धेरैअघि काठमाडौं राजधानी भए पनि यहाँ आम मानिस बस्न खासै रुचाउँथेनन् । त्यसैले पनि होला, तुलनात्मकरुपमा जनसंख्या कम थियो । यस्तै पाँच सात लाख मानिस थिए कि ? ०४६ साल अगाडि । त्यसबेलासम्म काठमाडौंमा पढ्न आए पनि पछि गएर बसोबास आफ्नै थातथलोमा गर्ने मानसिकतामा काठमाडौं भित्रिएका हुन्थे विद्यार्थी । र, आफूले सोचेजस्तै घर फर्किन्थे पनि । अथवा घर नजिकैको कुनै सहरमा घरजम गरेर बसेको पाइन्थ्यो । ०४४ सालको कुरो हो । एक जना विद्यार्थी पढाई सिध्याएर लोकसेवा लडे । शाखा अधिकृत भए । र नियुक्ति लिएर सुर्खेत तिरै हिँडे । उनका लागि सुर्खेत, दैलेख, जुम्ला, कालिकोट नै सबथोक थियो । काठमाडौंको महँगी र चिसो दुवैलाई उनले तिलान्जली दिए ।
राजविराजका एक युवा पनि पढाई सिध्याएर ब्यापार गर्छु भन्दै उतै गए । र उनले आफ्नो व्यापारिक हाँगो सिरहा, सप्तरी, सुनसरी र झापासम्म फैलाए । उनले पनि काठमाडौं रोजेनन् । तर ०४६ सालको राजनीतिक परिवर्तन पछि काठमाडौंमा मात्रै सबै कुरो पाइन्छ, अन्त पाइँदैन भन्ने मानसिकताले सबै ग्रसित हुँदै गए । फलतः पाँच सात लाख जनसंख्या भएको काठमाडौंले अहिले ८० लाख मानिसलाई थेग्नु परिरहेको छ । कोही दुई दिनलाई मात्रै पनि काठमाडौं भित्रिन्छन् भने पनि तिनले भोलिदेखि काठमाडौंमै बस्ने निधो गर्छन् । किनकी यहाँ राजनीति गर्ने नेताहरुको चाकरी गर्न पाइन्छ । कमिसनको खेलमा लाग्न पाइन्छ । आठ दस करोड भए पनि लुट्न पाइन्छ ।
तर काठमाडौंमा बस्नेसंग सोधे भने वा घर बनाउने संग सोधे भने भन्छन्, काठमाडौंमा उपचारको व्यवस्था राम्रो छ । छोराछोरीलाई उच्च शिक्षा राम्रो दिन सकिन्छ । तिनका यस्ता कुरा सुन्दा लाग्छ, काठमाडौं बाहेक अरु गाउँसहर भनेको चुत्थो ठाउँ हो । जहाँ बस्नु भनेको आफैलाई भासमा पार्नुै हो ।
०४६ पछि काठमाडौंलाई नै भासमा पार्ने काम भएको छ । दस पन्द्र लाख मानिसका लागि पुग्ने काठमाडौंको
खानेपानी र सडक संजाल सत्तरी असी लाखसँग साझा गर्नु परेको अवस्था छ । तर त्यसको विकासका लागि राज्यले गम्भीर भएर कहिले पनि सोचेको देखिएको छैन । कुनै समयको काठमाडौंको मलिलो खेतबारी अहिले कंक्रिटको जंगल, त्यो पनि अव्यवस्थितरुपमा विकसित भएको छ ।
पहिलेदेखि नै राजधानीमा भिड हुनसक्छ भन्ने सोच्दै बसोबासका लागि व्यवस्थित बस्ती बिस्तार गर्दै गएको भए वा काठमाडौं भन्दा बाहिरका केही नगरलाई विस्तारित गर्दै काठमाडौंसँग दु्रत यातायातसँग जोडने व्यवस्था गरिदिएको भए आज सबैले काठमाडौं नै बस्छु भन्ने सोच्नु पर्थेन । वीरगंज, निजगढ, लालबन्दी, चपुरमा बसे पनि दुई घन्टामा ति काठमाडौं आइपुग्थे । जनकपुर होस वा नारायणघाट, बुटवलमा बस्ने हुन्, ती पनि दुई अढाइ घन्टामा काठमाडौं भित्रिन्थे । तर त्यता कसैले कहाँ केही सोच्यो र ? न पहिले सोचे । न अहिले सोचिरहेका छन् । त्यता कसैको ध्यान आखिर किन जाँदैन ? त्यता ध्यान दिएर विकास गर्दै जाने हो भने त आखिर किन काठमाडौं ? भनेर प्रश्न गरिरहनै पर्थेन ।