चुनाव सर्वत्र लागेको छ । स्थानीय तहको यो निर्वाचनले गाउँगाउँ जागरुक गराएको छ । स्थानीय तह भन्नासाथै आफ्नो गाउँठाउँको हेरचाह र विकासका लागि आफ्नै क्षेत्रका अब्बल मानिसलाई, केही गर्नसक्ने व्यक्तिलाई त्यो ठाउँमा लाने भन्ने हो । नगरमा मेयर, उपमेयर वा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष अनि सबै स्थानीय निकायका वडावडामा वडाध्यक्ष र सदस्य । गाउँमा कसले कतिको राम्रो काम गर्नसक्छ भन्ने कुरो त्यो गाउँको मानिसलाई मात्रै थाहा हुन्छ । त्यहाँ कुनै पार्टीको मानिसले भन्दा गाउँ समाजसँग भिजेको मानिसले राम्रो काम गर्नसक्छ भन्ने देखिरहेका हुनसक्छन् । पार्टीले त माथि पहुँच छ भने तल गाउँ वा नगरका जनतासम्म आफ्नो पहुँच छ भन्ने हेर्नै सक्दैन । उसले त माथिको नेता हेरिरहेको हुन्छ । त्यस्ताले गाउँको विकास गर्न के सक्लान र ? तिनले त आफ्नो गाउँ र गाउँलेको भन्दा पनि पार्टीको माथिल्लो तहमा बसेका नेताको चाकडी गर्न सक्छन् । किनभने तिनलाई टिकट माथिबाटै मिलेको हुन्छ । तर टिकटभन्दा जरुरी गाउँ ठाउँमा गरिने काम नै हुन्छ । कसले राम्रो काम गर्नसक्छ, घुस नखाएर । त्यतातिर अलिकति मात्रै पनि जनताले सोचिदिने हो भने स्थानीय निकायमा पार्टीभन्दा राम्रो काम गर्ने मानिस हाबि हुन्छ । र भोलिका दिनमा पार्टीले पनि राम्रो काम गर्ने मानिसको खोजि गर्छ । उसले मेरो मान्छे भनेर खोजि नगर्न सक्छ ।
यसका लागि हामी जनता नै जागरुक हुनुपर्छ । जसरी हामी बिहान साँझ चिया पसलमा समग्र राजनीतिमाथि छलफल गर्छौं, त्यसरी नै त्यहीँ बसेर यो गाउँ कसले बनाउन सक्छ भन्ने छलफल गर्ने हो भने त्यसले सही मानिसलाई स्थानीय निकायमा पु¥याउँछ र त्यसले काम गर्दा पनि गाउँ समाज र नागरिकको हितमा बढि ध्यान दिन्छ ।
पार्टीले त कार्यकर्ता उठाउँछन् नै । कार्यकर्ताले पनि गाउँको विकासलाई गाउँलेको हितलाई ध्यानमा राखेको छ र आफू पदमा नहुँदा पनि गाउँको हितमा केही गरेको छ भने तिनलाई एकपटक हेर्न सकिन्छ । तर पार्टीको नाममा जनताको हित नहेरी आफ्नो र पार्टीका माथिल्ला नेताको मात्रै हितलाई हेर्छ भने त्यस्तालाई सबक सिकाउने बेला अहिले नै हो । मतदान गर्दा आफ्नो मतको सदूपयोग होस् भन्ने तर्फ हरेक मतदाताले सोच्नु राम्रो हुन्छ । हैन, पहिलेजस्तै पिर्के सलाम खानेहरुलाई स्थानीय निकायमा पु¥याउने हो भने तिनले फेरिपनि केही गर्ने छैनन् । दुःख जति सबै नागरिककै भागमा पर्छ, यस्तो बेलामा ।त्यसैले सोचौँ । हाम्रालाई होइन राम्रालाई चुनौँ । हाम्रै हातमा छ यो काम ।