कसिमा मतदाताहरु ?

सम्पादकीय

आफू अनुकूल संविधान बनाएर, त्यही संविधानको आधारमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई नै निरन्तरता दिने कि नयाँ सोच नयाँ अवधारणा बोकेर आएका व्यक्तिलाई चुनेर आमूल परिवर्तनको बाटोमा मुलुक लैजाने हो भने निर्णायक कसिमा अहिले करोडौं मतदाताहरु देखिन्छन् । केही ठेकेदार बाहेक अधिकांश मतदाताहरुको सोच पार्टी प्रतिनिधि नभएर जनताका प्रतिनिधिहरुलाई विजय गराउनु पर्दछ भन्ने आवाज उठ्न थालेको छ, त्यसैले पनि आमूल परिवर्तन गर्ने सोच भएका र स्वतन्त्र उम्मेदवारहरुको सम्भावना बढ्दो अवस्थामा देखिन थालेको छ ।
आगामी वैशाख ३० गते स्थानीय स्तरको निर्वाचनमा देशका सबै प्रमुख पार्टीहरु र केही स्वतन्त्र उम्मेदवार पनि देखिन्छन् । यही बेला सानै पार्टी भए पनि राप्रपा पनि अति उत्तेजित र क्रान्तिकारी विचारहरुबीच नेपाली मतदाताहरुको अघि देखिन्छ । पार्टीको लेवि र पेन्सन होल्डरहरु बाहेक अन्य आम नेपालीहरु भने केही त स्वतन्त्र उम्मेदवारको साथ देखिन्छ केही त आमूल परिवर्तनको कुरा गर्ने राप्रपाको पक्षमा उभिएका देखिन्छन्, चुनाव सम्पन्न भएर पूरै परिणाम नआएसम्म कुनै कुरा यही नै हो भनेर भन्न नसकिए पनि अनुमानका आधारमा भन्ने हो भने संविधानको आधार बनाएर ब्रह्मलूट मच्चाउने पार्टीका दिन क्रमशः सिद्धिन थालेको जस्तो देखिन्छ । माओवादी, एमाले, कांग्रेसको अपवित्र गठबन्धन गरी आफ्नो स्वार्थ पूरा गर्न नश्लवादी संविधान ल्यायो भनी संविधानको पानापाना च्यातेर तराईमा आन्दोलन गरी कयौंको ज्यान गयो भने कयौं राष्ट्रिय सम्पत्तिलाई ध्वस्त पारियो, त्यत्तिले मात्रै नपुगेर नाकाबन्दी पनि लगाउन तराईका नेताहरु पछि परेनन्, अहिले यथास्थितिको संविधानमा सत्ताको प्रमुख घटक जसपा कांग्रेस र माओवादीसँग कुममा कुम मिलाएर भोट माग्ने काम गरिरहेछ, त्यस्तै तराईमा राम्रै प्रभाव भएका लोसपा एमालेलाई साथमा लिएर चुनावको तालमेल गर्दैछन्, यसरी हेर्दा दिल्लीले तयार पारिदिएको बाह्रबुँदेको आधारमा खडा भएको संविधानले राष्ट्रको हितभन्दा निजी स्वार्थमा मात्र केन्द्रित देखिन्छ ।
नेपाली कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गणेशमानले गिरिजाजस्तो भ्रष्ट बेइमानहरुको हातमा पार्टीको सर्वेसर्वा नै भइदिएपछि जसरी पार्टीबाट अलग भएका थिए, त्यसरी नै एमालेमा पनि मनमोहन अधिकारी, मदन भण्डारी जस्तालाई पाखा लगाएर माधव नेपाल र ओलीले पार्टी कब्जा गरेपछि नेपालीहरुको त्यस्तो संस्कार बोकेका नेताहरुप्रति घृणा विस्तारै बढ्न थालेको हो, अझ २०७२ सालको संविधानले त मुलुकलाई अत्यन्त कठिन मोडतिर पु¥याएको छ र आगामी स्थानीय निर्वाचनमै नेपाली जनताले विकल्पको बाटो रोजेनन् भने सार्वभौम यो मुलुक कुन देशको उपनिवेश बन्नुपर्ने हो भन्न नसकिने अवस्थामा पुगेको छ त्यसैले यसपटक आम नेपालीले कि त असल स्वतन्त्र व्यक्तिलाई भोट खसाल्नु प¥यो कि त २०७२ सालको संविधान च्यातेर नयाँ संविधान निर्माण गर्छु भन्ने दललाई भोट खसाल्नु प¥यो । पशुपतिनाथले सबैलाई समयमै सद्बुद्धि दिउन् भन्ने हाम्रो कामना छ ।