्ञवाली कम्युनिष्टको खोल ओढेर कांग्रेसको पाउमा पर्ने अवसरवादीको आलोचना र विरोध गर्नुको विकल्प नरहेको जिकीर गर्छन् । उनले मिडियामै माधवकुमार नेपाल पक्षसँग अब मिलन हुने सम्भावना नरहेको नै दाबी गर्छन् । तर उनले भुले नेकपा माओवादी केन्द्रसँग एमालेको कुनै पनि दृष्टिकोणबाट नीति नमिले पनि २०७५ जेठ ३ गते एकता भएको थियो । त्यस्तै २०७४ को असोजमा चुनावी तालमेलको एकता भएसँगै मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी मिलेर बहुमत
जुटेको थियो । अन्ततः उक्त अपवित्र गठबन्धनलाई २०७७ को फागुन २३ मा सर्वोच्च अदालतले नै अपवित्र बनाइदियो । त्यो पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्कै पार्टीसँग नाम जुध्न गएको भनेर । अववित्र गठबन्धनको त्यान्द्रो सर्वोच्चले नभई नेताहरुले नै तोडेका हुन् । अहिले ओलीले संविधान च्यातेपछि वाध्य भएर माधव नेपालले कांग्रेस र माओवादीसँग संविधान बचाउन गरेको तालमेललाई अपवित्र भन्ने हैसियत एमालेमा रहेका नेताहरुलाई कहीं कतैबाट छैन । पार्टी विधि, विधान र पद्धतिअनुसार नचलेको, जनताको बहुदलीय जनवादको सिद्धान्तलाई समाप्त पार्न खोजेको भन्ने नेपाल नेतृत्व पार्टीको आक्षेप सुन्न एमाले नेतृत्व तयार छैन ।
अर्कातिर एमालेको वर्तमान नेतृत्वकै कारण आफूहरु नयाँ दल खोल्न बाध्य भएको माधव नेपालको भनाइ छ । मन नमिलेपछि आफ्नै कुलको बेइज्जतमा हात धोएर लाग्ने गरेको भनेर नेपालका कम्युनिष्टहरु उनीहरुकै समुदायमा आलोचित छन् । आफ्नै नेतालाई लालगद्दार प्रमाणित गर्न तर्क(कुतर्कको सहारा लिने चरित्र अब नयाँ पुस्ताले पचाउँदैन । त्यसैले दुवै पक्षको नेतृत्वले संयमित र हार्दिक व्यवहार प्रोत्साहित गर्ने वातावरण बनाउन बाञ्छनीय छ । तर नयाँ पुस्ता पनि त्यही गतिमा अगाडि बढिरहेकाले भने कम्युनिष्टको चरित्र कसैले बुझ्न नसक्ने भनी विश्लेषणसमेत हुन थालेको छ ।