भन्ने त गाउँगाउँमा सिंहदरबार तर नेताको हुकुमी छाप…

यताउताका कुरा

३० गते वैशाख, जसरी हुन्छ आफ्नोलाई चुनाव जिताउनु पर्छ । राम्रोसँग केको वास्ता सबैतिर हाम्रालाई जिताएर ल्याउनु पर्छ । भन्न त स्थानीय तहकै सिफारिसमा उम्मेदवार उठाइने भनियो तर स्थानीय सिफारिसलाई नेताहरूले धोती लगाइदिए–आपूmलाई जो मन पर्छ उसैको नाममा पुर्जी तयार । एकथरि चुनावका दावेदार, केन्द्रबाट नेताको हस्ताक्षर लगाएर पुर्जी लिएर गए, उम्मेदवारी दर्ता गर्ने ठाउँमा पार्टीका कार्यकर्ताले च्यातचुत पारिदिए–त्यति मात्र होइन थप्पु पनि लगाइदिए । उम्मेदवारी पाउन गरेको प्रयासमा असिना प¥यो । नेताले जे भन्यो त्यही सदर अर्थात जसोजसो पुरेतबाजे उसैउसै स्वाहा गर्ने हो भने गाउँगाउँमा सिंहदरबार–के भनेको होला । उम्मेदवारको कुरा गर्ने हो भने गाउँ पुगेको सिंहदरबार फेरि फर्केर पुरानै ठाउँमा आएर थचक्क बसेको छ । भन्न त विकेन्द्रीकरण भन्ने गरिन्छ, संघीयतामा सर्वसाधारणसम्म अधिकार पुग्छ भनिन्छ । तर आफ्नो हातको अधिकार हात काटेर अरुलाई कसले दिन्छ । संघीयता रमाइलो गर्ने कुरा मात्र, कसले मान्छ अर्काको जसो मन लाग्यो त्यसै गर्ने कुरा–आफ्नो हैकम सदा जिन्दावाद । उम्मेदवारीमा भयो गन्जागोल, एउटाको बारे अर्काले लगायो पोल–यस्तै हो गाउँमा सिंहदरबार ।
यसपल्टको डाडू पन्यू कम्रेड ओली र प्रचण्ड, जय नेपाल देउवाको हातमा थियो । यिनै तीन जनाले पाँडे पजनी गर्न भ्याए । बिहानसम्म एमालेको टिकट पाउने कुरामा ढुक्क भएको मान्छे दिउँसो अर्कैले टिकट पाएपछि दिक्क भएर पार्टी परित्याग गरी अर्को पार्टीमा गयो । अनि के खोज्छस् काँनो आँखा भनेझैं नेताबाले पार्टी टिकट तत्काल थमाइहाले । केहीले टिकट दिलाएवापत छोटामोटा रकम कमाइहाले । दिउँसोसम्म सूर्यको न्यानो तापिरहेको मान्छे बेलुकातिर घामले पोल्न थाल्यो र रुखको छहारी खोज्दै हिँडे । अनि रुखमा छहारी खोज्दै हिँडेको मान्छे न्यानो खोज्न घामतिर लागे । रहर पु¥याउनु न हो–चाहिएकै बेला टिकट । यो गोलमालको राजनीति–कसले के गर्छ थाहा छैन । सूर्य चिन्हमा मलाई टिकट मिल्छ भनेर ६ दिनअघि एमालेमा अबिर र खादासहित पसेको मान्छे, टिकट अर्कैलाई मिल्ने भयो भनेपछि टापकसे अर्कै पार्टीमा । यतिखेर नीति र सिद्धान्तको कसलाई वास्ता–नपाउने टिकट अर्को पार्टीमा गएर पाइन्छ भने को कुरेर बसोस् । नेताले हुकुमी पारामा टिकट दिलाइदिने भएपछि दलबदलु कति कति । यस्तै हो राजनीतिमा आयाराम र गयारामको ताँती लागि नै रहन्छ ।


