कोरोनाले ठूलाबडा ताक्यो ः ठूलाबडाले भाषण… – घुमन्ते

यताउताका कुरा


कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भन्ने उखानलाई साख्खै चरितार्थ बनाउँदै ठूलाबडाहरू कोरोना महामारी नियन्त्रणतिर भन्दा हुल बटुलेर भाषण गर्नेतिर लागे । सबैको प्रयासमा कोरोना रोकौं भन्नुभन्दा कसरी धेरै जनाको भीड जम्मा गर्न सकिन्छ र खल्तीबाट नाम झिकेर नेता बनाउन सकिन्छ भन्नेतिर लागे । असेपासेहरू जनताले होइन, नेताले तानेर नेता बनाउने हो भनेर सके मूल नेताकहाँ न सके भाइनेताहरू कहाँ पुगेर भए पनि खल्तीको लिष्टमा नाम पार्ने चक्करमा लागे । भाइनेता पनि नपाए छोरा नेताहरूको घरघर चहार्न थाले । नेताले भनिदिए–जसले धेरै मान्छे बटुल्न सक्छ ऊ नेताको नाममा अटाउँछ । अनि के चाहियो–देउवाको दर्शन गराउने भनेर पशुपतिको जात्रामा जान पाइन्छ भनेर मान्छे जम्मा गर्दै गए । कति सफल भए कति असफल– भीड जम्मा गर्दैमा पनि भएन । भीड बढ्यो कोरोना बढ्यो । कोरोनाले कार्यकर्ता मात्र होइन–नेतालाई पनि आफ्नो घेरोमा पा¥यो ।
यतिखेर कोरोनाले को को ठूलाबडा छ–त्यसलाई ताक्नुपर्छ भनेर ढोलहिटीदेखि कोटेरश्वरसम्मको चक्कर लगाइरहेछ । धन्न बालुवाटारका मुखियालाई समातेन । बालकोटका मुखिया जोगिएरै बसेका छन् । तर भन्न सकिँदैन–यो कोरोनाको कहर कहाँबाट फुत्त छिरेर कसैको फोक्सो र कसैको घाँटी अठ्याइदिन्छ । हाम्रा ठूलाबडाहरू भाषण भनेपछि शौचालय उद्घाटनदेखि चौर सम्याउनेसम्ममा पुग्दछन् र आँखा चिम्लेर दुई घण्टा धाराप्रवाह आफ्नो तारिफ र प्रतिपक्षीको उछित्तो काटेर बोल्दछन् । बुढी लागि गितामा स्यालले कुखुरो बोक्यो भने झैं थाहै नदिई कोरोना फुत्त भित्र पसिहाल्छ । अनि विस्तारै लक्ष्यण देखिन थालेपछि जचाउँदा पोजिटिभ । ठूलै जमात अर्थात बाक्लो भीडमा बाँच्न र नाच्न सिकेका नेताहरू ८।१० दिन एकान्तबास । त्यसो त एकथरिलाई अण्डर ग्राउण्ड बसेको अनुभव छ, तर त्यो अनुभव पुरानो भैसकेकाले कोरोनाको अण्डर ग्राउण्ड निकै कठिन हुन्छ । हाल कम्रेड प्रचण्डदेखि नारायणकाजी, देवेन्द्र पौडेलहरू एकातिरको एक्लो जीवन बिताइरहेका छन् भने कम्रेड माधव कुन दिन बाहिर निस्कन पाइएला भनेर छटपटाइरहेका छन् । आफ्नै बारेमा वेवास्ता गर्दछन् भनौं भने सत्ता पाउन मरिहत्ते गरेर लाग्दछन् तर स्वास्थ्य सुरक्षा भनेको जोसुकै जतासुकै लागोस् भनेर वेवास्ता गर्छन् । लाग्दछ–अझ कति नेतालाई कोरोनाको कहरमा नै बाँच्नुपर्ने हुन्छ–रहरमा होइन–आखिर यतिखेर कोरानाले ठूलाबडालाई ताकेको छ ।


