यस्तो पो मित्रता ः अधिकारी र घिमिरे दुवै पक्षले खोजी नगर्ने…

यताउताका कुरा

मितले गोरु दिए मैले पाखी दिएँ–लेनदेन जहाँ पनि हुन्छ । एम अधिकारी गठबन्धनले एमालेलाई दियो, एमालेले रघुनाथ घिमिरे दियो । अब यी दुईको खोजी कतैबाट पनि हुँदैन । ११ सदस्यीय संसद विशेष समितिको प्रतिवेदनमा एमालेले दश औंलाको ल्याप्चे लगाइदियो । कार्यकर्ताले केही भनिहाल्लान् कि भनेर ९ पेजको फरक दस्तावेज पनि बनाए । त्यसो त कम्रेड ओलीले प्रतिवेदन स्वीकार्न सकिँदैन भने–घाम अस्ताए पछि विस्कुन सुकाए । काग कराउँदै गर्छ पिना सुक्दै जान्छ । कम्रेड ओली कराउँदै गर्छन्–जनार्दन शर्माले सपथ ग्रहण गरिसक्छन् । कुरो तँ रोएजस्तो गर म पिटेजस्तो गर्छु भन्ने उखान सरकार र एमालेले चरितार्थ गरेका छन् । बैठक बसेसम्म रघुनाथको मोबाइल टेष्ट गरौं भनेर चूँसम्म नगर्ने एमालेका नेता पछि खोजतलास पुगेन भनेर देखावटी घुर्की लगाउन पुगे । संसारबाट कस्ता कस्ता गोप्य कुरा पत्ता लाग्ने मन्त्रहरूको आविष्कार भैसकेको बेला दुईजना पत्ता लगाउन नसक्ने केही दिएन । कुरा थियो–तेरा मान्छे हामी खोज्दैनौ हाम्रो मान्छे तिमीहरूले नखोज्नु । यतिखेर एम अधिकारी र रघुनाथ घिमिरे कतै गए पनि फेला पर्दैनन् । यसलाई घ्यू बेचुवा र तरबार बेचुवा भनौं भने थाहा नपाएर होइन, थाहा पाउँदा पाउँदै दुई प्राणीको साटफेर गरिन्छ । अब कसले पत्ता लगाउने घिमिरे र अधिकारी ।
एमालेलाई एम अधिकारी घाँटीमा अड्किएको हड्डी जस्तो भएको थियो, के खोज्छस् काना आँखो भनेझैं अर्थमन्त्री विरुद्ध विशेष समिति बन्यो । अनि रातारात कोही बालकोट पुगे त कोही खुमलटार । कसै कसैले बालुवाटारको पनि चक्कर लगाए अनि गुदी कुरामा तैं चूप मैं चूप । तेरो मान्छेको अर्घेली म खोज्दिन, मेरो मान्छेको खेदो खन्ने काम तँ नगर । कुरा चित्त बुझ्दो भयो–देखावटी ङारङार ङुरङुर भयो–तेल पडनी एकै पिना बाहिर– सरकार प्रतिपक्ष सिमेन्ट ढलान गरेझैं आफ्नो हितका कुरामा अडान राख्न थाले । बबुरो जनता एकातिर अब एम अधिकारी फस्ने भए भन्ने, अर्कोतिर घिमिरे परे जालमा भन्ने । तर खोदा पहाड तो निकला चूहा भयो–प्रतिवेदन नै कर्कलाको पानीजस्तो, अलिकति हल्लाउनासाथ पानी जति जमिनमा । यस्तै हो एम अधिकारी माथिको आरोप–अब पदावधि रहेसम्म गभर्नर ढुक्क, प्रमाण नपुगेकोमा कारबाही गर्न मिलेन, त्यसो हुँदा अर्थमन्त्री फुरुङ्ग । अबका दिन मिलेर जाने हो भनेर मन्त्री र गभर्नर मिल्ने–कालेकाले मिलेर खाउँ भाले ।


सक्नेलाई दिनु काम

अर्थसचिवलाई भगुवा सचिव भने कसो होला । बजेट बनाएपछि मन्त्रीलाई आरोप लाग्न नपाउँदै उहाँ लामै विदा लिएर भाग्नु भयो, अनि मन्त्रीले राजीनामा दिन पाउँदै दौडेर मन्त्रालय पुग्नु भयो । मधुकुमार मरासिनी अहिले भगुवा सचिवको रूपमा परिचित बन्नु भएको छ । जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने सुइँको पाएपछि उहाँ सुइँकुच्चा ठोक्नु भयो । कहाँ हुनुहुन्छ थाहा छैन । नेपालमा जिम्मेदार पदाधिकारीदेखि सामान्य मानिससमेत एकातिर हराउने, अर्कोतिर खोजेर नपाइने नयाँ रोग शुरु भएको छ । कुरा के भने सचिवहरू जसोजसो पुरेत बाजे उसैउसै स्वाहा भनेर मन्त्रीले जे अराए पनि हस् हजूर भन्ने–अराको काम गर्न हुन्छ हुँदैन नहेर्ने, अनि अलिकति अप्ठेरो पर्नासाथ पलायन भैदिने । अर्थसचिव अब अर्थमन्त्रीको छायाँ पर्न नहुनेमा परे । बाजको छायाँ परेको परेवाजस्तै भए । के भाग्नैपर्ने थियो त ?।
भन्छन्–सक्नेलाई दिनु काम । पहिले फलानालाई सचिव बनायो भने त आपूmले जसोजसो भन्यो, त्यसै त्यसै मान्छ भनेर खोजीखोजी आफ्नो मन्त्रालयमा भित्र्याउने अनि हुने नहुने काम अराउने । मन्त्री त केही महिना बस्छन्, जान्छन् तर आफ्नो क्यारियर चौपट किन पार्ने भनेर अटेरी गर्छन् । माथिल्लो पदमा बस्नेलाई भ्रम हुन्छ–मैले भने अराएको सबै मान्नु पर्छ । अनि भाग्ने बाहेक उपाय नै के हुन सक्छ र ?। मरासिनी भागे अर्थमन्त्रालयबाट, अब अर्थ मन्त्रालयमा पुगेर पनि काम गर्न सक्लान् ।


