ओली सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै कांग्रेस, जनता समाजवादी र राप्रपाले संघर्ष गर्ने

Home Feature राजनीति

काठमाडौं । प्रतिपक्ष दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार स्वेच्छाचारी हुँदै सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध सङ्‍घर्ष गर्ने निर्णय गरेका छन् ।

तीन दलको कांग्रेस पार्टी मुख्यालय सानेपामा सोमबार बसेको संयुक्त बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई कुल्चिदै ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट रहेकाले त्यसको घोर भर्सनासहित त्यसविरुद्ध लोकतन्त्रवादी शक्तिहरू एकताबद्ध भई सङ्‍घर्ष गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

बैठकले जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको सरकारको संलग्नतामा अपहरण भएको भन्दै अपहरणमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ ।

मजदुर र विपन्न वर्गलाई तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न पनि सरकारसँग माग गरेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द यादव, शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेताहरु सहभागी रहेका थिए ।