तँ ठूलो कि म ठूलो


नेपालको अर्थतन्त्र चैते बतासले पात खसाले झैं दिनदिनै खस्कँदो छ । तर म सात प्रतिशतको बृद्धि दर पु¥याउँछु भन्ने अर्थमन्त्री र ३ प्रतिशत भन्दा बढ्दैन भन्ने गभर्नर बीचको झगडाले अझै ल झर्ने पक्कापक्की छ । एउटा आपूmलाई निकै जान्नेसुन्ने अर्थशास्त्री ठान्ने अर्को म त जनस्तरको अर्थ नीति बुझ्ने भन्ने अडानका भएपछि कुरा कहाँ मिल्नु ?। विश्व बैंक भन्छ–नेपालको अर्थतन्त्र यो वर्ष जति प्रयास गरे पनि ४ को अंकमा पुग्न सक्दैन । भ्यागुतो जति उफ्रे पनि कान्लामुनिको कान्लामुनि भन्ने उखानलाई नेपालको अर्थतन्त्रले धानेको छ । तीन पैसाको आमदानी १० पैसाको खर्च गर्ने नेपाली बानीले अर्थतन्त्रमा टेको पुग्ने देखिँदैन । कोरोनाले ढाड सेकेको छ–विदेश गएर कमाई गर्लान् पैसा पठाउलान् भन्नुसट्टा रोग बोकेर धमाधम फर्कदै छन् । पैसा होइन महामारीले प्रवेश पाएको छ । देशमा भएको वैदेशिक मुद्रा यो झिकाउने र ऊ झिकाउने भनेर सिद्धिएको छ । अनि काम गर्नै नपाएपछि केको विकास । धमाधम फर्कदा नेपालीले कुन गुन लगाउलान् र नेपाललाई ।
कुनै उपाय छैन त ?। किन नहुनु–ठूला पदाधिकारी एक ठाउँमा बसेर अब के गर्ने कसो गर्ने भन्ने गुमस्ता गरे कुनै उपाय त निस्कन्थ्यो तर आपूmले जानेको अरुलाई किन भन्ने र यी भन्दा त मै जान्दछु भन्ने नेता भएकाले इदम् भ्रष्ट उदम् नष्टको अवस्थामा छ देश । त्यसो त वैदेशिक रोजगारीले धानेको अर्थतन्त्र, आफ्नो देशमा उत्पादन बढाएर अर्थतन्त्रमा स्थायी टेको दिने दिन कहिले आउला । कसैसित सिके आपूm तल परिन्छ भन्ने अहं पिडा बोकेका नेताहरूले आफ्नै कोटारीका मान्छे बाहेक अरुलाई गन्दै गन्दैनन् र जे मन लाग्यो त्यही गर्छन् । राम्रो मान्छे छानेर काम लिनु सट्टा हाम्रा मान्छे राखेर दाम कमाउने बानी नेपालीमा राम्रै गरी लागेको छ । अर्थमन्त्री, अर्थ सचिव, गभर्नर र योजना आयोगका विज्ञहरू एक ठाउँमा बसेर देश हितका कुरा गरे हुन्थ्यो तर यहाँ त तँ ठूलो कि म ठूलो भन्ने कुरामै गाँड कोराकोर ।


भत्ता भए पुगिगो


धेरै दिनदेखि प्रतिनिधिसभाका सदस्यहरू बैठक कक्ष छिर्नु अघि हाजिर बजाउथे, भित्र पस्थे, एकथरी बहिष्कारको नारा लगाउन थाल्थे–अर्काथरी लाटोले केरा हेरे झैं चूपचाप बस्थे । केही बेरको नाराबाजी पछि सभामुखले सभा स्थगित गर्दथे । अनि सदस्यहरू आ–आफ्नो बाटो लाग्दथे । प्रतिनिधिसभाले थालेको परम्परा यतिखेर राष्ट्रिय सभामा समेत प्रवेश गरिसकेको छ । मुफ्तमा पाए तीनपाथी चूक खाने उखान झैं हाजिर गरेको भरमा भत्ता आउने भएपछि माननीयहरू दंग । चाहिएको पैसा हो–हाजिर गर्नासाथ हात परिहाल्छ–सदन चलोस् कि न चलोस् । यो औपचारिकता बिरालो बाँधेर सराद्ध गरे जस्तै भयो । देशको समस्याबारे माननीयहरूलाई केको चिन्ता–खर्च पाए भैगो । देशको खर्च धान्नै नसक्ने भैसक्यो–खान पाउनेले नखाई छाड्दैन । जो जहाँ छ, त्यहाँ आउने कुरा बुढीगाईको बाच्छोले थुन ताने सरह तानेर थाक्ने भइसके । उस्तै परे तीन पुस्तालाई पुग्ने रकम जम्मा गर्नुपर्छ–कसलाई के सघाएर हुन्छ । महँगो भाडा आउने ठाउँलाई सस्तोमा दिएर त्यसको छवाई’ खाने चलन बढ्दै गएको छ । यस्तै हो भने पैसा बाहेक अरु कुनै कुरा अगाडि आउँदैन–नयाँ नेपाल बनाउनेहरूले यस्तै गर्छन् । सदन चल्न नदिने भत्ता असुल्ने चलन निकै बढ्दै गएको छ । संसदीय व्यवस्थाको यो नै संघीयता हो कि ?
व्यवस्था संसदीय व्यवहार असंसदीय–जसरी हुन्छ संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भन्दै आएका कम्रेडहरूले कसरी संसद चल्न दिनु त ?। कम्रेड ओलीको निर्देशनमा यो पल्टको प्रतिनिधिसभाको अवधिविना बैठक सकिने भयो । संसद चल्नु र न चल्नुमा कम्रेडहरूलाई के चासो–जसरी हुन्छ भाँडभैलो मच्चाउनु नै विशेषता हो कम्युनिष्टहरूको त्यसैलाई अगाडि बढाएका हुन् कम्रेडहरूले । नाम एउटा काम अर्कैथोक । संसदीय व्यवस्था सिध्याएर तानाशाही ल्याउने अभ्यास भइराखेको छ । पार्टीमा प्रारम्भ गरेको तानाशाही विस्तारै बढ्दै गएको छ–यसलाई जति बढायो उति सफलता । कार्यकर्ता जहिले पनि आफ्नो सामु लुगलुग कामून् भन्ने चाहनासहितको व्यवहार प्रतिनिधिसभामा पनि देखाउँदै जानुपर्छ–ताकि जनतालाई संसदीय व्यवस्था नै अफाप भन्ने लागोस्–तानाशाही प्रवृत्ति जागोस् । बाहिर बाहिर निको भैजा–भित्रभित्र कुहिजा–एकथरि कम्रेडलाई जसरी भए पनि संसद सिध्याउनु छ ।


