कहिलेसम्म वामदेव ‘उधारो’ राजनीतिमा ?

Home Feature राजनीति विचार

‘ओली नदिने, वामदेव नछाड्ने, दुनियाँ हाँसिरहने ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम पार्टीभित्र सबैभन्दा बढी आश्वासन पाउने नेता होलान् । आशा गर्ने भर नपर्ने खालका आश्वासन ।

हुनत उनलाई धेरैले भाग्यमानीको पगरी भिलाउलान् । तर त्यसो पक्कै हैन । एमाले र माओवादीलाई एकता गराउँदाका प्रमुख खेलाडी भए पनि त्यसपछिका हरेक खेलमा गोल अर्कैले गरिरहेको छ । अवसर अर्कैले लुटिरहेको छ ।

उनलाई आश्वासनमात्र दिइन्छ । पार्टी एकता गराउँदाका मध्यस्थकर्ता भएकैले दुवैको रोजाइको व्यक्तिको नाताले आफू नै प्रधानमन्त्री हुने कुरा चुहाएपछि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनलाई थाङ्नामा सुताउने काम तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

उनको आफ्नो क्षेत्रमै हारे । बर्दियामा एमालेले ओलीको आदेशमा कांग्रेसका संजय गौतमलाई भोट हाल्यो । माओवादीसंग चुनावी एकता गरेकाले माओवादीले वामदेवलाई भोट हाले पनि एमालेले नहाल्दा डुबे वामदेव ।

त्यसपछि उनी आश्वासनमा बाँचेका छन् । षड्यन्त्र नै भए पनि जनताले हराएको भनिएको उक्त चुनावमा हारे पनि वामदेवलाई बाहिर देखिने गरी कहिले सांसद बनाउने मोह त कहिले प्रधानमन्त्री बनाउने मोह अहिलेसम्म दिन छाडिएको छैन ।

उनी पार्टीका सिनियर एवं संगठनका खेलाडी भएकाले विशेषगरी नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफूतिर फर्काउन वामदेवलाई ललिपप दिइरहन्छन् ।

त्यही ललिपप यसपटक फेरि दिइएको छ । त्यो ललिपप उनलाई पाल्पामा सांसद बन्न बाटो खुला गर्ने र त्यहाँबाट जितेर आएपछि प्रधानमन्त्री बनाउने ।

कतिबेला त्यो प्रक्रिया सुरु होला र वामदेव सांसद होलान् अनि प्रधानमन्त्री बन्लान् त भन्ने कुरा काल्पनिक कथा नै हो । किनकि त्यसअघि संविधान संशोधन नगरी हुँदैन । दुई तिहाईको समर्थन नभई संविधान बन्नेछैन ।

आखिर यो उधारो राजनीति वामदेवलाई कहिलेसम्म । उनलाई पार्टीबाटै बेलाबेलामा यस्ता प्रस्तावहरु आउने गरेका छन् र सेलाउने गरेका छन् ।

२०७४ मा चुनाव हारेपछि उनलाई संसदमा ल्याउन कहिले डोल्पाबाट, कहिले काठमाडौं ७ बाट, कहिले कास्कीबाट त कहिले कहाँबाट चर्चा भइरहन्छ । त्यसपिछ राष्ट्रिय सभामा सांसद बनाएर संविधान संशोधन गरेर ल्याउने कुरा पनि भयो ।

त्यो पनि तुहियो । पार्टी सचिवालयले निर्णय गरे पनि ओलीले त्यसो हुन दिएनन् । ओली नदिने र वामदेव नछाड्ने । दुनियाँ हाँसिरहने । यही भइरहेको छ ।

अब पछिल्लो पटक अर्थात् बैशाख २० को सचिवालय बैठकले पाल्पा क्षेत्र नम्बर ३ का सांसद दलबहादुर रानालाई राजिनामा गराउने र वामदेवलाई चुनाव लडाउने चर्चा शुरु भएको छ ।

सांसद रानालाई नसोधी पार्टी सचिवालयले निर्णय गरिदियो । अहिले रानाले हुन्न भनिरहेका छन् । उनको सटिक तर्क छ –मतदातालाई स्पष्ट जवाफ दिने अवस्थामा मात्र छोड्छु ।

स्पष्ट जवाफ भनेको के ? त्यसको जवाफ कसैसंग छैन । आठ हजार बढी मतले जितेका सांसदलाई फिर्ता गर्छु भनेर पार्टीले के आधारमा भन्ने ?

त्यस्तो मान्छेलाई उम्मेदवार बनाउन जो पहिले नै हारिसकेको छ । यी तर्क वितर्क हुँदै गर्दा ओलीले फेरि पनि तपाईको नाममा विरोध भयो अब सकिँदैन भन्ने छन् । किनकि वामदेव त्यस्ता नेता हैनन् कि उनी नहुँदा पहाडै खस्छ ।

फेरि दुई तिहाईको समर्थन पाएर त ओलीले भ्रष्टाचार गर्नेबाहेक अरु सोचेनन् भने भ्रष्टाचारमा पहिले पनि बदनाम भइसकेका वामदेवले के नै गर्लान् र ।

वामदेवलाई यसरी नै बदनाम गराएर ओलीले छाड्ने छन् । आफ्नै क्षेत्रमा त हारेका वामदेवलाई हराउन पाल्पाजस्तो अर्काको जिल्लामा सजिलो होला र ? उधारो राजनीतिमा कति रमाउने कमरेड वामदेव ?

फेरि कोरोना भाइरसको यो महामारीमा एकतावद्ध हुनुपर्नेमा पदीय हानथापमा मुछिएपछि नेकपाको समेत विश्वास घट्दै गएको छ ।