नाम मात्रै राम्रो भएर केही हुँदैन । आफ्नो नाम राम्रो होस् । त्यो नामको प्रशंसा सबैले गरोस् भनेर धेरैले सोच्दा होलान् । तर नाम राम्रो भएर हुनेभए मुलुकमा केके भइसक्थ्यो सक्थ्यो ! नाम नराम्रो भएकाहरुले पनि अनेक राम्रा काम गरेर धेरैलाई चकित बनाएका पनि छन् । तर नाम भने सबैभन्दा राम्रो र सोचमा अतिनै खिया लागेको छ भने त्यस्तो नामधारीले के नै गर्नसक्छ र ? केही गर्न सक्दैन । किनभने त्यस्तासंग नाम मात्र राम्रो हुन्छ । भिजन र गोल राम्रो हुँदैन । यस्तै राम्रा नामधारी तर कुनै न कामको नेता भनाउँदा मानिस काठमाडौं महानगरको प्रमुख भएका छन् । तिनको नाम मात्रै हेर्ने हो भने त तिनले काठमाडौंलाई विद्याको खानी र सुन्दरताको नगरी बनाइदिनुपर्ने हो । अहिलेसम्म कहिल्यै नसोचिएको सुन्दर काठमाडौंमा परिणत गरिदिनु पर्ने हो । तर के त्यो देखिन्छ ? अलिकति पनि देखिँदैन । विद्यासुन्दर शाक्य यतिखेर काठमाडौं महानगरपालिकाका मेयर छन् । उनको जिम्मामा काठमाडौं सहरको सम्पूर्ण व्यवस्थापन रहेको छ । उनले सारा महानगरवासीको हितका लागि सोच्नुपर्छ । तर निर्वाचित भएको चार वर्ष बित्न लाग्दा पनि उनको काम हेर्दा जनताले महसुस गर्न सक्छन्, यिनको नाम मात्र विद्यासुन्दर शाक्य हो । बाँकी यिनमा केही छैन । यिनको काम गराई देख्दा लाग्छ यिनमा विद्या पनि छैन । विद्या भएको भए यिनले हजार योजना ल्याएर काठमाडौंलाई सुन्दर बनाउन सक्थे । यिनीमा केही नौलो काम गर्ने भिजन नै छैन । सोच्ने शक्ति नै छैन । बस् यिनी त नेता ओलीका ससुरालीपट्टिका आफन्त भएकोले मात्रै त्यो पदमा पुगेका हुन् ।
यिनको नाममा सुन्दर भए पनि यिनको दृष्टिकोण कुरुप देखिन्छ । यदि सुन्दर हुन्थ्यो भने यिनले रत्नपार्कको भित्तोमा एउटा कलाकारले बनाएको सुन्दर चित्रकलालाई मेट्ने थिएनन् । काठमाडौंलाई अहिले फोहोरको राजधानी भन्न थालिएको छ । किनभने लामो समयदेखि महानगरले फोहोर उठाइरहेको छैन । सडकसडकमा फोहोरको डुँगुर छ । त्यो फोहोरको डुँगुरको तस्वीरमा यि नाम मात्रै सुन्दर भएका मेयरको फोटो रिक्रिएट गर्दा पनि यिनले केही गर्ने सोचेका छैनन् । नत यिनले विद्याको नै प्रयोग गर्न सकेका छन् न त सुृन्दरको नै ।
कम्युनिष्ट मेयरका रुपमा केही वर्ष अघि केशव स्थापित थिए । उनी कम्युनिष्ट भए पनि महानगर र त्यहाँका जनताको हितमा केही काम गर्नसक्ने भिजन थियो । त्यही अनुसार उनले काम थालेका पनि थिए । आफू बसुन्जेल राम्रो काम गरेर देखाएका पनि थिए । तर अहिलेका मेयर विद्यासुन्दरले त केही गर्नै सकेनन् । नत अरुलाई नै केही गर्न दिए । केही गर्न खोज्नेहरुको त दोहोलो नै काढे यी विद्यासुन्दरले । आज काठमाडौंको हालत यति खराब छ, त्यो काठमाडौंको सडकमा प्रस्ट देखिन्छ । तर महानगरपालिकाले यो काम हाम्रो होइन भन्ने शैलीमा काम गरिरहेको देखिएको छ । के यस्तै कामले महानगरको नाम रहन्छ ।
