बडादशैंमा निर्मल निवासको माहोलले दिएको सन्देश

Home Feature

गणतन्त्रप्रति चरम निराशा


काठमाडौँ । नेपालमा गणतन्त्र नफापेको पक्कै हो । त्यसो त गणतन्त्र कुन देशमा पो फापेको छ र । गणतन्त्र मुलुकहरुको आय दिनानुदिन खस्कदो छ र ध्वस्त भैसकेका छन् । जस्तो विश्वका सबैभन्दा गरिब मुलुकहरु यमन, लाइबेरिया, मलावी, नाइज, कंगो, सियरालियोन, म्याडागास्कर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक, सोमालिया र बुरुन्डीमा गणतन्त्र छ । प्रतिव्यक्ति आयका हिसाबले यी देशहरु सबैभन्दा गरिब छन् । जहाँ गणतन्त्र छ । राजतन्त्र भएका मुलुकलाई हेरौं ः लग्जम्बर्ग, बर्मुडा, नर्वे, डेनमार्क, कतार, स्वीडेन, अष्ट्रेलिया, नेदरल्याण्ड्स, क्यानडा, बेल्जियम र न्यूजिल्याण्डमा राजसंस्था छ ।
यी मुलुकहरु धनी मुलुकहरु हुन् । जहाँ प्रतिव्यक्ति आय ४८ हजार ८०२ अमेरिकी डलरदेखि माथि छ । यो आर्थिक रुपले आयका रुपमा दिइएको एक उदाहरण हो । नेपालको हालत पनि यस्तै छ । दलीय स्वार्थका कारण राजसंस्था ढालेर आएको गणतन्त्रले देश दिनानुदिन कंगाल बन्दै गइरहेको छ । नागरिक गरिबीको रेखामुनि रहनेको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । यति हुँदा पनि दलहरुले कुनै कदम चाल्नु त परै जावस् आफूहरुको राज गर्ने समय गुम्ला भनेर अझै पनि राजसंस्थालाई दोष दिइरहेका छन् । तर पूर्वराजा ज्ञानेन्द्र शाहबाट भने संयम तरिकाले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइएको छ ।
गत मंगलबार बडादशँैको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने क्रममा निर्मल निवासमा पूर्वराजाबाट हालका गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइएको हो । पूर्वराजाबाट व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरिएको हो । सन्देश दिँदै पूर्वराजाबाट भनियोे, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’ भुइँचालोको प्रयोग भने दलहरुलाई राम्रो सन्देश हो । किनभने दलहरु मिलेर खाइरहेका छन् । देश बनाइरहेका छैनन् । पूर्वराजाबाट यसअघि पनि कुनै सन्देश दिइयो भने आफूहरुको लुटेर खाने रोजीरोटी खोसिने चिन्ताले गर्दा नेताहरु बुरुक्क उफ्रिदै पूर्वराजालाई चुप लाग्न भन्छन् । यसबाटै स्पष्ट देखिन्छ कि उनीहरु कति पानीमा छन् । अनि बडादशैँको दिनमा उच्च पदस्थदेखि लिएर सर्वसाधारण जुन भक्तिभाव र विश्वास लिएर राजसंस्थालाई अभिभावक ठानेर टीका लगाउन सयौँको संख्यामा निर्मल निवास जानुले पनि देखाउँछ अबका दिन दलहरुका लागि खैरियत छैनन् । सबैभन्दा ठूला जनता नै हुन् । जनताले चाहे भने जस्तोसुकै तानाशाहलाई पनि फाल्न सक्छन् । जब २००७ सालमा १०४ वर्षे लामो राणाशासन जनताले फाले भने गणतन्त्रका नाममा सीमित नेताहरुले लुटेको देश र जनताको ढुकुटी अब रोक्न दिइँदैन भनेर अभिभावक खोज्दै राजसंस्था पुनःस्थापना नगर्लान् भन्ने छैन । पछिल्लो माहोलले त्यही देखाइरहेको छ । अब राजसंस्था टाढा छैन । निर्मल निवासमा पूर्वराजालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गर्दै बालदेखि वृद्ध–वृद्धाले आग्रह गरिरहेका थिए ।