पिताजीकै बाटोमा


प्रजातन्त्र पुनस्थापना भयो । गणेशमानलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो । तर उनले त्यो पद कृष्णप्रसाद भट्टराईलाई सारिदिए–सबैतिर हाईहाई भयो । तर चुनावको बेला आएपछि श्रीमती र छोरो दुवैलाई काठमाडौंबाट संसदका लागि उम्मेदवार बनाइयो । जनताले भने यो कति लोभ गरेको । त्यागी गणेशमानका घरका लोभी दुवैजना हारे । हाम्रा प्रकाशमान सिंहले त्यो सम्झेनन् कि कसो ? यसपल्ट काठमाडौं महानगरको मेयरमा श्रीमतीलाई अघि सारे । हिजोसम्म सिर्जनासिंह को भनेर नाम नसुनेका काठमाडौंबासीले प्रकाशमानकी धर्मपत्नी भनेर चिने । भरखरै चिनेको मान्छेलाई भोट हाल्लान् त ?
अलि फर्केर हेरौं–नेपाली कांग्रेस सभापति पदको दोस्रो चरणमा केही दिन अघिसम्म मुखभरी गाली गर्दै आएका देउवालाई सहयोग गरे । त्यो सहोग किन गरे भनेको कुरा बल्ल खुल्यो । म तिमीलाई सहयोग गर्छु तिमीले मेरी श्रीमतीलाई काठमाडौंको मेयरमा उठाउनु पर्छ । लाभको लागि आपसी शेयर गरिएको रहेछ भन्ने बल्ल मतदाताले बुझे । कसैको आशीर्वादले पद पाइँदैन, जनताको भोट चाहिन्छ । अहिले देउवाको आशीर्वाद पाइयो–चुनावको बेलामा जनताको माया पाइन्छ पाइँदैन । ललितपुरका मतदाता सत्यमोहन जोशीको आशीर्वाद माग्न अस्पताल पुगेकी सिर्जनालाई आशीर्वाद त मिल्यो । तर भन्छन् प्रकाशमानले पनि पुज्यपिताजीकै पदचरणको अनुशरण गरे । कसो एउटा छोरालाई वडा अध्यक्षमा उठाएनन् । जे होस्–छोरो भनेको बाबुकै पदचिन्हमा हिँड्नु पर्ने हो–प्रकाशमान काजीले त्यसलाई कायम राखे ।


मागे ओली

दमकमा मेयर बनेर खुबै शयर गरेका रामप्रसाद ओली यसपल्ट राप्रपाका उम्मेदवार राम थापाको ठूलै प्रहार पर्छ र आपूm पछारिन्छु भनेर उम्मेदवारको दावीसमेत नगरेर भागे । पोखरा महानगरपालिकाको लागि उपमेयरमा नाम राखिएकी मञ्जु गुरुङले पनि आपूmलाई सोध्दै नसोधी नाम राखेको भनेर अस्वीकारको नाटक गरेकी छन् । पृथ्वी सुब्बा गुरुङको पूरै सहयोग पाउँदा पाउँदै पनि मेयर पदको उम्मेदवारी नदिएको भनेर घुर्की देखाएको हुनसक्छ । अहिले बढी चर्चामा रहेको झापा हो–त्यहाँका नेताहरू मापाका छन्, कतिखेर के गर्छन् के भन्छन् भन्न सकिँदैन । उम्मेदवारी दिने केही दिन अघिसम्म आफ्नो विरादरी भाइका लागि ओली कम्रेडले पक्का उम्मेदवार भन्ने गरेका थिए, उनलाई उम्मेदवार उठाउँदा हार्ने पक्कापक्की देखेर होला पिपलको पात पल्टिएझै अर्कैलाई अघि सारे । कसैकसैसँग राम्रै डराउनु पर्ने रहेछ । आफ्नो निर्वाचन क्षेत्रको नगरपालिकाको चुनावमा आफ्नै दाजुभाइ हारे भने आपूm उम्मेदवार बन्दा ओली हारे भन्ने हुइयाँ भएर असर पर्ला भन्ने डरले मेयर ओलीले खुट्टा कमाए–अब एकजना महिला नेतृ कस्सिएर पो आइन् त । आएआँप गए झटारो–जिते एमालेको जित हारे कमजोर उम्मेदवार भनेर चित्त बुझाउन पाइने भयो–लौ सीता दिदी आफ्नो भाग्य आजमाउनोस् ।
झापा यसपल्ट चुनावको सन्दर्भमा कुरुक्षेत्र नै सावित हुने हो कि ?। राजेन्द्र लिङ्देन अघिल्लो पल्टको संसदीय निर्वाचनमा एमालेको लौरो टेकेर जितेका हुन्, कांग्रेस हराउनुपर्छ भनेर एमालेले राप्रपाको चिन्हमा छाप लगाएको हो–सब दिन नहीं हो त एकसमान–यसपल्ट आपूmलाई दरिलो हतियार ठान्ने राप्रपाले कांग्रेससँग मिलेर एमालेलाई पानी पिलाउने लक्षण ल्याएको छ । त्यसैले पुराना नेता पन्छिने नयाँ नेता भित्रिने भएको छ । तर बोकेको कुकुरले मृग मार्दैन भनेझैं नवप्रवेशीले जुध्न सक्लान् भन्नेमा शंकै छ । ठूला नेताहरूलाई पक्कै चुनाव जितिन्छ भन्ने विश्वास हराउँदै गएकाले पहिलेको साख जोगाउन जताजता पायो उतैउतै गठबन्धन गर्दै हिँडेका छन् । नभए ओली कम्रेडले ढोडाको लौरो जस्ता परिवार दल र कमल थापाको राप्रपासँग किन गठबन्धन गर्नु पथ्र्यो ।