ओली मैनाली मिलन

काँक्रोलाई थाँक्रो चाहिएको थियो–थाँक्रोलाई कसैले आपूmलाई सगाइदिए हुन्थ्यो भन्ने लागेको थियो । अहिले ओली र मैनालीको सम्बन्ध काँक्रो र थाँक्रो जस्तो बढ्न लागेको छ । थोपा उभाएर घैलो भर्नुपर्ने अवस्थामा कम्रेड ओलीलाई सीपी मैनाली मात्र जोड्न पाए पनि राम्रै कमाइ गरेको अनुभव गर्नु परेको छ । नेकपा मालेका सर्वमान्य नेता भएर बसेका मैनाली हैसियत खोज्ने अवस्थामा नभएकाले एमाले बन्न पाए हैसियत मिल्थ्यो कि भनेर बालकोट धाउन थालेका छन् । त्यसो त मैनालीको त्यो पुरानो चमकदमक यतिखेर मणि हराएको सर्पको जस्तो भएको छ । कुनै बेला पूरै पार्टी हाँकेर बसेका मैनालीसँग संगठन गर्ने क्षमताको सबैले तारिफ नै गर्थे । उनको अधिकारी पेस्तोल देखाएर खोस्नु परेको थियो । कम्युनिष्ट आन्दोलनमा झलनाथ खनाल र सीपी मैनाली खाँटी संगठनकर्ताका रूपमा चिनिएका व्यक्तित्व हुन्, तर समयको भेलले कसलाई कहाँ पु¥याउँछ भन्न सकिँदैन । मैनालीलाई ठूलो पार्टीमा टाँसिन पाए फेरि पनि ठूलो मान्छे भन्ने अवसर आउँछ कि भन्ने लोभले थाँक्रो खोज्दै एमालेतिर लम्केका हुन् ।
एमालेमा संगठन गर्नेभन्दा गणेश पोलिटिक्स गरेर लाभ लिनेको लाम बढ्दै गएको छ । धेरैलाई लागेको छ, बेकारको दुःख बेसार पाखापखेरा पुग्नुभन्दा कम्रेड ओलीको वरिपरि घुम्यो, स्तुतिगान ग¥यो–गणेशले महादेवको वरिपरि घुमेर वरदान पाए सरह पार्टीको पद र पार्टी सरकारमा पुगे राम्रै पद पाउने लोभमा धेरै कार्यकर्ता लागेपछि संगठनको भाँडो चुहिदै गएको बुझेर हो कि कसो कम्रेड ओली पुराना भाँडा स्याहारसम्भार गर्नेतिर लागेका छन् । तर हेर्न बाँकी छ– सीपी मैनालीको पार्टीमा हुने पदीय हैसियतमा कत्तिको कुरा मिल्छ–होइन भने हल्ला हुने काम नहुने अवस्था आउँछ ।


सभागृह र टावर

सबभन्दा सजिलो निर्माण भनेकै टावर र सभागृह रहेछ । जगमा भएको खर्च खानेर हेर्न नमिल्ने, जसो पुरेत बाजे उसै उसै स्वाहा । ठेकदारसँगको आत्मीयतामा प्राविधिक शाखाले सदर गरेपछि नाइनास्ती गर्ने ठाउँ नै नरहने । कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेझैं गौरवको नाम टाँसिएका आयोजना असरल्ल तर सभागृह र टावर दनादन बन्दै जाने । त्यसो त महकाट्नेले हात चाट्छ भन्छन् यहाँ त मह काट्नु कताकता हात चाट्ने हतार । अर्बौंको रकम सभागृह र टावर बनाउनमै खर्च । त्यसमा थप शालिक र स्वागतद्वार । जस्तो उत्पादकत्व चिरो छ, त्यस्तोमा लगानी गर्न स्थानीय तहदेखि प्रदेशसम्म हौसिने । नेपालको पहाडी क्षेत्रमा भ्यूटावर किन, हाम्रा पहाडका थुम्काहरू नै भ्यूटावरभन्दा अग्ला छन् । अनि त्यहाँ बनेका भ्यूटावरले हेर्ने कहाँ ?। ओली सरकारको लहडमा बजेटको दुरुपयोग ।
यस वर्षको बजेटमा भ्यूटावरले ठाउँ पाएन तर सभागृहको लहर चल्यो । कमाउ बाटो कतै न कतै चाहियो नि । सभा भनेको वर्षको एकपल्ट हुने नगर सभा र गाउँसभा मात्र हो । अरु दिन धुलो बटुलेर बस्ने हुन् सभागृहहरू । अन्त किन जानुप¥यो–गोदावरीमा बनेको सभागृह एकपल्ट एमालेले कसो विधान बैठक भनेर बोलाएपछि फेरि बन्द । मुसालाई खेल्न, धमिरा हुर्कन र धुलो थुप्रनमा काम लागेको छ । बिना कामका यी धामहरूमा कसले ध्यान गर्ने, कसले पूजा गर्ने । कसैले हात चाट्नु थियो चाहे । अब शून्य ।


अन्त्यमा–
कम्रेड प्रचण्डलाई ४ ठाउँबाट उम्मेदवारको अफर आयो । कतै भविष्यमा डडेलधुरा र रौतहटबाट पनि निम्ता आउँछ कि ?