किन आए राष्ट्रसंघका महासचिव

Home Feature

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि पहिलो पटक नेपालमा छन् । उनी आइतबार बिहानै काठमाडौँमा आइपुगेका हुन् । नेपालमा चन्द्र ग्रहण लागिरहेका बेलामा आएका उनले नेपाललाई दिने चिज खासै केही छैन । विज्ञहरुका अनुसार उनी आफ्नो छवि बनाउन नेपाल आएका हुन् । नेपाललाई उनले दिने केही पनि नभएको भन्दै विज्ञहरु संयुक्त राष्ट्र संघको गरिमा जोगाउनका लागि उनले भरमग्दूर प्रयास गर्दैछन् । उनले निकै नै आलोचना खेपेको हुनाले आफ्नो त्यो कालो धब्बा मेट्नका लागि विश्वका विभिन्न देश घुम्ने क्रममा नेपाल पनि आएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । उनले आइतबारै राजनीतिक भेटघाट गरेका छन् । उनले मंगलबार संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ । महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्दै गर्दा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगिएको छैन ।
यता प्रचण्डलाई यही संक्रमणकालीन न्याय (टीआरसी) को चिन्ताले खाएको छ । यही बेलामा टीआरसी विधेयक पारित गर्न पाइयो भने आफू सुरक्षित हुन सक्नेमा प्रचण्डको ध्यान छ । त्यो के होला अर्को पाटोको कुरा । तर नेपाल र संयुक्त राष्ट्र संघको सम्बन्ध भने साढे छ दशक पुरानो हो । संयुक्त राष्ट्र संघको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसंघकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसंघको झण्डा मुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ ।
सन् १९४५ अक्टोबर २४ राष्ट्र संघको स्थापना भएकामा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्र संघको सदस्य बनेको थियो । नेपालले सन् १९६९(७० र सन् १९८८(१९८९ मा दुई पटक राष्ट्र संघको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको रहेको छ । राष्ट्र संघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता साढे छ दशकभन्दा बढीको छ ।
सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसंघ शान्ति सहायता अभियानसँगको सहकार्य शुरू भएको हो । पहिलो नेपाली युनिट पुरानो गोरखगण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसंघका अधिकांश शान्ति मिसनमा सक्रिय सहभागी हुँदै आएको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सेनाले इन्जिनियर, मेडिकल र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज सहभागी गराएर राष्ट्र संघको शान्ति कार्यमा महत्वपूर्ण योगदान दिइरहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्र संघ लगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएको छ । विश्व शान्ति स्थापनामा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरीयतामा भएको राष्ट्र हो । विश्वका १३ मिसनमा हाल नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन् । राष्ट्रसंघको आह्वान भएको खण्डमा नेपालले शान्ति कार्यमा दश हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ । नेपाली सेनाले राष्ट्र संघ स्थापना दिवस हरेक वर्ष विविध कार्यक्रम गरी मनाउने र त्यस अवसरमा नेपालले पु¥याएको योगदानको समीक्षा गर्ने अभ्यास रहिआएको छ । यस वर्ष पनि सेनाले यही कार्तिक १ गते शान्ति पदयात्रासहित ‘यूएन डे’ कार्यक्रम गरेको थियो ।