पछारिए पौडेल र गुरुङ

लोभले लाभ लाभले बिलाप भनेझैं सिक्रीको लोभ गर्दा खल्तीका सुन प¥यो, तर त्यही सुनले मेयरको उम्मेदवारीबाट चिप्ल्यायो । भागमा आएको गाँस मुखमा हाल्न पाइएन । कताको साने कताको सानेको बाबु भनेझैं कताको पौडेल कताको थापा हुन पुग्यो । नचिताएको लाभ थापाकाजीको प¥यो, नसोचेको विलाम पौडेलबाजेले गर्नु प¥यो । त्यसो त कम्रेड पृथ्वी सुब्बा गुरुङको आशीर्वाद पौडेलको पक्षमा नै थियो । तर सोचेजस्ती स्वास्नी र खोजेजस्तो धन पाइदोरहेनछ । अहिले सुब्बा कम्रेड नै बिलखबन्दमा परेका छन् । उनलाई लागेको थियो विभिन्न थरिका निहुँ निकालेर भए पनि कृष्ण थापाको लागि उम्मेदवारको ढोका बन्द गर्ने र बाजेको भागमा सिदा र दक्षिणा पार्ने । भयो के भने आपूm ताक्ने मुडो बञ्चरो ताक्ने घुँडो । त्यसो त सबैले भनेजस्तो कहाा पो हुन्छ र ?। चिन्ता केमा भने आफ्नो मान्छेको भागमा परेको उम्मेदवारी खोसेर प्रदेशका प्रतिद्वन्द्वीका मान्छेको हातमा सुम्पनु पर्ने ।
चुनावभन्दा पनि उम्मेदवार छान्नमा गाह्रो । उम्मेदबार बनाइसकेपछि आफ्नो जिम्मा पूरा । जित्ने न जित्ने उम्मेदवारको तागतमा भर पर्ने । उम्मेदवारसम्म बनाउन नसक्दा आफ्नो इज्जत माटोमा मिलेजस्तो । खगराज अधिकारीको अगाडि गुरुङ नतमस्तक भनेर थापाकाजीको नाममा ल्याप्चे लगाउन प¥यो । यस्तै हो–मधेशतिरका कतिपय लोभीपापी नेता एमाले बनेर पद लुड्याउला भनेर भरखरै ओली बाको हातबाट अबिर र माला लगाएर छाती तन्काउदै अब एमाले भइयो–मेयर उपमेयर मध्ये एउटा कसो न पाइएला भनेको तर आफ्नो क्षेत्रमा अर्कैले दाउ मारेपछि एकहप्ता नबित्दै एमाले परित्याग । पस्न बेर न निस्कन बेर । नवप्रवेशीहरूले लाभ न पाउनासाथ पार्टी परित्याग ।


अन्त्यमा–
ठूला पार्टीका नेता पहिले आफ्नो कार्यकर्तालाई चाकरी गर्न लगाउथे, अहिले ठूला नेता भुइँमान्छेको चाकरी गर्न बाध्य भएका छन्–धन्य हो चुनाव ।