अत्तालिँदै ठूला तीन दल

Home Feature

काठमाडौँ । देशको राजनीतिलाई अस्तव्यस्त पार्ने शीर्ष तीन दलका प्रमुखहरु अताल्लिएका छन् । नेपाली कांग्रेसले गत शनिबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा सहभागी हुने क्रममा कांग्रेस सभापति, एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीले एउटै जवाफ दिएर आफूहरु अताल्लिएको आभास दिएका हुन् । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको बताए । उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’ राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै देउवाले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासालाई उनले अस्वीकार गर्दै भने, ‘दलभित्रको फरक मत हुन सक्लान् यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’ त्यस्तै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेकोले यसको जवाफ दिइने बताए ।
उनले पत्रकारको जिज्ञासामा उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’ ओलीसँगै कांग्रेसको चियापानमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डंगोल लगायतका नेता पुगेका थिए ।
त्यस्तै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताए । उनले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे । प्रधानमन्त्रीले भने, ‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’ उनले पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए । ‘तपाईहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधूप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ’, प्रचण्डको भनाइ थियो ।