नीतिविहीन बन्यो राप्रपा

Home Feature राजनीति समाचार

काठमाडौं । पार्टी भनेको विचारले चल्ने हो । जहाँ विचार हुन्छ त्यहाँ पार्टीको नीति हुन्छ । जहाँ विचार हुँदैन त्यहाँ पार्टीको नीति हुँदैन । विचारविहीन न त मानिस हुन्छ न त पार्टी नै । जसको विचार हुन्न उसको केही हुँदैन । विचारमा मतभेद हुने पार्टी पनि अगाडि बढ्न सक्दैन ।


राप्रपा अगाडि बढ्न नसक्ने ‘विचारविहीन कम्बो’ बनेको छ । यसको सबै अपजश कमल थापाले लिनुपर्छ । राजसंस्थाले हुर्काएर ल्याइदिएको मान्छेले त्यही राजसंस्था बेच्न सघाउ पु¥यायो । २०६५ सालमा राजसंस्था फाल्नका लागि कमल थापाले सघाउ पु¥याए ।


हरेक परिवर्तनका साक्षी बसेर पछि फेरि राजसंस्था चाहिन्छ भनेर नाटक गर्ने उनी राजसंस्था द्रोही हुन् भन्दा फरक नपर्ने एक राजसंस्थासंग निकट राप्रपाका एक नेताले भने । उनले भने, ‘तपाईले नाम लेखिदिनु भयो भने फेरि कमल थापाले बस्न खान दिन्न नाम नलेख्नुस् तर उसले राजामाथि गद्दारी गरेकै हो ।’


राप्रपा साँघुरो हुँदै गएको छ । दल त्याग गर्ने परम्परा बसेसंगै राप्रपामाथि संकट निम्तिएको छ । पञ्चहरुको ‘ट्याग’ मेट्न नसकेको राप्रपा अहिले यही अवस्थामा पुगेको छ । सनातन हिन्दूधर्म र राजसंस्थाको मूख्य एजेन्डा बोके पनि सत्ताका लागि एजेन्डालाई मिल्काउँदा राप्रपामा कार्यकर्ताको आकर्षण घट्दो छ ।


अध्यक्षत्रयको चंगुलमा पार्टी फस्दा युवा र दोस्रो पुस्तामा पार्टीप्रति आकर्षण छैन । बाबु सूर्यबहादुर थापाको विरासत धान्न राजनीतिमा होमिएका राप्रपाका तत्कालीन महामन्त्री सुनीलबहादुर थापा साउन १३ गते पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरे । पार्टीको नीति, सिद्धान्त तथा योजनाहरु समयसापेक्ष परिमार्जन गर्नुपर्ने पक्षमा रहेका थापामात्र कांग्रेसमा प्रवेश गरेनन् केन्द्रीय समितिका ३१ जना र देशभरबाट धेरै संख्यामा पार्टी छोड्ने लहड नै चल्यो ।


भलै केही केन्द्रीय सदस्यहरुले हामी पार्टी छाडेका छैनौं भनेर सामाजिक संजालमा स्टाटस लेख्न भ्याए । तर उनीहरु पार्टीमा बस्ने आधार पनि देखिरहेका छैनन् । राप्रपा भित्रका केहीलाई यस्तो लाग्छ कि पूर्वराजा ज्ञानेन्द्र शाहका लागि आफूहरुले राजनीति गरिरहेका छौं । कसैलाई यस्तो लाग्छ कि उनीहरु हिन्दूराष्ट्रका लागि राजनीति गरिरहेका छन् । तर बोलेर हुन्छ र । खोइ त व्यवहारमा ?
केही महिनाअघि तीन फरक ध्रुवमा उभिएका कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी एकै कित्तामा उभिएर राप्रपा एउटा पार्टी बनाए पनि पार्टीभित्रको तिक्तता कमी भएको छैन । स्थापना नै दुई ध्रुवबाट उदाएका पार्टी पुस्तानान्तरणको अभावमा रसविहीन भएको छ ।


एजेन्डा मिल्काएर कुर्सी लोभमा लिप्त हुनु राप्रपाको गम्भीर गल्ती हो । सनातन हिन्दूधर्म र राजतन्त्रको एजेन्डा बोक्ने तर धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको संविधानलाई स्वीकार गरेर सत्ताको छिनाझम्टीमा लाग्नु नै पार्टीको अघोगति हो ।


इतिहास हेर्दा राप्रपा छ वटा भन्दा बढी चिरामा विभाजित भएकै हो । तर लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भए पनि जनताले राप्रपाका १९ जनासम्म नेताहरुलाई मन्त्री बन्ने अवसर दिएकै हुन् । खोइ त त्यसको सदूपयोग ? केवल थोरै शक्तिमात्र हुँदा पनि दुरुपयोग गर्न भ्याउने कमल थापारुपी नेतृत्व रहेसम्म राप्रपा सुध्रिन्न । उनी पूर्वराजाको दर्शनमात्र पाए भने ठूलै युद्ध जितेजस्तो गर्छन् । अनि कमाइ खाने भाँडो बनाइहाल्छन् ।

त्यसैले पनि पछिल्लो समय पूर्वराजाले भेट नदिएको साँचो हो । सुनीलबहादुर थापासमेत पनि भेट नपाइ कांग्रेसमा पलायन भए ।


वैकल्पिक शक्ति बन्नुपर्ने दल जब एक सिटमा खुम्चिन्छ तब जनताको अपमान नभएर के हुन्छ ? जनताको आँखामा छारो हाल्न एजेन्डा देखाउने तर कुर्सी देखेपछि पार्टी फोड्न र आफ्नो सिद्धान्तलाई उपेक्षा गर्न पछि नपर्ने शीर्षस्थ नेतृत्वको प्रवृत्तिले राप्रपामा नागरिकको आकर्षण घटेको छ । अब अहिले चेत नखाएको राप्रपाले कहिले चेत्ने होला ।