सिटोमोल दिन नसक्ने सरकार कति दिन ?

सम्पादकीय


अपवित्र गठबन्धन, परादेशले बनेको सरकारले नेपाली जनतालाई अति आवश्यक औषधि, त्यो पनि महामारी मच्चिएको अवस्थामा पनि उपलब्ध गराउन सकेन । एक ट्याबलेट सिटामोलको लागि नेपाली जनता भारतको बोर्डरसम्म पुग्न बाध्य भयो र पछि सर्वोच्च अदालतको आदेशबाट दिनको तीनलाख ट्याबलेट उपलब्ध गराउन सकिने भनी गठबन्धन सरकारले फुक्यो । यतिसम्म असक्षम त पहिले कुनै सरकार थिएन, न त्यो राणाकालमा न पञ्चायतकालमै थियो । अहिले त नेपाली जनतालाई एउटा सिटामोलसमेत समयमै उपलब्ध गराउन नसक्ने सरकारबाट नेपाली जनताले अरु के पो आश गर्न सक्लान् र ! त्यसैले पनि यस्तै विपरीत ध्रुवमा हुर्केका, विपरीत विचारधाराका पार्टीबाट बनेको सरकार चाँडोभन्दा चाँडो विदा दिएर अर्को सरकारको खोजी गर्नु नै अति आवश्यक देखिन्छ । तर दुर्भाग्य अवैध गर्वबाट जन्मेको संविधानले गर्दा यस्ता अपवित्र गठबन्धनहरुलाई पनि मान्नुपर्ने बाध्यता देखापरेको छ ।
अहिले गठबन्धनमा आगामी निर्वाचन सम्बन्धी गम्भीर बहसहरु शुरु हुन थालेको छ, नेपाली कांग्रेस र माओवादीको शरणमा हुर्केको माधव नेपालको छटपटि विगत केही साता यतादेखि सुन्दा, निर्वाचन पछि पार्टी अस्तित्वमै नरहने गरी समाप्त हुने लक्षण देखिएको छ भने पटक पटक असक्षमको बिल्ला बोकेका देउवाको नेतृत्वको कांग्रेसको पनि भविष्य त्यति राम्रो देखिँदैन । त्यसरी नै आम नेपालीमा विगत जनविद्रोहको नाममा माओवादीले नेपाली जनतामाथि गरेको अत्याचारको बदला यसैपटक लिने तयारीमा आम नेपाली देखिन्छन् । यी यावत कारणहरुले गर्दा पनि यो गठबन्धन सरकार चुनावबाट भाग्ने कोसिस गरिरहेछ । अझ थप त राष्ट्रपति स्वयं नै स्थानीय निकायको निर्वाचन समयमै गर्नु पर्दछ भन्ने आदेश आशयको पत्रै सरकारलाई पठाएपछि गठबन्धन सरकारको निद हराम भएको छ ।
प्रजातान्त्रिक मुलुक भनी संसारको अघि चिनाउनुपर्ने, भ्रष्टाचारमा अग्रस्थानमा पुग्ने र जनतालाई सिटामोलसमेत उपलब्ध समयमै गराउन नसक्ने सरकार चुनाव नगराएर कति दिनसम्म भाग्न खोज्न सक्छ र ! अहिले संसद चल्न सकेको छैन, कुनै नियम कानुन बन्न सकेको छैन, अदालत प्रायः अझै पनि ठप्प छ, यसरी तीनै अंग ठप्प भएको बखतमा समयमै निर्वाचन गरेर जनताको आवाजको कदर गरिनु अति आवश्यक देखिन्छ । दुर्घटनाको नजिक पुगिसकेको मुलुक फेरि कहिले नजोगिने किसिमले दुर्घटना व्यहोर्नु पर्ने हुन्छ, त्यो अहिले नै आँकलन गर्न नसकिए पनि त्यो अवस्था त्यति टाढा देखिँदैन ।