उडायो बतासले


कस्तो बेलामा बतास लागेछ । विचरा हाकिमको जागिर चट् । मन्त्रीले आदेश दिए–लिखित होइन मौखिक । मन्त्रीले भनेको न मानौ तत्कालै जागिर चट् । त्यसो गर्नुभन्दा जसोजसो पुरेतबाजे उसैउसै स्वाहा–मन्त्रीजीले कुरा मिलाएको ठाउँमा आपूmले अलिअलि गुलियो चाट्ने न हो भनेर काम फटाफट गरिदिए–मागेभन्दा बढी जग्गा दिए–बढी नदिए थप गुलियो कहाँबाट आउनु । मुखले बोल्या कसले प्रमाण मान्छ र ? लिखितम्को अगाडि नखितम् फुस्सा मन्त्रीले बोलिदिए–नारायणहिटी भित्रको छ आना जग्गा बतासलाई दिनु–त्यहाँ भएको फोहोर–पत्कर बालुवा बतासले उडाएर लगिहाल्छ । मौकामा चौका किन न हान्ने भनेर हाकिमले थप जग्गा मिलाइदिए । मन्त्रीले वखितम् गरेका थिए हाकिमले पूरै लिखितम् गरेर दिए । नेपाली प्रशासकहरू कतिसम्म चलाखी गर्छन् भने–मन्त्रीले ६ जनालाई नियुक्ति दिनु भनेको छ भने चार जना थपेर १० जना पु¥याउँछन् र नियुक्ति दिन्छन् । आफ्नो मान्छेले जागिर पाएपछि प्रशासकले कति थपे भनेर कसले हेरोस् । यस्तै भयो–भट्टराई मन्त्रीज्यूले ६ आना जग्गा दिनु भने थप ४ आना हाकिमले आफ्नो तजबीजमा दिए । अहिले घाँटीमा हाड अड्केजस्तो भट्टराई मलाई केही थाहा छैन, मैले भनेको छैन भनेर पन्छिन्छन् । ताकपरे तिवारी नत्र गोतामे चर्चामा नआएको भनेर मन्त्री पनि चूप बस्थे । बतास कडै आएछ’ धेरैलाई हल्लायो ।
कम्रेड ओलीले भन्नुप¥यो–बताससँग मेरो कुनै नाता छैन । तर बतासकी श्रीमतीले दाजुभन्दा फुरुङ्ग परेर हजूर भन्ने कम्रेड अप्ठेरोमा परेपछि मेरो कुनै नाता छैन भनेर पन्छिए, देउवाकी श्रीमती अर्थात आरजु भाउजु मेरो कुनै लेनदेन छैन भनेर सरक्क पन्छिइन् । यस्तै हो–राम्रो भएसम्म सबैको हाईहाई नराम्रो सबैतिर वाईवाई । मौका हेरेर कतै लालसलाम त कतै जय नेपाल भन्दै हिँडेका बतास त अप्ठेरोमा परे परे–मिलाइदिने हाकिमको समेत जागिर चट् । उडायो सपना हुरीले भन्ने उखान झैं हाकिमको जागिर बतासले उडायो । कत्रो न कमाइ गरौंला ठूलै भवन बनाउँला भनेझैं लागेको सोम शर्माको कथामा बदलियो । हुरीले त बढाथ्र्यो बढाथ्र्यो यहाँ त बतासले नै बडारिदियो । यस्तै हो चोक्टा खान गएकी सम्धी झोलमा डुबेजस्तै भयो–नारायणहिटी घटना ।


अन्त्यमा–
सस्तोमा भाडामा लगाएर कहाँकहाँबाट कमाइ गर्न सकिन्छ भनी पावरमा भएकाहरू मरिहत्ते गरेर लागेका छन् ।