टोलमा पिच, भुँडी विकास

Home Feature लेख विचार

काठमाडौं । लकडाउनले सबै रन्थनिएका छन् । मानिस काममा जान सकेका छैनन् । जाने अवस्था पनि छैन । कोभिड १९ को संक्रमणको डरले सामाजिक र व्यक्तिगत दूरी अनिवार्य भएर गएको छ । मानिसले आफन्तसँगै पनि निश्चित दूरी कायम राख्नुपर्ने अवस्था छ । दुई जना भेट हुँदा पनि एक डेढ मिटरको ग्याप आवश्यक भएको छ । त्यसदेखि बाहेक नाक, मुख, आँखा छोप्ने र हात धुने काम महत्वपूर्ण काममा दर्ता भएको छ ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउन ७७ दिन माथि पुगिसकेको छ । त्यसैले पनि आम मानिसमा लकडाउनप्रति आक्रोश पैदा हुँदै गएको छ । निश्चितरुपमा लकडाउन वर्तमान समस्याको दिगो समाधान होइन । लकडाउन खोल्नु र ‘अनलक’ को परिस्थितिमा केही बार बन्देज लगाइनु आगामी दिनका लागि महत्वपूर्ण हुनसक्छ ।

लकडाउनको यो समयमा काठमाडौंका धेरै स्थानमा पिच सडक निर्माण भएको छ । पछिल्ला केही साता यता सहरको सडक चम्किएको छ । ग्राभेल मात्रै भएका कतिपय टोलमा कालोपत्रे ओछ्याइएको छ । टोलटोलमा विकासको मूल फुटेको छ ।

टोल विकासका लागि, समाज विकासका लागि, देश विकासका लागि मानिस सडकसडकमा भिडेका छन् । त्यहाँ प्रस्ट नदेखिए पनि भुँडी विकासले प्रश्रय पाएको सबैले महसुस गरेका होलान् । तर बोल्न कोही सक्दैनन् । किनभने तत्कालका लागि टोल चम्किएको छ ।

लकडाउनको यो अवस्थामा सडक निर्माण हुनु केहीका लागि फाइदामूलक नै भयो होला । टोल र टोलमा बस्ने मानिसका लागि फाइदा पुग्नु स्वाभाविक हो । त्यस बाहेक केही मजदूर वर्गका लागि यो निर्माण कार्य प्रत्यक्ष फाइदाको विषय भएको छ । यो कामले मजदूर वर्गलाई ठूलो राहत दिएको छ । हुँदा खानेहरूका लागि लकडाउनको समयमा काम पाइनु आहाराको सहारा बनेको हो । यो सकारात्मक पक्ष हो ।

तर नकारात्मक पक्ष धेरै छ, यो विकासे कामको । नेपालमा सधैँ विकासका लागि छुट्याइएको बजेट सक्याउने काम बैशाख जेठमै हुँदै आएको छ । लकडाउन भए पनि, आर्थिक गतिविधि ठप्प भएपनि, आर्थिक अनियमितता ठप्प कुन सकेन । कमाउने सोचाईमा बिर्को लाग्न सकेन ! भ्रष्ट आचारण देखाउने प्रवृत्तिमा रोक लाग्न सकेन !

भनिन्छ, कमाउनेले छाल गनेर पनि कमाउँछन् । त्यस्ताले लकडाउन भए पनि विकास बजेट खर्च गर्न भ्याए । पातलो र कमसल भएपनि पिच सडक बनाएरै छाडे । लकडाउनले पनि भ्रष्टाचारलाई ‘लक’ गर्न सकेन ! बरु भ्रष्टाचारमा मलजल नै भयो ।

काठमाडौंमा अहिले गरिएका पिच सडक यति पातलो छ, त्यो पिच दुई वर्ष पनि टिक्छ कि टिक्दैन भन्ने शंका गर्न थालिसकेका छन्, कतिपय टोलबासीहरूले । तर धूलो उड्नुभन्दा पिच सडक नै ठीक भनेर तिनीहरू मौन भएका छन् ।

पिच सडक निर्माण गर्दा पिचमा गुडने गाडीहरू संख्या, वजन, तिनले बोक्ने भार सबैको मूल्यांकन गरेर मात्रै पिचको मोटाई कति हुनुपर्ने हो भन्ने सर्वे गरिन्छ । र पछि थप गाडी गुड्न सक्ने अनुमान गर्दै सर्वे गर्नेको दृष्टिकोण अनुसार पिच निर्माण गरिन्छ । इन्जिनियरहरू यस्तै भन्छन् ।
तर काठमाडौं राजधानी भए पनि यसरी कहीँ कतै सर्वे गरेको देखिँदैन । र पिच बनाउँदा आफूखुशी बनाउने चलनले पिच सडक जहिले पनि कमजोर र पातलो बन्दै आएको छ । लकडाउनको यो समयमा झन बलियो र पक्का काम गर्न सक्नु पर्दथ्यो । तर त्यसो भएको होला र ?

के नेपालको विकास कार्य यस्तै गरि सधैँ चलिरहन्छ त ? यसलाई विकास भएको मान्ने कि विनाश ? पिच बनेका टोलबासीहरूले दुई चार महिनापछि यो प्रश्न पक्कै उठाउने छन् ।