यस्ले एउटा अर्को कुरो पनि देखाउँछ, त्यो हो नेताको आफ्नै सालो वा भदाहा भए पनि भिजन नभएकाले गर्ने सोच नभएकाले केही पनि गर्न सक्दैनन् । त्यस्ताले गर्ने भनेको विद्यासुन्दर शाक्य जस्तो फोहोरको डुँगुरमा बस्ने मात्रै हो । त्यो डुँगुरमा नत तिनलाई गन्हाउँछ । न त तिनलाई लाज घिन नै लाग्छ ! तर नेपाली नागरिकको काम अनुमान गर्ने मात्रै भएको छ । आफैले चुनेर पठाएका जनप्रतिनिधिले आफैलाई धोका दिइरहेको हेर्नु परेको छ । यदि जनप्रतिनिधि गतिलो भइदिएको भए आज पप्पुजस्ता ठेकेदारले मनपर्दी नेपाली नागरिकले भोग्नुपर्ने थिएन । हिँडदै नहिँडेको पुल बाढीको पानीमा बग्ने थिएन । चुडामणिहरु जस्ता सरकारी अधिकारीलाई जनताले भोग्नु पर्ने थिएन । ओलीजस्ता नेताको अतिचार भोग्नु पर्ने थिएन ।
तर कस्तो भाग्य नेपालीको, आफूले चुनेर पठाएका जनप्रतिनिधिले नै प्रतिनिधिसभा भंग गरिदिने ! त्यो पनि एक पटक होइन । पटक पटक । यस्तो भोलिका दिनमा पनि भोग्नु नपर्ला भन्न सकिन्न । किनभने नेताहरुको नियत उही हो । त्यसमा कुनै परिवर्तन आएको छैन । यदि परिवर्तन आउँथ्यो भने आज नेपाल मलेसियाजस्तो भइसक्थ्यो । धेरै ठूलो विकासको अपेक्षा नेपाली जनताले गरेका छैनन् भन्ने यत्तिकै देखिन्छ । तराई तिर गाउँगाउँमा बोरिङको व्यवस्था गरिदिने हो, खेतीका लागि उन्नत र राम्रो खालको बिउँको व्यवस्था जुटाई दिने हो भने, मलको पनि त्यस किसिमको नै व्यवस्था गरिदिने हो भने अरु के नै चाहिन्छ र ? चिनी मिलका साहुहरुले किसानहरुलाई दिनुपर्ने पैसा दिएका छैनन् । योजस्तो पीडादायी कुरा अरु के हुनसक्छ । सामान किन्ने । तर सामान दिनेलाई पैसा नदिने ! चिनी उद्योग संचालन गर्नेलाई पनि तिनले गरेको कामको पैसा नदिने हो भने तिनले के मान्छन् त ? मान्दैनन् । जब आफू आफूले गरेको कामको पैसा चाहन्छन् भने किसानलाई तिनको मेहनतको पैसा दिनलाई केको गाह्रो ?
व्यापारीको पनि नियत खराब छ । तिनले पनि जनतालाई नै लुटने कुरो मिलाएको जस्तो देखिन्छ । आखिर किन इमानदार हुन सकिरहेका छैनन्, उद्योगी व्यापारीहरु पनि । तिनले चाहने हो भने भोलि यो देशको कायापलट हुनसक्छ । तिनले उद्योग सबैतिर खोलिदिने हो भने तिनको गुणगान गाउँदै सबै मजदूर काममा लाग्ने थिए । तर व्यापारीहरुको पनि चाल नेताभन्दा कम छैन । ति पनि पानीजहाज, रेल र घरघरमा ग्यासको कुरामा अल्झिएका छन् । र त्यसरीनै अल्झाई रहेका छन् जनतालाई । के यसरी नै विकास सम्भव होला त ?