रेल्वेको विकास कि सत्यानाश ?

Home Feature समाचार

नेपालमा विकासका कुरा खुब गरिन्छ । त्योपनि राजनेताहरुबाट नै अथाह विकासको चर्चा उठाइन्छ । विकासको सपना देखाइन्छ । बोराका बोरा सपना बाडिन्छ । जबकी हुने बेलामा केही गरिन्न । त्योसमयमा आफ्नो खल्ती कति दह्रो हुन्छ भन्ने मात्रै हेरिन्छ । बाँकी जनताको मतलब गरिन्न । जनताको त काम हो सहेर बस्ने । विरोध गर्ने । टिका टिप्पणी गर्ने । उनीहरु आफ्नो आफ्नो काममा लागिरहेका नै छन् । हामी आफ्नो काममा लागौँ भन्दै आफ्नो खल्ती गरम गर्ने खेतीमा तिनको व्यस्तता ज्यादा हुन्छ ।
त्यसैको एउटा उदाहरण हो जनकपुर रेल्वे । कुनैबेला उक्त क्षेत्रका मानिसलाई त्यसले पु¥याएको सेवाको चर्चा गरेरै सकिन्न । मान्छे झुन्डिन्थे रेलमा, छतमा बस्थे, बोगी कम थियो, सानो गेजको रेल थियो, कतिपय विना टिकट यात्रा गर्थे, २९ किलोमिटरको यात्रा पुरा गर्न करिब तीन घन्टाको समय लिन्थ्यो । तर जेजस्तो होस्, रेल चलिरहेको थियो । रेलका कर्मचारीहरुले नियमअनुसारको काम गरिरहेकै थिए । तलब खाइरहेकै थिए । रेल पनि दिनको तीन पटक चलिरहेको थियो । र दिनको हजारौँ यात्रुले जयनगर जनकपुर बिजलपुरासम्म यात्रा गरिरहेका थिए । कुनैबेला लाखौ नेपालीलाई सहज यात्रा गराउने रेल बितेको एक वर्षभन्दा बढिदेखि बन्द छ । नयाँ रेल, नयाँ इन्जिन, नयाँ लिक भनेर स्थानीय वासिन्दाहरु खुसी भए पनि तिनको खुसीमा संघीय सरकारको ग्रहण लागेको छ । देशभित्र भित्रीसकेको रेल पनि चल्न सकेको छैन । कुरो के त भन्दा लोकोपाइलट छैन, टिटी छैन, गार्ड छैन, स्टेसन मास्टर छैन, स्टेसनमा घन्टी बजाउने र झन्डा देखाउने छैन । अर्थात त्यहाँ काम गर्ने मानिसहरु नै छैनन् ।
यो त रेल ल्याउनुभन्दा अगाडि नै सोच्नु पर्ने होइन सरकारले ?
जब नेपालमा लिक ओछ्याउने काम भइरहेको थियो, त्यसैबेला भारतमा एकातिर लोकोमोटिभ इन्जिन बन्दै थियो भने अर्को तिर बोगी । यसरी रेल तयार हुँदै थियो । तर विकासको ठूलो ठूलो सपनाको कुरा गर्नेले रेल यत्तिकै चल्दैन, त्यसलाई चलाउन लोकोपाइलट पनि चाहिन्छ भन्ने सोच्दै सोचेन ! यदि साच्चिकै विकास गर्ने सोच्थ्यो भने रेलको निर्माणसँगै त्यसका लागि चाहिने दक्ष जनशक्तिको उत्पादमा पनि ध्यान दिने थियो । नतिजा अहिले आम नेपालीले भोग्नु् परिरहेको छ । दक्ष जनशक्तिको अभावमा अरबौं खर्च गरेर निर्माण गरिएको रेल त्रिपालले छोपेर राख्नु परेको छ । अनि भ्याएसम्म आफ्नो मानिसलाई रेल्वेमा जागिर खाने अवसर दिउँ भन्ने निहुमा कर्मचारी राख्ने र फ्याक्ने काम गरिँदै आइएको छ । के यही हो देशको विकास ? के यस्तै विकासले समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ? आखिर जनता किन मुकदर्शक भएर बसिरहेका छन् ? यसरी त रेल्वेको विकास हैन रेल्वेको सत्यानाश हुँदैछ ।